• १५ मंसिर २०८१, शनिबार

गाडी एकापसमा ठोक्किँदा चार घाइते

blog

दुर्घटना हुँदा सडक अवरुद्ध । फोटो सौजन्य : रमेश पौडेल

प्रनिश गिरी 

कुश्मा पर्वत, कात्तिक १२ गते । पोखरा–बागलुङ सडक मार्गमा पर्ने पर्वतको मोदी गाउँपालिका –६ स्थित बेतेनीमा आइतबार दिउँसो तीन वटा गाडीहरू एकापसमा ठोक्किँदा चार जना घाइते भएका छन् । 

घाइतेलाई उपचारका लागि पोखरा लगिएको प्रहरीले जनाएको छ । बागलुङबाट पोखरा जाँदैगरेको ग.१ ज ७४६९ नम्बरको जिपले सोही दिशातर्फ जाँदैगरेको वा.२१ च. ३८४ नम्बरको कारलाई ओभरटेक गरी जाँदैगर्दा विपरीत दिशामा जाँदै गरेको ट्याक्सीसँग ठोक्किन पुग्दा तीन वटै गाडी आपसमा ठोक्किएका थिए । 

गाडी ठोक्किँदा घाइते हुनेहरू चार जना ध.१ ज १०८७ नम्बरमा सवार यात्रुहरू रहेको प्रहरी चौकी डिमुवामा कार्यरत प्रहरी नायब निरीक्षक तोरणध्वज पौडेलले बताउनुभयो । तीन वटै गाडीमा भौतिक क्षति भएको छ ।

प्रहरीका अनुसार घाइतेमध्ये एक जनाको टाउकोमा चोट लागेको छ भने बाँकी यात्रुको गोडामा चोट लागेको छ । घाइतेको पहिचान खुल्न सकेको छैन । तीनवटा गाडीका चालकलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख खुमलाल भुसालले बताउनुभयो ।

गाडीहरू एकापसमा ठोक्किँदा केही समय सडक नै अवरुद्ध हुन पुगेको बागलुङबाट पोखरा जाँदै गरेका यात्रु रमेश पौडेलले बताउनुभयो ।