• १२ साउन २०८१, शनिबार

दासाई नृत्यमा रमाउँदै अल्पसङ्ख्यक सन्थाल जाति

blog

दासाई नृत्यको अभ्यासका क्रममा नृत्य प्रस्तुत गर्दै सन्थालहरू । तस्बिर: हरिप्रसाद कोइराला

हरि कोइराला 

उर्लाबारी, कात्तिक ६ गते । मोरङ र झापामा बसोबास गर्ने अल्पसङ्ख्यक सन्थालहरू यति बेला परम्परागत जातीय नृत्य दासाईमा रमाइरहेका छन् । प्रकृतिपूजक सन्थालहरू आदिकालदेखि नै दसैँ र तिहारको बेला दासाई नृत्यमा रमाउने गर्छन् । विजयादशमीदेखि पूर्णिमासम्म उनीहरू आफ्नो गाउँ टोलमा दासाई नृत्य नाचेर दसैँ मनाउने गर्छन् । 

दसैँ र तिहारको समयमा गाउँ–गाउँमा लाग्ने मेलामा सन्थाल युवाहरूको दासाई नाच प्रमुख आकर्षण हुने गरेको छ । दसैँ मेलामा सन्थाल नाच छैन भने दसैँको मज्जा लिन सकिन्न, स्थानीय विजय धिमालले भन्नुभयो । दासाई मेलामा गैर सन्थालको पनि उत्तिकै सहभागिता हुने गरेकोले स्थानीयबिच जातीय सद्भाव बढ्दै गएको बताउनु हुन्छ – स्थानीय तेजन खड्का । 

उर्लाबारी ८ का गोरे हेमरनले भन्नुभयो– दासाई नाचले सन्थाल जातिको जातीय एवम् सांस्कृतिक पहिचान जोगाइराखेको छ । उहाँ भन्नुहुन्छ –‘ हाम्रो संस्कृति र परम्पराको जगेर्ना गर्न बल्ल सरकारी निकायले सानोतिनो सहयोग गर्न थालेको छ । आफ्नै, भाषा, चाडपर्व, धर्म, संस्कृति र पोसाक भएका सन्थालहरू धार्मिक एवम् सांस्कृतिक आक्रमणमा परिरहेका छन् । गोरे हेमरनले भन्नुभयो–गरिब भएकै कारण सन्थालहरू धर्म परिवर्तनको मारमा परेका छन् । सन्थालहरू दासाईको बेला मात्र होइन , सोराय र अरू पर्व मनाउँदा पनि एउटै भेषभूषामा सजिएर नृत्य प्रस्तुत गर्ने गर्छन् । 

सन्थालहरू अति विपन्न छन् । सधैँ अर्काको घर खेती गरेर जीविकोपार्जन गर्दै आएका अति लोपोन्मुख अवस्थामा पुगेका सन्थालहरू आदिमकालमा जङ्गली जनावरको सिकार गर्ने र खेती पेसामा संलग्न थिए । 

उर्लाबारी ९ का वैद्यनाथ सोरेनले भन्नुभयो – तराईको जमिनलाई खेतीयोग्य बनाउन र बस्ती बसाउन सन्थालहरूको महत्त्वपूर्ण योगदान छ । सोरेनका अनुसार सन्थालहरू २०३० को दशकसम्म जमिन्दार थिए । तर ,पहाडबाट बसाइसराइँ भएर आएका पहाडे समुदायलाई जग्गा बेच्दा बेच्दै हाम्रो समुदाय अहिले सुकुम्वासी बनिरहेको छ ।  शिक्षा र चेतनाको अभावमा पहिलेका जमिनदारहरू पनि अहिले सुकुम्वासी बनिसकेको वैद्यनाथले बताउनुभयो ।  

