• १४ मंसिर २०८१, शुक्रबार

भेडापालनमा किसानको आकर्षण घट्दै

blog

जयकृष्ण यादव

इनरुवा, कात्तिक १४ गते । गडेरी (पाल) समुदायको पुर्ख्याैली पेसाका रूपमा रहेको भेडापालन व्यवसाय सङ्कटमा परेको छ । चरनको कमी र भेडाको मासु तथा उन बिक्रीका लागि बजार अभाव बन्दै गएपछि भेडापालनप्रति किसान आकर्षित हुन सकेका छैनन् । जिल्लामा झन्डै दुई सयभन्दा बढी भेडीगोठ रहेकामा हाल १० वटामा झरेको बताइन्छ । स्थानीयले घुम्ती भेडीगोठमा सामूहिक रूपमा भेडा पाल्दै आएका थिए । पछिल्लो समय जनघनत्व बढेर चरन क्षेत्र घट्दा भेडापालन व्यवसाय सङ्कटमा परेको किसानले बताएका छन् ।

एकातिर चरिचरनको अभाव, अर्कातिर बजारको अभाव र त्यसमाथि युवा पुस्ताले यस व्यवसायमा चासो नदिएका कारण भेडापालन व्यवसाय सङ्कटमा पर्न थालेको हो । गाउँका युवा सहर, शिक्षा र केही विदेशकेन्द्रित भएकाले भेडापालन चासोमा नपरेको सुधीर गडेरीले बताउनुभयो । दशकअघिसम्म भेडाको मासु र ऊन बिक्रीबाट मनग्गे कमाउन सकिने भए पनि हाल आएर चरनको अभाव र भेडीगोठमा काम गर्न कठिन हुने भएकाले यस व्यवसायमा युवाले खासै चासो नदिएको भेडी गोठाला बताउँछन् । रामफल गडेरी पालका अनुसार भेडापालन व्यवसायबाट राम्रो आम्दानी गर्न सकिन्छ तर भेडा चराउन कहिले खोला, कहिले गाउँ त कहिले खुला खेत गरिरहनु पर्छ । उहाँले भन्नुभयो, “दुःख छ हजुर ! त्यसैले यो व्यवसायमा लाग्ने युवा नै छैनन् ।”

भेटेरिनरी अस्पताल सुनसरीका प्रमुख कुमारसिंह खत्रीका अनुसार जिल्लाको हरिनगर गाउँपालिकाको हरिनगरा र देवानगन्ज गाउँपालिकाको मध्यहर्षाही, साहेबगन्जलगायतका स्थानमा घुम्ती भेडीगोठ छन् । उहाँका अनुसार जिल्लामा १० वटा घुम्ती भेडीगोठमा झन्डै तीन हजार २५० भेडा छन् । कार्यालयका अनुसार वार्षिक दुई करोड ५० लाख रुपियाँ बराबरको आम्दानी भेडापालनबाट हुँदै आएको अनुमान छ । 

घुम्ती भेडीगोठमा पालिएका भेडाबाट वार्षिक नौ मेट्रिक टन मासु उत्पादन हुन्छ । एउटा भेडाको मूल्य २० हजारदेखि ४० हजार रुपियाँसम्म पर्छ । भेडाको ऊनको मूल्य प्रतिधार्नी चार सयभन्दा बढी छ । भेडाको मासु बिक्रीबाट मात्रै वार्षिक दुई करोड ५० लाख रुपियाँ आम्दानी हुँदै आएको छ । यहाँका भेडाको मासु सदरमुकाम इनरुवासहित स्थानीय बजारमा पुग्छ । 

जिल्लामा मासु तथा ऊन उत्पादन गर्दै आएका भेडापालकका २२ वटा फार्म दर्ता भई सञ्चालनमा छन् । सीमावर्ती गाउँमा भेडापालन भएपछि भेडा चराउन भेडाको बथान लिएर भेडी गोठाला इनरुवा, गढी, दुहबी र कोशीसम्म जाने गरेका छन् । भेडाको मासु, ऊन तथा मल बिक्रीबाट राम्रो कमाउन सकिने उनीहरूको भनाइ छ तर भेडापालन गर्ने किसान र भेडाको सङ्ख्या भने घट्दै गएको छ ।