• १७ असार २०८१, सोमबार

दसैँको किनमेल गर्नेको भिड

blog

काठमाडौँ, कात्तिक ४ गते । काठमाडौँको नयाँ सडक र आसपासका क्षेत्रमा दसैँको किनमेल गर्नेको भिड अझै घटेको छैन । नयाँ सडकका गल्लीसँगै असन, इन्द्रचोक, भोटाहिटी क्षेत्रमा कपडा, मरमसलालगायतका सरसामान किनमेल गर्नेको घुइँचो बढेको छ । 

एक सातायता नयाँ सडक, असन, रत्नपार्क भोटाहिटी, जमल, सुन्धारा क्षेत्रमा दसैँ किनमेल गर्नेको भिड छ । फूलपातीको अघिल्लो दिन भएकाले पनि शुक्रबार निकै भिड देखिन्थ्यो । बजारमा भिडभाडका कारण किनमेल गर्नेलाई सडक वारपार गर्न धौधौ भएको थियो । 

शुक्रबारसम्म सरकारी तथा निजी कार्यालय खुला रहेकाले भिड बिहानैदेखि उच्च रह्यो । दसैँका लागि किनमेल गर्न कीर्तिपुरबाट आउनुभएकी समिता महर्जनले सडकमा सवारीसाधन बढ्दा बजारमा खुट्टा टेक्ने ठाउँसमेत नपाएको बताउनुभयो । उहाँले भन्नुभयो, “यति भिड हुन्छ भन्ने थाहा पाएको भए एक्लै आउँथेँ । भिडका कारण राम्ररी किनमेल गर्न पनि सकिएन ।”

गोलढुङ्गाकी सावित्रा खत्रीलाई पनि सामान बोकेर माइक्रोबससम्म पुग्न हम्मेहम्मे प¥यो । उहाँले भन्नुभयो, “बाटै छैन । यता र उता दुवैतिरबाट धकेल्छन् । कसरी घर पुग्नु ? बजारमा राम्ररी किनमेल गर्न पनि पाइएन ।” 

काठमाडौँ महानगरपालिकाले सडक र बजारमा भिड व्यवस्थापन गर्न एकतर्फी रुट कायम गरेको जनाएको छ । महानगरका प्रवक्ता नवीन मानन्धरले बजारमा भिड व्यवस्थापनका लागि नयाँ सडक, असन, जमल, क्षेत्रपाटीलगायतका स्थानबाट भित्र सवारी आवागमन प्रवेश गर्न नदिइएको बताउनुभयो ।