• १३ मंसिर २०८१, बिहिबार

छुट्टाछुटै स्थानमा जीप दुर्घटना हुँदा नौ जना घाइते

blog

सिउडीमा दुर्घटना भएको जीप । तस्बिर सौन्जय : मीन थापाको फेसबुकबाट

शिवराज ढुंगना
अछाम, कात्तिक १३ गते ।
छुट्टाछुट्टै स्थानमा जीप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । मेल्लेख गाउँपालिकाको नन्देगडा र चौरपाटी गाउँपालिकाको बिउनीमा छुट्टाछुटै जीप दुर्घटना हुँदा नौ जना घाइते भएका हुन् । नन्देगडामा भएको दुर्घटनामा आठ जना र बिउनीमा जीप चालक घाइते भएका अछामका प्रहरी निरीक्षक अर्जुन साउँदले जानकारी दिनुभयो ।  

षोडशाबाट साँफेबगर गइरहेको यात्रुवाहक जीप मेल्लेख गाउँपालिका ७ नन्देगडाको माणु भन्ने स्थानमा दुर्घटना हुँदा आठ जना घाइते भएका हुन् । घाइते हुनेमा मेल्लेख गाउँपालिका ५ का १८ वर्षीय सचिन नेपाली, वडा नम्बर ६ का २६ वर्षीय उत्तम खड्का, १८ वर्षीय समिर रावल, ३५ वर्षीय राजेन्द्र खड्का, ५० वर्षी टेकबहादुर रावल र २१ वर्षीया सानु कुँवर घाइते भएका हुन् । सोही दुर्घटनामा घाइते हुनेमा मेल्लेख गाउँपालिका ५ का २३ वर्षीय एकेन्द्र खड्का, वडा नम्बर ७ का जीप चालक २५ वर्षीय महेश खड्का घाइते भएको अछाम प्रहरीले जानकारी दिएको छ ।

घाइतेमध्ये सचिनलाई थप उपचारका लागि धनगढी पठाइएको छ भने उत्तम र समिरको वयलपाटा अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्येका सानु, टेक, एकेन्द्र, महेशको सामान्य उपचारपछि वयलपाटा अस्पतालले उपचारपछि घर पठाइएको छ । सुदूरपश्चिम प्रदेशको ०१–००१ ज १३५९ नम्बरको जीपको एक्कासी ब्रेक फेल भएर दुर्घटना भएको अछाम प्रहरी निरीक्षक साउँदको भनाइ छ । जीपमा क्षमताभन्दा बढी यात्रु रहेको र दुर्घटनाका बारेमा अनुसन्धान भइरहेको अछाम प्रहरीले जनाएको छ ।

गैरीलेकबाट गएर खानडाँडातर्फका यात्रु ल्याउन गएको से १ ज ४९० नम्बर जीप दुर्घटना हुँदा चालक धनबहादुर थापा घाइते भएको स्थानीय मिन थापाले जानकारी दिनुभयो । थापाको सामान्उ उपचारपछि घर फर्किसकेको अछाम प्रहरीले जानकारी दिएको छ ।