• १५ मंसिर २०८१, शनिबार

वडा भवनको नाममा रहेको जग्गा भीर परेपछि निर्माण अलपत्र

blog

कुस्मा पर्वत, कात्तिक १४ गते । पर्वतको कुस्मा नगरपालिकाले वडा कार्यालयको भवन निर्माण गर्न भनी भीरको जग्गा खरिद गरेको पाइएको छ । भवन निर्माणका लागि भनी खरिद गरिएको एक रोपनी छ आना क्षेत्रफलको भिरालो जग्गा अनुपयुक्त रहेपछि बजेट हुँदाहुँदै भवन निर्माणको काम नै अलपत्र परेको छ ।

वडा भवन निर्माणका लागि नगरपालिकाले तीन वर्ष पहिले १५ लाखमा खरिद गरेको जग्गा सबै भिरमा छ भने सम्म परेको भाग भनेको पुगनपुग ४ आना मात्रै छ । वडा कार्यालयले २०७९ वैशाखमा स्थानीय नीलराज पुरीको नाममा रहेको कित्ता नं. २०२६ को ८ आना, कि.नं.२०२५को ८ आना, कि.नं. २०२७ को १.२ दाम, कि.नं.२०२९ को ५.२.२ दाम, कि.नं.११३६ को २.२ दाम क्षेत्रफलको जग्गा खरिद गरेको थियो । सहरी विकास आयोजना बागलुङका इन्जिनियर योगेन्द्र बस्ताकोटीले भवन निर्माण गर्ने भनिएको जग्गा पुरै भिर रहेको र थोरै मात्र जग्गा सम्म परेको हुँदा भवन निर्माण गर्न अनुपयुक्त रहेकोले अन्यत्र जग्गाको व्यवस्था गर्न आफूहरूले सुझाएको बताउनुहुन्छ । 

आयोजनाका इन्जिनियर बस्ताकोटी भन्नुहुन्छ–“भवन निर्माण गरिने स्थल सबै भिर छ । व्यक्तिगत घर बनाउने भएको भए त सानो भवन बनाउनु हुने थियो । वडा भवन निर्माण गरिने भनेको एकीकृत पूर्वाधार निर्माण अन्तर्गत तोकिएको मापदण्ड अनुसार बनाउनुपर्छ । तोकिए अनुसार वडाको भौतिक संरचना निर्माणका लागि भिरालो जग्गा उपयुक्त छैन ।” 

सघन सहरी विकास कार्यालय बागलुङका अनुसार कुस्मा नगरपालिकाका लागि तीन वटा शीर्षक सघन सहरी आयोजना अन्तर्गत ११ करोड, बस्ती विकास आयोजनामा १६ करोड ९ लाख र आवास व्यवस्था अन्तर्गत २ करोड गरी जम्मा २९ करोड बढी रकम विनियोजन भएको छ । कुस्मा नगरपालिका वडा ७ को भवन निर्माणका लागि १ करोड २५ लाख विनियोजन भएको वडाध्यक्ष परशुराम पुरीले बताउनुभयो । 

वडाध्यक्ष पुरीले भिरको जग्गा परेपछि भवन बनाउन नपाइएकोमा दुःख व्यक्त गर्दै भन्नुभयो–“सहरी विकास आयोजनाले जग्गा कम भयो भनेपछि यस अघिका वडाध्यक्ष सुवास पौडेल र प्लटिङ जग्गावाला केशवराज पुरीलाई जग्गा थप गर्ने या अन्यत्र व्यवस्था गर्नका लागि पहल गरिदिन आग्रह गरिएको छ । अहिले भइरहेको जग्गा आसपास साँगुरो स्थान भएकाले थप जग्गा खरिद गर्न पनि सजिलो छैन ।”

स्थानीयवासीले स्थानीय केशवराज पुरीको प्लटिङ घडेरी जग्गाको मूल्य वृद्धि गर्नका लागि निवर्तमान वडाध्यक्ष सुवास पौडेलको मिलेमतोमा भिरको जग्गा वडा भवन निर्माणको खरिद गरिएको आरोप लगाएका छन् । वडा भवन निर्माण हुने भनेपछि वरिपरिको जग्गालाई बढी मूल्यमा  विक्री गरी मुनाफा कमाउन स्थानीय केशवराज पुरी सफल भएको स्थानीयको भनाइ छ । 

Author

प्रनिश गिरी