सदा झैँ आज पनि मिठुको आक्रोश विस्तारित पारिवारिक घरको पर्खालभन्दा बाहिर प्रतिध्वनित भइरहेको छ । घरमा यस्तो घटना दिनहुँजसो हुन थालेको छ । एउटै कोठामा सुत्ने उनका भाइहरू (काकाका छोराहरू) सधैँ झैँ तमासा हेर्दै छन् र बेलाबेलामा मिठुलाई उडाउने गरी एकअर्कामा मुखामुख गर्छन् । मिठुकी आमा भाइहरूसँग तुलना गर्दै उल्टै दुव्र्यवहार गरेको भन्दै गाली गर्छिन् । शब्दहीन अवस्थामा पुगेकी मिठु सानो स्वरले पढाइप्रति आफ्नो अभिरुचि नभएको स्पष्टिकरण दिन्छिन् ।
विद्यालय जाँदा, बाटोमा र विद्यालय परिसरमा आफ्नो शारीरिक बनोटलाई लिएर हुने गरेको टीकाटिप्पणीका कारण विद्यालय जान नचाहेको कुरा आमालाई सुनाउँदा पनि आमाले कुरा नबुझी उल्टै मिठुलाई उनको नाटक रोक्न र लगनशीलताका साथ पढन अहाउँछिन । शरीर मोटाउनुको कारण खाना मात्रामा खान नजानेकोले हो भन्ने आमाको वाक्यले पीडामाथि पीडा थपिएको आभास हुन्छ उनलाई ।
आफ्नै आमाले नै मोटोपना जस्तो संवेदनशील विषयमा ध्यान नदिँदा मिठुका नातेदार मात्र नभएर उनका छिमेकीहरू पनि उनलाई प्याच्च प्याच्च भन्ने मौका छाड्दैनन् । साहसी मिठु जवाफ फर्काउन त खोज्छिन् तर कति जनाको मुख टाल्ने । फेरि उल्टै उनले चोथाले भन्ने शब्द पनि सुन्नु पर्छ ।
घरमा कोलाहल सुनेपछि मिठुका काकीहरू मिठुको कोठामा जम्मा हुन्छन् । घरको सबै कलहको स्रोत मिठु नै हो जस्तो गरी उनीप्रति लक्षित गरी आफ्ना छोराहरूलाई च्यापेर कोठाबाट बाहिर निस्कन्छन् । यसरी सबैको अगाडि अपहेलित महसुस भएकाले मिठुको भक्कानो फुट्छ । उनी रुन्छिन् तर उनको आँसुको कुनै मूल्य हुँदैन । सँुक्क सुँक्क गर्दागर्दै उनी निदाउँछिन् । आफूलाई लागेको कुरा प्रकट गर्दा सधैँ अप्ठेरो स्थिति आउने हुँदा मिठुलाई बेलाबेलामा आफू नै खराब हो कि जस्तो पनि लाग्छ । त्यस चव्रmव्यूहबाट उम्कन नसकेकोमा रुनुको विकल्प रहेन उनका लागि ।
उनकी आमा हुर्केको सामाजिक संरचना नै त्यस्तो जहाँ केटाकेटीलाई गाली गरेर, अरूसँग तुलना गरेर र दोष लगाएर सही बाटोमा आउँछन् भन्ने बुझाइ थियो । उनलाई के थाहा छोरीलाई मानसिक रूपमा निकै असर गरिरहेको छ । कुन आमा होला र आफ्नै छोरीको भलो नसोच्ने ? नसोचेको परिणाम आएपछि यसलाई कसरी सुधार्ने मेसो उनले पाएकी छैनन् । उही कुराको पुनरावृत्ति । यसैको पिरलोले उनकै जीवन कठिन बनाएको छ र छोरीबाट पनि उनलाई टाढा भएजस्तै अनुभूति हुन थालेको छ ।
