• १२ साउन २०८१, शनिबार

उपत्यकाको लोपोन्मुख पर्व यः सिं गुं आजबाट सुरु (फोटो फिचर)

blog

काठमाडौँ उपत्यकाको आजबाट सुरु भएको लोपोन्मुख यः सिं गुं पर्व । तस्बिर : गोरखापत्र

काठमाडौं, कात्तिक ११ गते । काठमाडौँ उपत्यकाको लोपोन्मुख यः सिं गुं पर्व आजबाट सुरु भएको छ । शनिबारबाट भीमसेन स्थान परिसरमा महिलाहरूद्वारा लिङ्गो ठड्याएर पर्व सुरु भएको हो ।

यो पर्व अबको एक महिनासम्म चल्नेछ । महिलाहरूलाई जागरूक बनाउन र अघि सार्नका लागि साङ्केतिक रूपमा यो पर्व मनाइने गरिन्छ । आज बिहान ८ बजेर ५८ मिनेटको शुभ साइतमा लिङ्गो ठड्याएर यो पर्वको सुरुवात गरिएको हो । पर्वको बारेमा बोल्नुहुँदै सम्पदा संरक्षण समाज नेपालका अध्यक्ष सुरज सायमीले परापूर्वकालद्खि चलिरहेको यो पर्व २५ वर्ष रोकिएपछि पुनः सुरु गरिएको बताउनुभयो । उहाँले महिला सशक्तीकरणलाई जोड दिनका लागि यो पर्व सुरु गरिएको बताउनुभयो ।


उहाँले भन्नुभयो, ‘‘यो परापूर्वकालदेखि चलिरहेको थियो । २६ वर्ष पहिला विविध कारणले रोकिन पुग्यो । २५ वर्षपछि महिला दिदीबहिनीलाई नै अघि सारेर यो सुरु गरेका हौँ । परम्परालाई संसारभर देखाउन सकियोस् भन्ने हो । यो दुर्लभ पर्व हो । यसमा महिला सशक्तीकरणलाई जोड दिएका छौँ । आज सुरु भएको छ, एक महिनासम्म चन्द्रज्योती दीप दिन्छौँ ।’’

त्यस्तै, पर्वमा सहभागी महिला रञ्जु कपालीले महिलालाई जागरूक बनाउनका लागि यो पर्व सुरु गरिएको बताउनु भयो । उहाँले २५ वर्ष पहिला रोकिएको यो पर्वलाई महिला सशक्तीकरणका लागि पुनः सुरु गरिएको जानकारी दिनुभयो ।


उहाँले भन्नुभयो, ‘‘२५ वर्ष अघिदेखि तानेको भन्ने छ । महिलालाई अघि बढाउनुपर्छ भन्ने सन्देशले यो कार्यक्रम सुरु गरिएको हो । महिलालाई जागरूक बनाउन यो कार्यक्रम गरेको हो ।’’ उहाँले महिलाहरू पछि परिरहेको समयमा महिलालाई कुनैपनि काममा अघि बढाउनुपर्ने सन्देशसहित यो पर्व मनाइने बताउनुभयो ।