सन्थाल नृत्य आफ्नै जातीय भाषा, गाईजात्रे पहिरनमा प्रस्तुत हुने गर्छ ।  यो नृत्यमा नाच्नेहरू रङ्गीचङ्गी कमिज, धोती,शिरमा मयूरको प्वाँख र ऐना तथा झुम्काले बनाएको फेटा लगाई, जीउमा खाल खालका कल्ली बाँधेर बाजागाजाको साथ एउटै ताल, सुरमा सामूहिक रूपमा छुट्टाछुट्टै समूहमा नाँच्ने गर्छन् । यस नृत्यमा नाँच्नेहरू सबै पुरुष सन्थालहरू हुन्छन् भने उनीहरूलाई आकर्षित गर्न जोस थप्न महिलाहरू पनि उत्तिकै सक्रिय हुन्छन् । नृत्य मध्य अवस्थामा महिलाहरूले बेलाबेलामा भुजा फ्याँक्ने गर्दछन् भने नाचिरहेका सन्थालहरू आफूलाई बहादुर साबित गर्न बिना हात जमिनमाथि उडेका भुजा मुखमा हाल्ने प्रयास गर्छन् ।

नृत्यका क्रममा उनीहरू कालीको शक्ति आफूमा चढेको देखाउन कोर्रा, लट्ठीको सहजरूपमा सामना गर्ने गर्छन् ।  मट्टितेल मुखमा हाली आगोको लप्का निकाल्ने, माटोमा टाउको गाड्ने, मान्छे माथि मान्छे चढ्दै दुई, तीन तहको घेरा बनाई नृत्य गर्ने, सयौँ कोर्रा सहेर नृत्यमा आकर्षण थप्ने गर्छन् । त्यति बेला नाच्नेहरूमा  कालीको शक्ति चढेको हुनाले कोर्राको प्रहारबाट केही नहुने जेठा सन्थालको भनाइ छ । उहाँले भन्नुभयो – नाच्नेहरूले केही समय अघिदेखि अभ्यास गरेका हुन्छन् ।  नेपालको   पूर्वी तराईमा बसोबास गर्ने धिमाल, राजवंशी , ताजपुरिया जस्तै सन्थालहरू पुरानो जाति हो । तर सरकारले  सन्थालको शिक्षा र मानवीय विकासमा ध्यान नपुर्याउँदा उनीहरू आर्थिक रूपमा दिनानुदिन सङ्कटमा परिरहेका छन् । सन्थाल समाज उर्लाबारीका अध्यक्ष मुसुई हेमरमले भन्नुभयो – हाम्रा बालबालिकाले आफ्नो भाषा बिर्सिसकेँ । चाडपर्वको बारेमा ज्ञान छैन । धनुष वाण लिएर जङ्गलमा सिकार खेल्न जान सरकारले रोक लगाएको छ । अझ सामुदायिक वनको अवधारणा आएपछि जङ्गल छिर्नै पाइँदैन । उहाँले धनुषबाण हान्ने त यस्तै पर्वका बेला देखावटी मात्र भएको बताउनुभयो । 

खास गरी सन्थाल जाति जङ्गलमा धनुषबाण लिएर सिकार गर्ने, गिट्ठा भ्याकुर खोजेर खाने , पशुपालन  गर्ने र थोरै मात्र कृषि कर्म गर्ने छन् । तर, पछिल्लो समय आफ्ना परम्परागत रीतिरिवाज सबै लोप हुँदै गएकोमा उनीहरू चिन्तित छन् । उर्लाबारीका गाउँ प्रमुख (माझी हडाम) शिवराज किस्कुले आफ्नो हजुरबाले सुनाएको कुरा सम्झँदै भन्नुभयो – ११÷ १२ पुस्तादेखि हामीहरू यहीँ बसेका छौँ । तराईको झाडी फाँडेर बसेका थियौँ अरे । तर, अहिले उर्लाबारीका २ सय २५ परिवार मध्ये १२५ परिवारको जग्गा जमिन छैन । शिक्षा र सुझबुझको अभावमा पहाडबाट झर्ने अन्य समुदायलाई जग्गा बेच्दा बेच्दै उनीहरू सुकुम्वासी बनिसकेका छन् । कतिपय खोला किनारमा बस्छन् भने कतिपय आफ्नै बाबु, बराजुले बिक्री गरेको जग्गा अधियाँ ठेक्का गरेर दुःखले बसिरहेका छन् ।