• १४ मंसिर २०८१, शुक्रबार

विस्थापित हुँदै काठका घर

blog

बाबुराम कार्की

वराहक्षेत्र, कात्तिक १५ गते । ग्रामीण बस्तीको पहिचान बोकेको काठको घर, माटोले लिपेको भित्ता, कलात्मक रूपमा बनाइएका भुइँटाँडे र भुइँघरहरू गाउँबाट विस्थापित हुन थालेका छन् । 

कङ्व्रिmटको सहरबाट गाउँ आउनेहरू पनि कलात्मक रूपमा बनाइएका भुइँटाँडे, भुइँघर र काठका घरहरूमा बस्न आनन्द मान्दथे । पछिल्ला केही वर्षदेखि गाउँमा देखिने काठका घरहरू दिनप्रतिदिन विस्थापित हुँदै गएका छन् । गाउँको पहिचान बोकेका काठका घरहरू विस्थापित हुँदै गएपछि गाउँ पनि कङ्व्रिmटको सहरमा बिस्तारै रूपान्तरण हुँदै गएको छ । वराहक्षेत्र नगरपालिका क्षेत्रका बस्तीहरूमा पुराना र बस्न हुने काठका घरहरू भत्काउँदै पक्की घरहरू बन्न थालेका छन् । वातावरणको दृष्टिले काठको घर कार्बन उत्सर्जन गर्ने ठुलो स्रोतका रूपमा लिइन्छ । वराहक्षेत्र–१०, प्रकाशपुरका घनश्याम कार्कीले दुई वर्षअघि नै ३० वर्ष पुरानो काठको घर हटाएर सिमेन्ट र इँटाले बनेको भुइँघर बनाउनुभयो ।

कुनै बेला गाउँमा काठको घर बनाउनेको लहरै थियो । “२०४६ सालमा बहुदल आएपछि काठका घर गाउँमा धेरै बनेका थिए । त्यसबेला जङ्गलमा गएर रुख काटेरै काठ ल्याएर धेरैले घर बनाउँथे,” प्रकाशपुरका पुराना बासिन्दा हुमरजङ्ग बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, “काठको घरमा बस्नुको मजा नै बेग्लै छ । जाडो र गर्मी दुवै मौसमका लागि राम्रो हुन्छ ।” २०३३ सालमा बनाएको (४७ वर्षअघि) को काठको घरमा बस्नेत बस्दै आउनुभएको छ ।

पछिल्लो समय काठका घर गाउँबाट विस्थापित हुँदै गएका छन् । प्रकाशपुर श्रीपति टोलका श्याम कटुवालले पनि काठको घर बिक्री गरेर पक्की घरमा सर्नुभएको छ ।  प्रकाशपुर श्रीपति टोलमै २०३३ सालमा टिन हालेर काठको सिलिङसहितको घर बनाउनुभएका बस्नेत सुनाउनुहुन्छ, “मैले घर बनाउँदा सबै जना हेर्न आउँथे त्यसबेला कसैले टिन लगाएर काठको घर बनाउँदैन्थे । अहिले टिनको घर हटाएर पक्की घर बनाउन थालेका छन् ।”

एक पटक बनाएको काठको घरको आयु ४० देखि ५० वर्षसम्म हुने भएकाले गाउँमा सबैले काठको घर नै बनाउने चलन थियो । “पहिला काठको घर बनाउनेको गाउँमा इज्जत राम्रै हुन्थ्यो । सहरी क्षेत्रबाहेकका स्थानमा काठले नै घर बनाउने चलन थियो,” प्रकाशपुरका ८६ वर्षीय दुर्गाप्रसाद पौडेलले भन्नुभयो, “आजकाल गाउँबाट काठका घरहरू लोप हुँदै गएका छन् । काठ भनेको बेला किन्न पाइँदैन, पहिला जस्तो जङ्गलमा ठुला रुखहरू छैनन् । काठको विकल्पमा कङ्व्रिmटका घरहरू बनिरहेका छन् ।”

एक क्युबिक फिट काठलाई गाउँमै पाँच हजारभन्दा बढी रकम पर्ने गरेको छ । सामान्यतः एउटा झ्यालको चौकट बनाउन साढे तीन क्युबिक फिट काठ लाग्छ । जनघनत्व बढेसँगै काठको माग बढिरहेको छ । काठको घर गाउँको सौन्दर्य पनि बढाउँथ्यो । “गाउँबाट काठको घरहरू विस्थापित हुँदै जाँदा गाउँको सुन्दरता पनि हराउँदै गएको छ । अहिले गाउँतिर बेरासहित तख्त्ती लगाएर बनेका घरहरू भेटिन छाडेका छन्,” स्थानीय वीरबहादुर कार्कीले भन्नुभयो ।

खरका छाना भएका काठका घरहरू गाउँबाट विस्थापित नै भइइसके । टिनको छानो लगाउने चलन प्रयोगमा आएसँगै खरको छानो भएका घरहरू गाउँबाट एक दशकअघि नै विस्थापित भइसकेका छन् । टिनको छानो भएका घरहरू पनि हटाउँदै पक्की कङ्व्रिmटका घर बन्न थालेका छन् । वराहक्षेत्र नगरपालिकाको घर नक्सा शाखाको आभिलेख अनुसार नगर क्षेत्रमा ८८५ वटा पक्की घर बनिसकेको छ । वराहक्षेत्र नगरपालिकाका सूचना अधिकृत गौरी रायाले भन्नुभयो, “नगरपालिका हुनुअघि नै धेरै घर पक्की बनिसकेका छन्, बनेका घरको र नयाँ घरको नक्सा पारित गराउन निवेदन आउने गरेको छ ।”