आफ्नो सबैभन्दा नजिकको मान्छे आमाले कुरा बुझेर ढाडस दिन्छिन् कि भन्ने मिठुको आशा मरेको छैन । हरेक पटक त्यो आशा निराशामा परिवर्तन हुन थालेपछि एक्लो अनुभव गर्दै निराश मिठु चकलेट, मिठाई, चाउचाउ जस्तो प्याकेटको बजारी खाना खानका लागि पैसा चोर्न पनि थालेकी छिन् । यस्तै खानेकुराले केही क्षणका लागि भए पनि तनाव कम गर्छ भन्ने उनको विश्वास । आमाले मात्र कुरा बुझ्न खोजेको भए पनि त्यो मोटोपना र मानसिक तनावको दुश्चव्रmमा त पर्ने थिइनँ मिठु आफैँलाई प्रश्न गर्छिन् ।
आफ्ना भाइहरूलाई विद्यालयमा लैजाने जिम्मेवारी जेठी छोरी भएकीले पनि होला उसैको काँधमा आइपरेको छ । बाटोमा उनीहरूको सुरक्षामा ध्यान दिनु कि बरालिएका केटाहरूको गिद्धेदृष्टिबाट जोगिन पनि हम्मे नै पर्छ उनलाई । उनको शारीरिक बनोटलाई लिएर कक्षामा पनि छात्रहरू विभिन्न अपमानजनक उपमा प्रयोग गरी उनको खिसी गर्छन् ।
पत्तै नपाई समयसँगै बढ्दै गइरहेको उमेरले ल्याउने खुलदुली र रमाइलोपनभन्दा उनलाई मानसिक रूपले बिथोल्दै लगिरहेको कुरा न आमाले बुझ्न सक्नुभयो न त अरू कसैले । यसैले पनि होला पढाइमा पनि त्यति ध्यान जाँदैन उनको, गृहकार्य नगर्दा शिक्षक शिक्षिकाले दिनहुँजसो दिने सजायले यति थेत्तरो बनाइसकेको छ कि उनलाई यी सबै कुराको खासै वास्ता पनि हुँदैन । आफ्ना उमेर मिल्ने विद्यालयमा कमसेकम आफ्ना चार जना साह्रै मिल्ने साथीहरूले मिठुका कुरा सुन्छन् र बुझ्छन् । साथीहरूबाट उनले पूर्ण समर्थन पनि पाउँछिन् । शिक्षकहरूको कुटपिट देख्न नसकेर त्यसबाट जोगाउन उनका साथीहरू उनलाई शैक्षिक रूपमा सधैँ सहयोग गरिरहेका पनि हुन्छन् ।
अनेक बहाना बनाएर साथीहरूसँग समय बिताउन जति रमाइलो गर्न र घरको तनावपूर्ण वातावरणबाट बाहिर निस्कन पाए जतिको खुसी उनका लागि अरू के होला र । त्यसैले कहिले कुन साथीकहाँ त कहिले कहाँ हुन्छिन् । साथीहरूले उनलाई चिज गर्ने हुनाले साथीहरूका बुवाआमाले राम्रै दृष्टिकोेणले हेर्ने गर्छन् । यस्तो सकारात्मक वातावरणमा मिठु अर्कै मान्छे जस्तो देखिन्छिन् । लाग्छ कि उनको वास्तविक पहिचान आफ्ना साथीहरूसँग हुँदा मात्रै देखिन्छ । यसले उनलाई मानसिक पीडा मेटाउन कुलतमा लाग्न पनि रोकेको छ ।
