• ११ मंसिर २०८१, मङ्गलबार

बीउ बिजनसम्बन्धी नयाँ नियमावली छिट्टै पारित हुन्छ : मन्त्री भुसाल

blog

१६ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीलाई मङ्गलबार ललितपुरमा समुद्घाटन कार्यक्रममा उपस्थित कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसाललगयत । तस्बिर : सुजन गुरुङ

काठमाडौं, कात्तिक १४ गते । कृषि तथा पशुपन्क्षी विकासमन्त्री डा. वेदुराम भुसालले बीउ बिजनसम्बन्धी नयाँ नियमावली नबनेसम्म फुकाइएको बाधा अड्चनबाट काम गर्न सकिने बताउनुभएको छ ।

१६ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीलाई मङ्गलबार ललितपुरमा उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बीउ बिजनसम्बन्धी नियमावली चाँडो बन्नुपर्ने भए पनि बन्न नसकेकाले सरकारले बाधा अड्काउ फुकाएर नियमावली नन्दासम्मको बाधा अड्काउ फुकाइएकोबाट नै काम गर्न सकिने बताउनु भयो ।

उहाँले नियमावली बनाउने काम सरकारको भएकाले सरकारले अहिले अर्थमन्त्रालयको सहमतिबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पुर्‍याइएको जानकारी दिनुभयो ।  उहाँले बीउ बिजनसम्बन्धी नयाँ नियमावली चाँडै पारित गर्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले सरकार आफ्नो उत्पादनको प्रवर्द्धन गर्ने, उत्पादनको रक्षा र संवर्द्धन गर्ने पक्षमा दृढ रहेको बताउनु भयो ।

‘‘नियमावलीको कुरा गर्नुभएको छ । बीउ बिजनसम्बन्धी नियमावली नयाँ ऐनअनुसारको नयाँ नियमावली छिटो बन्नुपर्ने थियो, ढिलो भयो, त्यसले गर्दा केही बाधा परे भन्नेकुरा गरिसकेपछि ती बाधा अड्काउ फुकाएर नियमावली नन्दासम्मका लागि त्यो बाधा अड्काउ फुकाइदिएको छ । जबसम्म नियमावली बन्दैन, तबसम्म फुकाइएको बाधा अड्चनबाट काम गर्न पाउनु हुनेछ । त्यसकारण केही दिनको लागि भनेर चिन्ता गर्नु पर्दैन । नियमावली बनाउने काम सरकारको हो ।,’’ मन्त्री भुसालले भन्नुभयो, ‘‘सरकारले गर्छ, उसको जिम्मेवारीको कुरा हो । ढिलो गरिएको छैन, हाम्रो मन्त्रालयबाट तयार भई अर्थ मन्त्रालयको पनि सहमति लिएर हामीले कानुन मन्त्रालयमा लगिसकेका छौँ । अर्थ र कानुन मन्त्रालयको सहमति नलिईकन नियमावली पारित गर्न सक्दैनौँ । छिटै पारित हुन्छ । भ्याट सम्बन्धी जुन समस्या छ, त्यसका बारेमा अर्थसँग पनि छलफल गर्नुपर्ने हुन्छ । हामी छलफल गरौँला । सरकार हाम्रो आफ्नो उत्पादनको प्रवर्द्धन गर्ने पक्षमा, उत्पादनको रक्षा र संवर्द्धन गर्ने पक्षमा दृढ छ ।’’

मन्त्री भुसालले अहिलेको समाधान राष्ट्रिय उत्पादनको वृद्धि र आयात प्रतिस्थापन गर्नु रहेको बताउनु भयो । प्रदर्शनी आज(मङ्गलबार) बाट कात्तिक १८ गतेसम्म हुनेछ ।