दोलखा समाचारदाता
दोलखा, कात्तिक १५ गते । दोलखाको बिगु गाउँपालिका–१ का उत्तरी दुर्गम लप्चीवासीले हिउँदभरि पुग्ने खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीको जोहो गरेका छन् । करिब चार वर्षपछि चीनसँग सिमाना जोडिएको दोलखाको लप्ची–रामुदिङ नाका अनौपचारिक रूपमा खुला भएपछि लप्चीका स्थानीयले आवश्यक वस्तु जोहो गरेका हुन् । स्थानीय कर्मा शेर्पाका अनुसार आफ्ना लागि आवश्यक पर्ने खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीको जोहो स्थानीयले गरेका छन् । असोज ११ गतेबाट अनौपचारिक रूपमा नाका खुला भएपछि लप्चीवासीले याक, चौँरी र बाच्छा, दिमुको बाच्छा गरी झन्डै तीन सय वटा बिकेका छन् । त्यसै गरी करिब पाँच हजार केजी चौँरीको घिउ, छुर्पीलगायतका उत्पादनसमेत बिक्री गरेर खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीको जोहो गरेका हुन् ।
उनीहरूले हिउँदभरि पुग्ने गरी चामल, पिठो, नुन, चिया, चाउचाउलगायतका दैनिक उपभोग्य सामग्री खरिद गरेका छन् । लप्चीमा ४६ घरधुरी र १५० जनसङ्ख्या रहेको छ । त्यसमा ११ परिवारले चौँरीपालन गरेको र उनीहरूसँग करिब आठ सय वटा चौँरी रहेको शेर्पाले बताउनुभयो ।
कोरोना महामारीपछि बन्द रहेको लप्ची–रामुदिङ नाका खुला नहुँदा लप्चीवासी आर्थिक रूपमा समस्यामा परेका थिए । सङ्घीय सरकार, स्थानीय सरकार र स्थानीय लप्चीवासीले नाका खुलाउन पटक पटक पहल गर्दासमेत सम्भव नभएपछि धेरै विस्थापित हुने अवस्था बनेको थियो । दसैँको पूर्वसन्ध्यामा नाका खुला भएपछि अहिले लप्चीवासीले निक्कै राहत महसुस गरेको स्थानीय फुजुङ शेर्पाले बताउनुभयो ।
लप्चीवासीलाई आफ्नो जिल्लाको नजिकको बजार लामाबगर आउन दुई दिन हिँड्नु पर्छ । चीनको रामुदिङ हुँदै टाँसिघाङ बजार पुग्न भने दुई घण्टा पैदल र दुई घण्टा गाडीमा जानुपर्ने हुन्छ । चीनको तिब्बतस्थित सिगात्से जिल्लाको ङ्यालम काउन्टीमा पर्ने टाँसिघाङ बजारमा भने अहिले पनि आवतजावतका लागि खुला नगरेको स्थानीय बताउँछन् ।
अहिले लप्चीवासी रामुदिङसम्म पुगेर त्यहीँ पाल हालेर बसेका तिब्बती व्यवसायीसँग आवश्यक सामग्री खरिद बिक्री गर्ने गरेका छन् । फुजुङ शेर्पाले भन्नुभयो, “रामुदिङबाट टाँसिघाङसम्मै जान पाए आवश्यक सामग्री सस्तोमा लिन सकिने अवस्था छ ।”
दोलखासँग तिब्बतको सिमानामा ५५ देखि ६१ नम्बरसम्मको पिल्लर रहेको र लप्ची–रामुदिङ नाका ५५ र ५६ नम्बरको बिचमा रहेको छ । चीन सरकारले नेपालसँग सिमाना जोडिएको १४ वटा नाका खुला गर्दा दोलखासँग जोडिएको ६० र ६१ नम्बरको पिल्लरको बिचमा पर्ने फलाकको रोङसिया र क्वादम नाका खोल्ने निर्णय गरेको थियो ।