कक्षा ९ मा पुग्दा पनि मिठुको लगाव चलचित्र र सङ्गीतमै छ जुन उनको एकान्त जीवनको अभिन्न अङ्ग बनेका छन् । आम मानिसलाई ध्यानमा राखी बनाइएको शिक्षा प्रणाली मिठु अनुकूल नभएको हुनाले उनले सङ्घर्ष गरिरहनुपरेको हो । शिक्षा प्रणालीमा व्यक्तिगत शिक्षा अर्थात् व्यक्तिको रुचि, बुझ्ने क्षमता र बुझ्ने तरिकाहरूलाई कम आँक्ने गरिन्छ । पढ्न नसकेकै आधारमा मिठु विफल भइन् । उनको अरू क्षमता र चरित्रको पढाइकै आधारमा अवमूल्यन भयो । उनको रुचिको कदर गरिएन ।
उनलाई उचित लाग्ने किसिमको शिक्षा प्रणाली भएन । उनी सोच्न पुग्छिन् आफ्नै रुचिको सङ्गीत क्षेत्रमै लाग्न दिएको भए वा अडियो पाठ्यपुस्तक उपलब्ध गराएको भए म पनि अब्बल विद्यार्थी बन्थे होला ।
तर उनको क्षमताको सही मूल्याङ्कन हुन सकेन र पढाइका आधारमा उनको चरित्रमा दाग लगाइयो । यही पढाइकै आधारमा उनले घरपरिवारको विश्वास पनि गुमाइन् । पढेपछि मात्र उन्नति हुने समाज मिठुका लागि थिएन र उनले सङ्घर्ष गर्नुप-यो ।
घरमा आफ्नै आमालगायत सबैको मिठुप्रति नकारात्मक सोचका कारण भाइहरू उनीबाट टाढै बस्न रुचाउँछन् । घरकै वातावरणले एकअर्काप्रति वैमनस्यता मात्र ल्याएको छैन् भविष्यमा यसले उनीहरूको सम्बन्धमा असर गर्छ भनेर कसले सोच्ने ।
आफ्ना साथीहरूको सहयोगले मिठुले कक्षा ९ मा चुनौतीको सामना गरिरहेको हुन्छिन् । मानसिक रूपले कमजोर बनिसकेकी उनको पढाइमा आमाको चिन्ता स्वभाविकै हो । साथीभाइसँग, सङ्गीतमा रमेर बितेको समय ट्युसन पनि पढ्नुपर्ने कुराले निराश बनेकी उनकै आग्रहमा र शनिबार र आइतबार मात्र ट्युसन कक्षाहरू लिन राजी हुन्छिन् । यसले उनलाई केही राहत दिन्छ ।
ट्युसन कक्षाले उनको व्यवहारमा ठुलो परिवर्तन आएको छ । उनी शान्त तर चिन्तित देखिन्छिन् । घरमा आफ्नो कुरा सुन्ने कोही नभएकाले उनी आफ्नो भावना व्यक्त गर्न हिचकिचाइरहेकी छिन् । उनले आफ्ना मिल्ने साथीहरूलाई पनि भित्री कुरा बताउन सकेकी छैनन् । आफूप्रति नकारात्मक सोच भएको हुनाले उल्टै गाली खाइने डरले आफ्नै आमालाई भन्न पनि उनी आँट गर्दिनन् ।
घरमा सुत्ने कोठाको कमीले गर्दा मिठु एउटा भाइसँग सुत्छिन् । दुई जना अरू भाइहरू त्यही कोठामा अर्को खाटमा सँगै सुत्छन् । अनायासै रातको समयमा मिठु आफ्नो भाइलाई अनुपयुक्त रूपमा छुन थाल्छिन् । भाइले अप्ठ्यारो महसुस गर्दै दिदीसँग नसुत्ने कुरा आफ्नो आमालाई भन्छ । दुर्भाग्यवश, यस घटनाले मिठुको मानसिक अवस्थालाई अझ कमजोर बनाउँछ र ट्युसन कक्षाको बाबजुद उनी आफ्नो दोस्रो त्रैमासिक परीक्षामा फेरि असफल हुन्छिन् । यसले मिठुको आमालाई अझ चिन्तित बनाउँछ । मिठु फेरि फेल भई भनेर सबैले जिस्क्याउँछन् ।
