काठमाडौँ, कात्तिक १४ गते । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनबाट प्रभावित मुलुक र समुदायका लागि विकसित मुलुकले क्षतिपूर्तिका रूपमा आर्थिक र सामाजिक सहयोग गर्नेपर्ने बताउनुभएको छ ।
सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै महासचिव गुटेरेसले कार्बन उत्सर्जनमा नेपालको भूमिका नभए पनि जलवायु परिवर्तनको प्रतिकूल असर खेपिरहेकाले नेपालसमेतले यसको क्षतिपूर्ति स्वरूप विकसित मुलुकबाट जलवायु अनुकूललगायत क्षेत्रमा सहयोग पाउनुपर्ने बताउनुभयो ।
चार दिने औपचारिक भ्रमणमा रहनुभएका महासचिव गुटेरेसले सोमबार जलवायु परिवर्तनका कारण हिमाल पग्लिएर क्षति व्यहोरेका सोलुखुम्बुको सगरमाथा क्षेत्रका स्थानीयसँग छलफल गर्नुभएको थियो । रासस