• ११ असोज २०८१, शुक्रबार

पाँच करोडको सुविधायुक्त अतिथि गृह

blog

त्रि–धार्मिकस्थल हलेसीमा निर्माण गरिएको सुविधायुक्त अतिथिगृह । तस्विर :राजकुमार भट्टराई

राजकुमार भट्टराई

खोटाङ, कात्तिक १५ गते । खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा सुविधायुक्त अतिथिगृह (धर्मशाला) निर्माण गरिएको छ । किराँत, हिन्दु र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र हलेसीमा तीर्थालुका लागि करीब पाँच करोडको लगानीमा सुविधायुक्त अतिथिगृह निर्माण गरिएको हो ।

त्रि–धार्मिकस्थल हलेसीमा आउने तीर्थालुको सहजताका लागि हलेसी तुवाचुङ नगरपालिका र नेपाल आयल निगमको संयुक्त लगानीमा भवन निर्माण गरेका हुन् । आर्थिक वर्ष २०७६–७७ बाट भवन निर्माण गर्न सुरु गरिएको थियो । सुरुमा सबै लगानी आयल निगमको हुने भनिएको थियो । 

तर आयल निगमबाट २ करोड मात्र भुक्तानी भएपछि नगरपालिकाले आर्थिक वर्ष २०७९–८० मा २ करोड ९६ लाख बजेट विनियोजन गरेर भवन निर्माण सम्पन्न गरेको नगरपालिकाका मेयर विमला राईले बताउनुभयो । कुल लागत ४ करोड ९६ लाख (भ्याटसहित) अनिल लक्ष्मी जेभी निर्माण कम्पनीले अतिथिगृह निर्माण गरेर जिम्मा लगाइसकेको छ । 

हलेसी मन्दिर (गुफा) भन्दा केही माथि रहेको गुराँसेस्थित सार्वजनिक जग्गामा निर्माण गरिएको सुविधायुक्त अतिथिगृह आरसीसी तीन तलाको रहेको छ । भवनको तल्लो तलामा हल र किचन छ । 

माथिल्लो दुई तलामा तीर्थालुका लागि कोठाहरु निर्माण गरिएको छ । जसमा एटेच कोठा ६ वटा छन् भने कमन कोठा २३ वटा छन् । भवन भरी १८ वटा बाथरुम निर्माण गरिएको छ । १ सय ३८ फिट लम्बाइ र ३६ फिट चौडाइ रहेका भवनमा दुईतर्फबाट सिँढी बनाइएको छ । 

अतिथिगृहको अब कम्पाउण्ड निर्माण, सपोर्ट रेलिङ र कोठामा बेडहरु राख्ने काम बाँकी छ । बाँकी रहेको काम अर्को टेण्डरमार्फत चाँडै सकेर सञ्चालनमा ल्याउने मेयर राईले बताउनुभयो । 

‘केही बाँकी रहेका कामहरु चाँडै सकेर हामी सञ्चालनमा ल्याउँछौँ । निजी साझेदारी ऐनहरु हामीले पास गरेका छौँ, सोही अनुसार कार्यविधि तयार गरेर हामी अतिथिगृह सञ्चालनमा ल्याउँछौँ’ मेयर राईले भन्नुभयो, ‘हेर्दा अहिले ठूलो लगानी देखिन्छ, तर भोलि दिगो आम्दानीको रुपमा रहनेछ ।’ 

नगरपालिकाको दिगो आम्दानीसँगै महँगो होटलमा बस्नु पर्ने तीर्थालुको सहजताका लागि अतिथिगृह निर्माण गरिएको मेयर राईले बताउनुभयो । त्रिधार्मिक स्थल हलेसीमा नेपालका विभिन्न जिल्लासँगै भारत, बङ्गलादेश, भुटान लगायतका देशबाट पनि भक्तजन आउने गरेका छन् । 

धार्मिक तथा सांस्कृतिक रुपले प्रसिद्ध मानिने हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास छ । हलेसीमा महादेव गुफा, पापद्वार, धर्मद्वार, भैरव गुफा, बसाहा गुफालगायतको अवलोकन गर्न र पूजाआजा गर्न तीर्थालु आउने गरेका छन् । 

हलेसीमा हिन्दु, बौद्ध र किरात धर्म मान्नेहरु आ–आफ्नै तरीकाले पूजापाठ गर्ने गर्छन् । हिन्दुधर्ममा आस्था राख्नेहरुले यसलाई पशुपतिनाथको रुपमा, बौद्ध धर्मावलम्बीले दोस्रो लुम्बिनीको रुपमा र किरात धर्मावलम्बीहरुले आदिम भूमिको रुपमा पूजाआजा गर्ने गरेका छन् । हिन्दु, बौद्ध र किरात तीनै धर्महरुको आ–आफ्नै छुट्टै इतिहास रहेको जानकारहरु बताउँछन् ।

हलेसीमा रामनवमी, शिवरात्रि, बालाचतुर्दशी, तीज, साउनको सोमबारलगायत पर्वमा ठूलो मेला लाग्ने गरेको छ । अन्य समयमा पनि प्राःय दैनिक रुपमा दर्शनार्थी हलेसी मन्दिरको दर्शन गर्न तथा अवलोकन गर्न आउने गरेका छन् ।