एक दिन हिम्मत जुटाएर मिठुले ट्युसन शिक्षकले अनुपयुक्त रूपमा छुने गरेकाले ट्युसन कक्षामा उपस्थित हुन नचाहेको कुरा व्यक्त गर्छिन् । आफ्नी आमालाई कुरा खोल्छु भन्दा शिक्षकको हातबाट भोगेको कुटपिटको घाउ पनि देखाउँछिन् । तर छोरीको अवस्था बुझ्नुको सट्टा आमाले मिठुलाई पढाइमा ध्यान नदिएको र बहाना गरेको आरोप लगाउँदै उल्टै गाली गर्छिन् । मिठुको बिन्तीको बाबजुद, उनकी आमा कठोर भई उनको कुनै पनि कुरा सुन्न अस्वीकार गर्छिन् ।
बिचरा आमा मिठुको भलो नै चाहन्छिन् र छोरीका लागि आफ्नो बुताले भ्याएको सबै कुरा गरिरहेकी पनि छिन् । तर समाजको लहै लहै र हस्तक्षेपको कारण छोरीलाई बुझ्ने क्षमता उनमा हुँदैन र रिसको आवेगमा छोरीको सुरक्षामा नै सम्झौता गर्न पुग्छिन् जब कि आमाबाबुका लागि आफ्ना बच्चाबच्चीको सुरक्षा पहिलो प्राथमिकता हो । फेरि मानसिक रोग शारीरिक रोग जस्तो बुझ्न पनि सकिँदैन र त्यसलाई नाटक गरेको भनी गलत अर्थ पनि लगाउन सकिन्छ ।
बारम्बार शिक्षकको यौन दुव्र्यवहारको सामना गर्नुपर्दा पनि आफ्नो शिक्षकसँग ट्युसन कक्षामा मिठु उपस्थित भइरहन्छिन् । मिठुले आमालाई भन्ने साहस गरेकाले नै शिक्षकको कर्तुत बन्द हुन्छ् । एसएलसी परीक्षामा राम्रै अङ्क ल्याएर छोरी पास भएको र उनको सफलताले मिठुकी आमालाई पनि सन्तोष दिएको छ । बल्ल उनलाई छोरीको क्षमताको गलत विश्लेषण भए जस्तो लाग्न थालेको छ । छोरीमाथिको केरकार पनि निकै कम भएको छ ।
जीवन एकनाश कहाँ रहन्छ र ? आफ्नो जीवनले सफलताको सिँढी उक्लँदै गएको अनुभूति हुन्छ उनलाई । तर... विगतका मानसिक चोटका दागहरू सुषुप्त भए पनि बेलाबेलामा विस्फोट हुने गर्छन् । भाग्यवश उनका साथीहरू सधैँ एकअर्काका लागि साथ छन् । साथीहरूबिचको यस्तो समर्थन र सम्बन्धले मिठुको मानसिकतामा सुधार पनि आएको छ । तर गहिरो चोट भएकाले जीवनको कुनै पनि पलहरूमा मिठुमा मानसिक समस्या पुनः देखा पर्न सक्छ ।
मिठुका जस्ता साथीको साथ र समर्थन सबैको सधैँ नहुन सक्ने स्थितिमा मिठु जस्तो अवस्थाबाट गुज्रेका धेरै चेलीहरूलाई मानसिक परामर्श आवश्यक देखिन्छ । मानसिक रोगप्रति समाजको नकारात्मक सोच पनि बदलिन सकेको भए बुवाआमाहरूले आफ्ना बच्चाबच्चीको साथी बनेर खुलस्त भएको भए सायदै मिठुले जीवनमा पीडा भोग्नुपथ्र्यो । परिवारले गर्ने व्यवहारमा आएको परिवर्तन र आफ्नै प्रगतिको खुड्किलो चढ्दै गर्दा मिठु अचेल खुसी बन्न सकेकी छ ।