• ३० वैशाख २०८२, मङ्गलबार

आमाबुवा बितेपछि चार छोराको बिचल्ली

blog

नवराज श्रेष्ठ

रामेछाप, कात्तिक ४ गते । रामेछापको मन्थली नगरपालिका–६, भलुवाजोरकी ४१ वर्षीया गीता बसेलले गत वर्षको दसैँको नवमीका दिन आत्महत्या गर्नुभयो । उहाँका श्रीमान् ४६ वर्षीय भक्तबहादुर बसेलको पनि श्रीमतीको निधन भएको एक वर्षपछि यही असोज १७ गते जन्डिस रोगबाट निधन भयो । उहाँहरूका चार छोरा अहिले  बिचल्लीमा परेका छन् । 

आमाको आत्महत्यापछि जसोतसो छोराहरूको संरक्षण र पठनपाठन गराउँदै आएका भक्तबहादुरको पनि मृत्यु भएपछि छोराहरूसंरक्षणविहीन बनेका छन् । १८ वर्षका लेखबहादुर, १६ वर्षका सञ्जीव, १२ वर्षका सरोज र आठ वर्षका सन्दीप बसेल अभिभावकविहीन बनेका हुन् । 

कच्ची घर र गोठ, घरमुनि अलिकति बारी रहेको यो परिवारको जीवनयापन नै कठिन बनेको छ । त्यही बारी पनि सहकारी संस्थामा राखेर आफन्तले ऋण झिकेका छन् । गीता बसेलले आत्महत्या गर्नुको कारण पनि सहकारी संस्थाको ऋण र आफ्नो बारी जाने अवस्थामा रहेको हुन सक्ने स्थानीयको अनुमान छ । बसेल दाजुभाइसँग ऋण चुक्ता गर्ने  र बारी फिर्ता ल्याउने कुनै उपाय छैन । 

लेखबहादुरले कक्षा ५ र सञ्जीवले कक्षा ७ सम्म पढेर छोड्नुभयो । साहिँलो र कान्छो भाइ कक्षा ५ र ३ मा पढ्दै छन् । 

बुवाआमा दुवै बितेपछि जेठो १८ वर्षीय लेखबहादुरको काँधमा अब तीन भाइलाई हुर्काउने, बढाउने र पढाउने जिम्मा आइपरेको छ । लेखबहादुरको इच्छा पनि भाइहरूलाई राम्रो शिक्षा दिने छ तर आफैँ के गरी जीवन अगाडि बढाउने भन्नेमा लेखबहादुर स्पष्ट हुनुहुन्न । “एक वर्षको फरकमा बाबा आमा दुवैले छाडेर जानुभयो । बुवाको किरिया पनि ऋण गरेर, सहयोग मागेर जसोतसो गरियो । अब यी भाइहरूको लालनपालन र पढाइ कसरी गर्ने भन्ने चिन्ता छ । यस्तो बेला कसैले सहयोग गरिदिए हुन्थ्यो भन्ने उहाँको चाहना छ,” उहाँले भन्नुभयो । भएका लुगाफाटा पनि बुवा बितेपछि फालेकाले अहिले ओढ्ने ओछ्याउने कपडासमेत नरहेको उहाँले बताउनुभयो । 

यी चार बालकका एक्ली हजुरआमा ९० वर्षीया काली सर्किनी छुट्टै घरमा बस्नुहुन्छ । ठुला बा र माहिला बा पहिल्यै भिन्न भएर बस्नुभएको छ । 

“भाइको  किरियाकर्म गरुन्जले गाउँले दाजुभाइ जम्मा भए । गाउँमा रहेको समूहले एकएक सय रुपियाँ चन्दा उठाएको छ । स्थानीय समाजसेवीले केही सहयोग पनि गरेका छन्,” चार भाइका माइलो बुवा जोठे सार्कीले भन्नुभयो । 

अलि हुर्किएका दुई भाइ श्रम गरेरै भने पनि ज्यान पाल्नसक्ने भए पनि साना दुई भाइको भने अवस्था बिजोग रहेको स्थानीय समाजसेवी शङ्कर थापाले बताउनुभयो । “यति बेला  यिनीहरूको जीवन चलाउने आधार नै छैन । उनीहरूलाई कुनै संरक्षण केन्द्रले लगेर शिक्षादीक्षाको व्यवस्था मिलाइदिए जीवन बन्ने थियो,” उहाँले भन्नुभयो । 

बुवाआमा दुवै गुमाएर बिचल्लीमा परेका चार बालकलाई मन्थली नगरपालिकाले आवश्यकताका आधारमा तत्कालका लागि खाद्यान्न र आर्थिक व्यवस्था गरेको मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले बताउनुभयो । “पीडामा रहेको यो परिवारलाई नगरपालिकाले तत्कालका लागि खाद्यान्न र नगदको पनि व्यवस्था गरेको छ । अब ती बालकको शिक्षादीक्षाका लागि नगरपालिकाले आवश्यक पहल र सहयोग गर्छ,” उहाँले भन्नुभयो ।