• ६ जेठ २०८१, आइतबार

गाउँमा सुनको कारोबार बढ्दै

blog

हुम्लाका गाउँमा सञ्चालनमा आएको सुन पसल । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, कात्तिक २ गते । हिमाली जिल्ला हुम्लाका गाउँमा सुन पसलहरु सञ्चालनमा आएका छन् । सङ्घीयता कार्यान्वयन आएसँगै आर्थिक कारोबार गाउँमा हुन थालेपछि सुन व्यापारीहरु सुन पसल स्थापना गर्दै ब्यापर गर्न थालेका हुन् ।

सुर्खेतबाट सुन व्यापार गर्न आउनुभएका कमल सुनचाँदी पसलका सुन व्यापारी कमलबहादुर सुनारले सङ्घीयता कार्यान्वयनमा आएपछि सहरभन्दा गाउँमा पनि सुनको व्यापार हुन थालेपछि हुम्ला आएर सुन पसल सञ्चालन गर्न थालेको बताउनुभयो । उहाँले गाउँपालिका स्तरमा बैंक स्थापना भएर आर्थिक कारोबार हुन थालेपछि गाउँमा सुन पसल सञ्चालन गर्ने होडबाजी चलेको बताउनुभयो । उहाँले दैनिक दुई–चार तोला सुन र दस तोलाभन्दा बढी चाँदी बिक्री हुनेगरेको बताउनुभयो । 

उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष रामबहादुर भण्डारीले जिल्लामा सुनको गहना किन्ने सङ्ख्या वृद्धि भएको बताउनुभयो । उहाँले सदरमुकाम सिमकोटमा मात्र नभएर सातवटै गाउँपालिका केन्द्रमा सुन पसल स्थापना भएर कारोबार हुन थालेको बताउनुभयो । यसअघि जिल्लावासीले सुनका गहना किन्नु परे सदरमुकाम सिमकोट आउनुपर्ने वा जिल्ला बाहिर गएका बेला किन्ने गर्दै आएको उहाँले बताउनुभयो । 

जसले गर्दा ग्राहकले सुनका गहना किन्न अतिरिक्त खर्च गर्नुपर्ने अवस्था थियो । उहाँले गाउँमा सुनका पसलहरु स्थापना भएपछि ग्राहकलाई समेत सहज भएको बताउनुभयो । सदरमुकाम सिमकोटमा मात्र सङ्घीयता कार्यान्वयनअघि दुईवटा सुन पसल भएकोमा हाल त्यो सङ्ख्या दस पुगेको छ । त्यसैगरी खार्पुनाथ गाउँपालिका केन्द्र याङ्चु बजारमा दुईवटा, सर्केगार्ड गाउँपालिका केन्द्र सर्केगार्डमा पाँचवटा, चङ्खेली गाउँपालिका केन्द्र पिप्लाङमा दुईवटा, अदानचुली गाउँपालिका केन्द्र श्रीनगरमा तीनवटा र ताँजाकोट गाउँपालिका केन्द्र छप्रोलामा दुईवटा सुन पसल सञ्चालनमा छन् ।