• १३ मंसिर २०८१, बिहिबार

आशिष र नारायणको अन्त्येष्टि, आँशुमा डुब्यो गाउँ

blog

मृतक आशिष चौधरीको अन्त्यष्टिको तयारी । तस्विर : चाँदनी आचार्य

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), कात्तिक ६ गते । आज दसैंको नवौं दिन । विदेशमा भएका छोराछोरी घर आउने, परिवारसँग मिलन हुने पर्व हो दसैं । घरमा मिठो मसिनो पकाएर खुशी साटासाट गर्ने दिन । तर कैलालीको जोशीपुर गाउँपालिका ५ मैनापोखरी गाउँ र घोडाघोडी नगरपालिका ४ जनकपुर गाउँ भने आँशुमा डुबेको छ । 

टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्याम्पसबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका जोशीपुरका आशिष चौधरी र घोडाघोडीका नारायणप्रसाद न्यौपानेको आइतबार साँझ घरमा शव पुगेपछि उहाँको परिवारसँगै सिङ्गो गाउँ शोकमा डुबेको हो । 

छोराको मृत्युको खबरपछि अर्धचेत अवस्थामा रहनु भएका ७५ बर्षीय बुवा हरिकृष्ण न्यौपाने छोराको शव घरपुग्दा बेहोस हुनुभयो । विधिको विधान टारेर नटर्ने जसरी छोराको अन्तिम विदाइ गर्नुनै थियो हरिकृष्णलाई । सोमबार सदाका लागि छोराको भौतिक शरीरलाई कर्णाली चिसापानीमा विर्सजन गर्नुभयो ।  

चाडपर्वको समयमा सबैका छोरा घर फर्केर आउँछन् । तर नारायणको शव अष्टमीको साँझ घरमा पुग्दा गाउँ टोलभरी रुवावासी चलेको थियो । हिजोसम्म छोराको मृत्यु भएको हो भनेर विश्वास नगरेका बृद्ध वुवाआमालाई घरमै छोराको सडेर गन्हाउन लागिसकेको शव देखेपछि भने मृत्युलाई स्विकार्नु शिवाय अरु विकल्प भएन ।

आमा सीता रुँदै छोरालाई अँगालो हाल्दै भक्कानी रहनुभएको थियो । “पढेर केही गर्लास् भनेर पठाको थियौं । बाकसमा बन्द भएर आइस्नि छोरा, यस्तो हुन्छ भनेको भए त किन पठाउँथ्यो र” आमाले भक्कानिदै भन्नुभयो ।  

“नारायण पढाइमा सानैदेखि अब्बल थिए । सबै पीडा बिर्सेर अगाडि बढेको थियो, परिवारको खम्बा थियो, सानैदेखि परिवारलाई आँट भरोसा दिने सबैसँग मिलनसार थियो” छिमेकी यसोदा बमले भन्नुभयो, “परिवारको अवस्था सुधार गर्छु भनेर ढाड्स दिइरहने ऊ आज बाकसमा फर्किदाको स्थिति निकै दुःखदायी बनेको छ ।”

जोशीपुर ५ मैनपोखरीका आशिष चौधरीको गाउँमा समेत सन्नाटा छाएको छ । निम्न आर्थिक अवस्था भएका बेजुलाल डंगौरा र मन्जुदेवी डंगौरा छोरालाई इजरायल पठाएपछि छोरा पठाउँदा लागेको ऋण तिर्नका लागि मजदुरी गर्न भारत गएको एक महिना पनि भएको थिएन । 

उता इजरायल आक्रमणमा छोराको निधन भएको खबर गाउँभरी आफन्त सबैले थाहा पाइसकेका थिए । तर आशिषको बुवाआमालाई छोरा घाइते छ, घरमा ल्याउँदैछन् भन्दै घर बोलाइयो । मामा बिनोद चौधरीले दीदीलाई घाइते छ, भनेर घर बोलाएको जनाउँदै हिजो शव आउँदा मात्र मृत्यु भएको खबर दिएको बताउनुभयो ।

एक छोरा एक छोरी रहेको र छोरीको तीन बर्ष पहिले बिहे भैसकेको जनाउँदै दिदि भिनाजुलाई भान्जा आशिषको निधनले ठूलो आघात पुगेको बिनोदले बताउनुभयो । “गरिब परिवार, दुःख गरेर, ऋण गरेर छोरालाई कृषि विज्ञान पढ्न पठाउनुभएको थियो । मेरो दीदी भिनाजुको त सम्पति, साहारा जे भने पनि आशिष भान्जा नै थिए । जिवनको साहरा नै ढलेपछि अव कसरी सम्झाउने हो, म पनि सोच्न सकिरहेको छैन” विनोदले भक्कानिदै भन्नुभयो ।

बिनोदले राहतको नाममा सरकारले दश बाह्र लाख दिएर पन्छिनुभन्दा दीदी भिनाजुलाई रोजगारको व्यवस्था गरिदिन माग गर्नुभयो । उहाँले आर्थिक कमजोर भएको दीदी भिनाजुको बुढेसकालको साहरा पनि ढलेपछि सरकाले साहरा दिनुपर्ने बताउनुभयो ।

थारु समुदायले समेत दसैंलार्ई भब्यरुपमा मनाउँछन् । बलीदिने, देवी देउतालाई चढाउने पर्वको दिन हो तर आशिषको गाउँ आँशुमा डुबेको छ । सोमबार आशिषको अन्तिम दाहसंस्कार मैनपोखरी गाउँकै घैलानालामा थारु संस्कारअनुसार गरिएको मामा बिनोदले जानकारी दिनुभयो । नारायणको भने दिउँसो कर्णाली चिसापानी नदीमा अन्तिम दाहसंस्कार गरिएको छ । 

घोडाघोडी नगरपालिका वडा ४ का वडाअध्यक्ष भरतबहादुर शाहीले मृत्यु भएको दुई साताभन्दा बढी भैसकेको शव हिजो राति घरमा पुगेको जनाउँदै सोमबार दिउँसो अन्त्येष्टि गरिएको बताउनुभयो । शव गन्हाइसकेकाले धेरैबेर श्रद्धाञ्जलीका लागि पनि राख्न नसकिएको जनाउँदै वडाअध्यक्ष शाहीले न्यौपानेको निधनले वडा नै शोकमा डुबेको बताउनुभयो ।