• १४ मंसिर २०८१, शुक्रबार

शरणार्थीद्वारा बहुपक्षीय वार्ताको माग

blog

दमक समाचारदाता

दमक, कात्तिक १५ गते । पूर्वी नेपालको दमक नगरपालिका–३, भुटानी शरणार्थी शिविर बेलडाँगीमा रहेका भुटानी शरणार्थीहरूले भुटानी समस्याको दीर्घकालीन र न्यायोचित समाधानका लागि भूमिका खेल्नका लागि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससमक्ष आग्रह गरेका छन् । 

नेपाल भ्रमणमा रहनुभएका गुटेर्रेसको ध्यानाकर्षण गराउनका लागि शरणार्थी शिविर बेलडाँगीमा बृहत् शान्ति ¥यालीसहित पत्रकार सम्मेलन गरेर भुटानी शरणार्थीको स्वदेश फिर्तीको अधिकार सुनिश्चित गर्न माग गरिएको हो । यसका लागि बहुपक्षीय वार्ता गर्नका लागि भूमिका खेल्न आग्रह गरिएको छ । “भुटान, नेपाल, भारत, शरणार्थी प्रतिनिधि र शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालय (युएनएचसीआर) तथा संयुक्त राष्ट्रसङ्घ सम्मिलित वार्ताबाट समस्या समाधान गर्न हाम्रो माग हो,” भुटानी शरणार्थी बस्ती व्यवस्थापन समितिका सचिव सन्चहाङ सुब्बाले भन्नुभयो ।

विभिन्न आठ मुलकमा एक लाख १३ हजारभन्दा बढी भुटानी शरणार्थी पुनर्बास भइसके पनि शिविरमा एक जना शरणार्थी रहेसम्म पनि स्वदेश फिर्तीका लागि ढोका खुला गर्नुपर्ने माग रहेको उहाँले बताउनुभयो । विश्वव्यापी रूपमा मानव अधिकारको रक्षाका लागि युएनले भूमिका खेलिरहेको अवस्थामा आफूहरूको स्वदेश फिर्ती अधिकारको विषयमा पनि बोल्नुपर्छ, उहाँको जोड थियो । शरणार्थीको रेखदेखमा शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालय (युएनएचसीआर) ले हात झिकेपछि अहिले धेरै नै समस्या आएको पनि सो अवसरमा जानकारी दिइयो । शिविरमा शरणार्थीको अवस्था अत्यन्त नाजुक रहेको उहाँले बताउनुभयो । 

संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालय (युएनएचसीआर) ले शरणार्थीका लागि दिँदै आएको राहत सन् २०१८ बाट कटौती गरेपछि यहाँ रहेका शरणार्थीको अवस्था जटिल भएको छ । साढे सात हजारभन्दा बढी शरणार्थी अहिले पनि शिविरमा रहेको उहाँले दाबी गर्नुभयो ।

तेस्रो देश पुनर्बासमा जाने इच्छा हुँदाहुँदै पनि पुनर्बास जान अयोग्य बनाइएका एवं प्रव्रिmया नपुगेकाका लागि पनि पारिवारिक मिलनको वातावरण निर्माण गर्न संयुक्त राष्ट्रसङ्घलाई भुटानी शरणार्थी बस्ती व्यवस्थापन समितिले अपिल गरेको छ । विभिन्न कारणले पञ्जीकरणमा छुटेका सम्पूर्ण भुटानी शरणार्थीलाई निष्पक्ष छानबिन गरेर चाँडो पञ्जीकरण गर्न शरणार्थीले माग गरेका छन् ।