• २९ वैशाख २०८२, सोमबार

चार सयभन्दा बढीले लिए राष्ट्रिय परिचयपत्र

blog

रामेछाप समाचारदाता 

रामेछाप, कात्तिक १४ गते । रामेछापमा तीन महिनाको अवधिमा चार सयभन्दा बढी नागरिकले बायोमेट्रिक विवरणसहितको राष्ट्रिय परिचयपत्र लिएका छन् । जिल्ला प्रशासन कार्यालय रामेछापले २०७७ साउन १ देखि राष्ट्रिय परिचयपत्रको फाराम भर्ने कार्यको थालनी गरेको थियो । जिल्लामा विवरण लिन सुरु गरेको तीन वर्षपछि गत साउन १० बाट परिचयपत्र वितरण सुरु भएको हो । पहिलो पटकमा राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएका दुई हजार ५८७ जनाको परिचयपत्र बनेर आएकामा हालसम्म ४१४ जना नागरिकले राष्ट्रिय परिचयपत्र लिएको जिल्ला प्रशासन कार्यालय रामेछापका कम्प्युटर अपरेटर कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “रामेछापमा एक लाख एक हजारभन्दा बढी नागरिकले राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएका छन् । पहिलो खेपमा दुई हजार ८७ जनाको परिचयपत्र आएकोमा अहिलेसम्म ४१४ जनाले परिचयपत्र बुझिसकेका छन् । अहिले राष्ट्रिय परिचयपत्र लिने र परिचयपत्रका लागि आवेदन दिनेको भिड छ ।” 

उहाँका अनुसार कार्यालयबाट परिचयपत्रका लागि आवेदन दिएका र परिचयपत्र तयार भइसकेका सेवाग्राहीको मोबाइलमा सन्देश पठाएर जानकारी दिने व्यवस्था मिलाइएको छ । यसका आधारमा सेवाग्राहीले कार्यालयमा उपस्थित भएर परिचयपत्र लिन सक्नेछन् । दुई वटा नगरपालिका र छ वटा गाउँपालिका रहेको रामेछाप जिल्लाबाट हालसम्म झन्डै एक लाख एक हजारभन्दा बढी नागरिकले राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएका छन् । 

जिल्ला प्रशासन कार्यालयले २०७९ मङ्सिर १२ गतेदेखि चैत ३ गतेसम्म जिल्लाका सबै पालिकाको वडा तहमा सञ्चालन गरेको घुम्ती शिविरबाट ७० हजार ९४० जना नागरिकको आवेदन सङ्कलन गरेको थियो । मन्थली नगरपालिकाबाट १४ हजार १६७, रामेछाप नगरपालिकाबाट १० हजार ६११ र खाँडादेवी गाउँपालिकाबाट नौ हजार ७०३ जना नागरिकले घुम्ती शिविरमार्फत राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएका छन् । 

त्यसै गरी दोरम्बा शैलुङ गाउँपालिकाबाट आठ हजार १४७, सुनापति गाउँपालिकाबाट सात हजार १६९, लिखुतामाकोशी गाउँपालिकाबाट सात हजार २३२, गोकुलगङ्गा गाउँपालिकाबाट सात हजार ९०१ र उमाकुण्ड गाउँपालिकाबाट छ हजार १० जनाले राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएका छन् ।