लोकेन्द्र जोशी
दार्चुला, कात्तिक १४ गते । दुर्गम गाउँका वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता बुझ्न दिनभर हिँड्नुपर्ने बाध्यता रहेको छ । लेकम गाउँपालिका–६, तिउने गाउँका ९० वर्षीय मनिनाथ केही दिनपहिले सामाजिक सुरक्षा भत्ता बुझ्न लेकम–५ मा रहेको लक्ष्मी सनराइज बैङ्कमा पुग्नुभयो ।
पालो कुरेर भत्ता बुझ्दै गरेका नाथले भन्नुभयो, “गाडी नपाए बैङ्कसम्म आउन सक्दिनँ, गाडी पाउँदासमेत आउँदाजाँदा पाँच सय भाडा तिरेर कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ ।” गाउँमै सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था भए सहज हुने उहाँको भनाइ छ ।
लेकम गाउँपालिका–१, सेजालीका ७४ वर्षीय हरसिंह कार्कीले सामाजिक सुरक्षा भत्ता बुझ्न बिहान ६ बजे घरबाट हिँड्ने गरेको बताउनुभयो । “बिहान उठ्नेबित्तिकै बैङ्कका लागि हिँड्दा भत्ता बुझेर घर फर्किंदासम्म बेलुकी भइसक्छ,” उहाँले भन्नुभयो ।
भत्ता बुझ्नका लागि दिनभर हिँड्नुपर्ने र बैङ्कमा पालो कुर्नुपर्ने बाध्यता भोग्दै आएका स्थानीय ज्येष्ठ नागरिक तनावमा देखिन्छन् । लेकम गाउँपालिका–२ का ७२ वर्षीय लालसिंह धामी पनि घण्टौँ हिँडेर बैङ्कसम्म आउनुभन्दा वडाबाट नै गाउँघरमै भत्ता बुझ्ने व्यवस्था भइदिए सहज हुने बताउनुहुन्छ ।
बिहानको झिसमिसेमै हिँडेर सामाजिक सुरक्षा भत्ता लिन बैङ्कसम्म पुग्न निकै सास्ती हुने गरेको उहाँहरूको गुनासो छ । बुढेसकालमा गलेको ज्यान एक घण्टाकै बाटोमा धेरै समय लाग्ने गरेको छ ।
कतिपय स्थानमा पैदल हिँड्ने बाटोसमेत राम्रो बनाइएको छैन । हरेक तीन महिनामा यसरी बैङ्क धाउँदा धेरै समस्या हुने गरेको लेकमका कौसा बोहराले बताउनुभयो । बुढेसकालका कारण समय बित्दै जाँदा हिँडडुल गर्न समस्या हुने गरेको छ ।
कतिपयका छोराछोरी तथा हकवालाले भत्ता बुझेर लैजाने गरेको भए पनि अधिकांश वृद्धवृद्धा भने आफैँ बैङ्कसम्म पुग्ने गरेका छन् । बैङ्कमा पनि लाइन बसेर भत्ता बुझ्न बाध्य छन् । आफन्त तथा हकवाला नहुनु वा कामको सिलसिलामा गाउँबाहिर भएकाले कतिपयलाई सकिनसकी बैङ्क पुग्नुपर्ने बाध्यता छ ।
“सुरक्षा भत्ताका लागि सबैको बैङ्कमा खाता खोलिएको छ । चेक साट्न बैङ्क पुग्नै प¥यो,” लेकम–२ का गुन्जे धामीले भन्नुभयो, “खातामै राख्यो भने घरमा नुनतेल कसरी गर्ने भन्ने समस्या हुन्छ ।”
लेकमका अधिकांश वडामा सडक पुगे पनि यातायातको सुविधा छैन । यसरी घण्टौँ पैदल हिँडेर भत्ता लिनेहरू साह्रै कष्टकर यात्रा गर्नु परेको अनुभव सुनाउँछन् । सरकारले सामाजिक सुरक्षा भत्ता बैङ्कमार्फत दिन थालेपछि हरेक स्थानीय तहमा बैङ्कका शाखा खुलेका छन् ।
तर, दुर्गम गाउँमा बसोबास गर्ने नागरिकलाई भने स्थानीय तहमा खोलिएका बैङ्कसम्म पुगेर भत्ता थाप्न दिनभरि पैदल हिँड्नुपर्ने बाध्यता रहँदै आएको छ । बुढेसकालमा लट्ठीको सहारामा घण्टौँ हिँड्दा हैरानी खेप्नु परेको वृद्धवृद्धा गुनासो गर्छन् ।
शैल्यशिखर–४ की पार्वती भट्टले भन्नुभयो, “स्थानीय तह आउनुभन्दा अघि वडा सचिव वा कर्मचारीले घरघरमै लगेर बाँड्ने गरेका थिए । कतिपय वडामा पायक पर्ने ठाउँमा जम्मा गरेर पनि बाँड्ने गरिन्थ्यो । हाल स्थानीय तह आएपछि बैङ्कमार्फत भत्ता दिँदा झन् दुःख भयो ।”
भौगोलिक विकटता र सडक पहुँच नहुँदा वृद्धवृद्धालाई हिँडडुलमा समस्या हुने गरेको भनाइ जनप्रतिनिधिको छ । बैङ्कहरूलाई दुर्गम क्षेत्रमा घुम्ती रूपमा भत्ता वितरणका लागि अनुरोध गरे पनि कर्मचारी अभावमा सो सेवा नियमित गर्न नसकेको जनप्रतिनिधि बताउँछन् ।