• १२ साउन २०८१, शनिबार

बबकमा ७५ क्विन्टल सुन्तला विक्री

blog

नवलपुरको कावासोतीमा विक्रीका लागि राखिएको बबकको सुन्तला । तस्बिर : मीना कंडेल

मीना कंडेल

कावासोती, कात्तिक १४ गते । नवलपुरको पहाडी क्षेत्र बबक सुन्तला खेतीका लागि प्रख्यात ठाउँ हो । यहाँका हरेक घरपरिवारले धेरैथोरै सुन्तला लगाउनेगरेका छन् । 

जिल्लाको पहाडी क्षेत्रका बबक, राइकोट, जौवारीलगायतका क्षेत्रमा राम्रो सुन्तला उत्पादन हुनेगरेको छ । अहिले सुन्तला किसानले सुन्तला टिप्न सुरु गरेका छन् । अघिल्ला वर्षमा बजारका समस्या झेलेका यस क्षेत्रका किसानले अहिले कतिपय व्यापारी बगैँचामै पुग्ने र पहिले नै अर्डर गर्ने हुँदा यसले गर्दा किसानलाई सुन्तला बिक्रीमा सहजता मिलेको छ ।

नवलपुरको बौदीकाली –५, बबकका सुन्तला किसान शेरबहादुर ठाडा मगरलाई यस पटक सुन्तला बेच्न कहाँ लग्ने भन्ने चिन्ता छैन । केही वर्ष अघिसम्म सुन्तलाको बजार खोज्दै धाउनुपर्ने बबकका किसानलाई व्यापारीले बगैँचाबाटै सुन्तलाको मूल्य गरी खरिद बिक्री हुँदा खुसी भएका छन् । 

सुन्तला बिक्रीमा अहिले समस्या नभएको र कावासोती, नारायणगढलगायतका व्यापारीले गाउँबाटै खरिद गरिदिँदा किसानलाई सहजता भएको  भिमबहादुर मगरले बताउनुभयो । व्यापारीको मागअनुसार स्थानीय रूपमा सुन्तला सङ्कलन गरी गाडीमा राखेर बजारसम्म पुगाए मात्र हुने उहाँले बताउनुभयो । व्यापारीले गाउँमै सुन्तलाको मूल्य तयारी लैजाने गरेको उहाँको भनाइ छ ।

बबक कृषि तथा पशुपालन फर्म दर्ता गरी परम्परागतभन्दा पनि व्यावसायिक तवरबाट सुन्तला खेती गर्दैआएको गेसबहादुर रानाले बताउनुभयो । आफ्नै बगैँचाबाट सुन्तला बिक्री गर्दा गत वर्षभन्दा राम्रो नै मूल्य किसानले प्राप्त गरेको उहाँको भनाइ छ । 

यस वर्ष गत वर्षभन्दा सुन्तलाको फल समेत राम्रो लागेको किसानको भनाइ छ । सुन्तलाको फूल खेल्ने समयमा मौसम अनकुल हुँदा र रोग किराको प्रकोप नलाग्दा यस वर्ष सुन्तला उत्पादन राम्रो भएको व्यापारीहरूको भनाइ छ । 

नवलपुरको कावासोतीमा विगत १५ वर्षदेखि फलफूल बिक्री गर्दै आउनुभएका कृषिउपज केन्द्रमा रहेको मनकामना फ्रुट सप्लायर्सका सञ्चालक रुद्रबहादुर अधिकारीले बबकबाट नै सुन्तला खरिदगरी विक्री गर्नेगरेको बताउनुभयो । किसानको बगैँचाबाट नै खरिद गरी प्रतिकेजी ७५ रुपियाँमा विक्री गरेको र दसैँदेखि हालसम्म ७५ क्विन्टल विक्री भइसकेको उहाँले बताउनुभयो ।

जिल्लाका कावासोती, प्रगतिनगर, दलदले, चोरमारा, अरुणखोला, गिरवारी, झ्यालबास लगायतका ठाउँमा खुद्रा तथा होलसेलमा व्यापारीसमक्ष घर–घर पुगाउने गरेको पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सुन्तलाको उत्पादन राम्रो भएकाले किसानले छिटो टिप्न सुरु गर्नुभएको हो । ४० प्रतिशत मात्र सुन्तला पाकेको भए पनि चाडपर्वमा धेरै खरिद विक्री भएको छ ।” 

पहाडी भेगका सुन्तलाले नवलपुर जिल्लामा बाहिरबाट खरिद गरी ल्याउनु नपर्ने र आफ्नै बगानको उत्पादनलाई प्राथमिकता दिनुपर्ने अधिकारीको भनाइ छ । वर्ष गत वर्ष एक हजार २० मेट्रिक टक सुन्तला उत्पादन भएकोमा यस वर्ष २० प्रतिशतले उत्पादन बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्रको अनुमान रहेको छ । जिल्लाको बौदिकाली, बुलिङटार, गैँडाकोटको पहाडी क्षेत्रमा गरी करिब सातसय हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदैआएको उहाँको भनाइ छ ।