काठमाडौं, कात्तिक १५ गते । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति डा. आरजु राणाले उखु किसानलाई समयमै भुक्तानी दिन निर्देशन दिनुभएको छ ।
मङ्गलबार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा बोल्दै सभापति राणाले जुनसुकै कृषकको भुक्तानी समयमै दिनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “पेमेन्टको विषयमा धेरै मानिसले भन्नुभयो । धेरै मानिसलाई सुझाव नै लेखेर कृषकहरूको पेमेन्ट चाहिँ फस्र्टमै गर्नुपर्छ ।” उहाँले सरकारले कृषि अनुसन्धानमा प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “कृषि मन्त्रालयले माछा उत्पादनको विकासलाई विशेष ध्यान दिनुपर्छ । उखु उत्पादनलाई पनि सरकारले विशेष ध्यान दिनुपर्ने हुन्छ । एउटा लडाई हुँदा ठुलो समस्या भयो अर्को लडाई होला जस्तो छ त्यसपछि हामीले के खाने भन्ने हुन्छ । हाम्रो १० लाख हेक्टर जमिनमा अहिलेसम्म खेती नै छैन । त्यो बाँझो जमिनलाई हामीले कसरी प्रयोग गर्ने भन्ने मापदण्ड तयार बनाउनुपर्छ । सरकारले किसानहरूको भुक्तानी सबैभन्दा पहिला गर्नुपर्छ । दुध वा अन्य किसानहरूलाई प्रमुख प्राथमिकतामा राखेर भुक्तानी गर्न ध्यानाकर्षण गराउँछौँ ।”
उहाँले कृषिमा नयाँ–नयाँ प्रविधि र ल्याबहरूको समेत व्यवस्था गरी कृषिलाई आधुनिकीकरण गर्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सरकारले कृषि अनुसन्धानको लागि छुट्टै बजेटको व्यवस्था गर्नुपर्छ । यसमा कृषि ल्याब, नयाँ प्रविधि ल्याउने र बोर्डरको लागि ड्रोन प्रयोग गर्नु मिल्छ भने दुवै देशसँग समन्वय गरेर ड्रोन उडान आवश्यक छ ।”