विजयकुमार साह
ढल्केर, कात्तिक ११ गते । आज कोजाग्रत पूर्णिमा । विधिवत् रूपमा महालक्ष्मीको पूजापाठ गर्दै यस वर्षको विजयादशमीको समापन गरिदैं छ । महालक्ष्मीको पूजापाठ गर्दै कोजाग्रत पूर्णिमाका दिन रातभर जाग्राम रहने चलन छ । यद्यपि मिथिला क्षेत्रमा भने कोजाग्रत पूर्णिमा मनाउने चलन फरक किसिमको छ ।
मिथिला क्षेत्रमा कोजाग्रतलाई कोजगरा भन्ने गरिन्छ । यस दिन पान, मखन, फलफूल, दही र मिठाई महत्त्वपूर्ण मानिन्छ । पूजापाठका साथै यसै वर्ष विवाह भएका नवजोडीका लागि पनि यो दिन विशेष रहने गर्दछ । पछिल्लो वर्ष मङ्सिरदेखि असारसम्म वैवाहिक बन्धनमा बाँधिएका बेहुली पक्षबाट बेहुलाको घरमा भार (कोसेली) पठाउने चलन छ । भारमा पान, मखन, फलफूल, दही, मिठाइ, सौंफ, मुमफली अनिवार्य नै हुन्छ भने बेहुलासहित उनको परिवारका हरेक महिला सदस्यका लागि कपडा पनि लग्नुपर्ने हुन्छ ।
बेहुलीको घरबाट बेहुलाको घरमा भार आएपछि बेहुलालाई चुमाउने गरिन्छ । अर्थात् चुमाओन गरिन्छ । पुरोहितले मन्त्रोच्चारण गर्दै बेहुलालाई चुमाएपछि ठुलाबडाले दुर्वाक्षतासहित आशीर्वाद दिने गर्छन् । यस दिन बेहुलाहरूलाई मिथिलाको पाग लगाइ दिदैं ससुरालीबाट आउने कपडा पहिराउने गरिन्छ ।
बेहुलीकै घरबाट आउने डाला, धान, अक्षता, दही, केराजस्ता पूजा सामग्रीबाट बेहुलालाई चुमाउने गरिन्छ । बेहुलाको टाउकोदेखि खुट्टासम्मको पाँच प्रमुख स्थानलाई चुमाउने चलन छ । चुमाओन गरिनु भनेको एक किसिमको आशीर्वाद दिनु हो । चुमाओन विधि सकिएपछि सामूहिक रूपमा भोजजस्तै खानपिनको आयोजना गरिन्छ । क्षमता हुनेले ठुलो भोजकै आयोजना गर्छन् यस दिन । यस अवसरमा मिठाइ, मखन, पान बाँड्नै पर्ने हुन्छ ।
खानपिनपछि कौडासहित पचिसि खेल्ने चलन छ । आठ कौडीहरू र सोह्र गोटीद्वारा पासाका चौसट्ठी बेहुला र बेहुलीका दाजु वा भाइबिच खेलिन्छ । बेहुली पक्षबाट यस दिन भारका साथै अन्य सामानहरू पनि दिने चलन छ । आभूषण, औँठी, छाता, घडी पनि बेहुला पक्षलाई बेहुली पक्षले दिनुपर्ने हुन्छ । यस दिन छोरीको विवाह गर्दा प्रतिबद्धता गरे अनुसारको बाँकी रहेका दाइजो पनि दिने चलन छ । यस दिन बेहुली पक्षबाट कम्तीमा पाँच जनादेखि ११ वा १५ जनासम्म भार लिएर आउने गर्छन् । क्षमता हुनेले सय वटासम्म र नहुनेले कम्तीमा ११ वटासम्म भार पठाउनुपर्ने हुन्छ ।
छोरीको विवाह भएर बिदाइ गर्ने बेलामा दिइने कोसेली झैँ कोजगरा पर्वमा पनि कोसेली दिने गरिन्छ । मिथिला संस्कृति अनुसार यसअघि मधुश्रावणीका दिन बेहुलाको घरबाट बेहुलीको घरमा भार पुर्याउनु पर्ने हुन्छ ।
जानकी मन्दिरमा कोजाग्रत पूर्णिमाको महोत्सव
कोजाग्रत पूर्णिमाका दिन जनकपुरधामको प्रसिद्ध धार्मिक स्थल जानकी मन्दिरमा विशेष महोत्सवको आयोजना गरिन्छ । यस अवसरमा महोत्तरी जिल्लाको रत्यौली निवासी स्व. महेन्द्र प्रसाद ठाकुरको घरबाट मन्दिरमा भार (कोसेली) आउने गर्दछ । भारका सामान लिएर भगवान् राम माता जानकीको चुमाओन गरिन्छ ।
त्यस्तै महोत्सवलाई अझ बढी आकर्षक बनाउनका लागि मन्दिरमा भजन कीर्तनको आयोजना गरिन्छ । प्रत्येक वर्ष उत्सवको बेला हास्य परिहास्यको कार्यक्रमको आयोजनासमेत हुने गरेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव बताउँछन् । उहाँका अनुसार मिथिलामा जसरी मिथिलानीहरुले आफ्नो ज्वाइँका लागि भार पठाउने गर्दछन् त्यसरी नै मन्दिरमा समेत भारमा मिथिलाको महत्पूर्ण परिकारहरू आउने गर्दछ । भारमा पान, मखन, लड्डु, खाजा, चामल, दाल तरकारी, भगवान् राम र माता जानकीको लत्ताकपडा आदि रहन्छ।स्व. ठाकुरको घरबाट परम्परागत रूपले काँधमा बोकी भार आउने गर्दछ । र यो परम्परा विगत एक सय १४ वर्षदेखि चल्दै आएको छ ।