• २ असार २०८१, आइतबार

अर्थतन्त्रलाई त्राण

blog

रोपेको मानो मुरीका रूपमा भित्र्याएर उपभोगको औपचारिक सुरुवात गर्ने एउटा पौराणिक पर्व दसैँले परिवार जुटाउँछ । नयाँ नाना र मिठो खानाको मान्यता परिष्कृत हुँदै घुमफिर, आवास, उपकरण तथा सवारीसाधन जस्ता जीविकादेखि सोख पूरा गर्ने साइत पनि दसैँ बन्छ । उपभोगको सघनताले उत्पादनको शृङ्खलामा आबद्ध उत्पादक श्रमिकलगायत समग्र संरचनालाई त्राण दिने र पुनः उत्पादनमा लाग्ने गरी पुनर्ताजगी गर्नु दसैँको अदृश्य तर अहम् विशेषता बनेको छ । 

आर्जनका लागि घर छाडेका आफन्त गाउँ फिर्ने, फिर्दै गर्दा परिवारका आवश्यकताका सामग्रीदेखि मनोरञ्जनका सामग्रीसमेत घरमा ल्याउने ‘लाहुरे’ संस्कृति ग्रामीण मानसपटलमा बसेको तस्बिर पनि हो । घरभित्र भित्रिने अन्नपात र श्रम तथा व्यवसायले सिर्जना गरेको आय गाउँसम्म पुग्ने र गाउँलाई गुल्जार गराउनेमा पनि दसैँको योगदान रहन्छ । आकलन अनुसार दसैँका समयमा हुने खर्चको ८० प्रतिशत हिस्सा उपभोगमै खर्च हुन्छ । नेपालीको कुल वार्षिक आयको ७५ प्रतिशत खर्च उपभोगमा हुन्छ र त्यसमध्ये ५० प्रतिशत खर्च दसैँ र तिहारमा हुन्छ भने खाद्यवस्तुको व्यापार ३० प्रतिशतले बढ्छ । वार्षिक कुल उपभोगको एक तिहाइ हिस्सा यही समयमै हुने आकलन अर्थ विश्लेषकको रहँदै आएको छ ।

उपभोग र सुखानुभूतिका लागि गरिने खर्चले वास्तवमा श्रम, मेहनत र आर्जनको अर्थ निकालिरहेको हुन्छ । कमाउनुको एउटा सुखानुभूति दसैँले हरेक व्यक्तिलाई प्रवाह गरिरहेको हुन्छ । यही खर्चका लागि श्रम गर्ने, उद्यम गर्ने, आर्जन गर्ने र बचतसमेत गर्दै जाने प्रवृत्तिले वास्तवमै मुलुकको अर्थतन्त्रलाई स्थिर बनाउने र चलायमान बनाउन मद्दत गरिरहेको हुन्छ । 

यसर्थ दसैँलाई सांस्कृतिक पर्वका रूपमा मात्र व्याख्या गर्दा एकाङ्की विश्लेषण हुन आउँछ । यसैले त समग्र मानव अस्तित्वलाई प्रतिष्ठायुक्त र सम्मानित बनाउने विश्वव्यापी मानव अधिकारको सूचीमा सांस्कृतिक अधिकारसँगै आर्थिक अधिकार पनि जोडिएको हुन्छ । मानव अधिकारको महत्वपूर्ण पक्ष आर्थिक अधिकार पनि हो । दसैँ आर्थिक अधिकार सदुपयोगको अवसर पनि हो । दसैँको परिवेशमा हामीले वर्तमान नेपालको अर्थतन्त्र र यसका अवयवलाई केलाउँदा भने केही चुनौती, केही डर र सँगै केही अवसरका चित्र देखा पर्छन् । 

अर्थचक्रको गति

देशको अर्थतन्त्रलाई थप चलायमान गराउन विशेष समय र अवसर आवश्यक हुन्छ ।  दसैँले मुलुकमा मुद्रा प्रवाहको गति बढाउँछ । सामान्य अवस्थामा खर्च प्रवर्धन हुनु भनेको विनिमयमा व्यापकता आउनु हो । यो विनिमयको व्यापकताले उत्पादनको शृङ्खलालाई नै प्रवर्धन गरिरहेको हुन्छ । 

कतिपयको मत पछिल्लो समय दसैँमा अनावश्यक खर्च गर्ने अनुत्पादक क्षेत्रमा खर्च गर्ने प्रवृत्ति बढेको भन्दै आलोचना पनि गरेको देखिन्छ । मोबाइल, सवारीसाधन, सौन्दर्य प्रसाधन, कपडा, गरगहना, मासु, मदिरामा खर्चनुलाई अनुत्पादक भनेर अथ्र्याइएको हुन्छ तर बुझ्नुपर्ने कुरा के हो भने यी हरेक खर्चले व्यक्तिमा दिने सन्तोषले उसले वर्षभर पसिना बगाएर उत्पादनशील बनाउन उत्प्रेरित गरेको हुन्छ । 

दसैँ यस्तो विश्रामको अवसर हो जहाँ मुद्राप्रदायकको गतिशील फन्कोले अवरोधलाई समेत निर्मूल गरिदिएको हुन्छ । सजिलै बुझ्न पर्दा वर्षभरमा दसैँमा अधिक पैसा खेलाउने अवसर प्रत्येक व्यक्तिले पाउँछ । पैसा जुटाउँछ र जुटेको पैसालाई सामथ्र्यले थेग्ने गरी सर्सर्ती खर्चन्छ । यसलाई ऋणले होइन कमाइले थेग्ने हो । प्रतिस्पर्धा होइन खुसीका लागि खर्चने हो । खर्च भए मात्र नयाँ पुँजी निर्माण हुन्छ । तलब, व्यवसाय तथा अन्य स्रोतमार्फत व्यक्तिको हातमा धेरै रकम पर्ने र खर्च पनि धेरै यही समयमा हुने भएकाले समग्र आर्थिक चलायमान दसैँका अवसरमा हुन्छ । पछिल्ला वर्ष नेपाल राष्ट्र बैङ्कले दसैँतिहारको कारोबारको सघनता व्यवस्थापन गर्ने गरी करिब ६० अर्ब रुपियाँ थप मुद्रा प्रवाह गर्ने गरेको देखिन्छ तर पछिल्लो एक वर्षमा भएको  डिजिटल कारोबारको छलाङले मुद्रा प्रयोग भने घट्दै गएको देखिन्छ ।


व्यवसाय टिकाउने, उधारो उठाउने 

दसैँकै कारण उपभोगमा आउने विस्तारले वर्तमान अर्थतन्त्रले झेलेको प्रधान समस्या मागमा आएको सङ्कुचनलाई एक पटक झकझकाउँदै छ । कोभिड महामारीदेखि विश्वमै देखिएको आर्थिक शिथिलता र देशभित्रकै मौद्रिक नीतिले अप्रत्यक्ष रूपमा मागमा कटौतीमार्पmत मूल्यवृद्धि नियन्त्रण गर्ने विधिका कारण नेपालीले धेरै किन्नै सकेनन् । नेपाल उद्योग परिसङ्घको एक अध्ययनलाई मान्ने हो भने वस्तु तथा सेवाको प्रकृति अनुसार ४० देखि ८० प्रतिशतसम्म मागमा सङ्कुचन आएको छ ।

यसकै कारण व्यवसायका हिसाबले अत्यन्तै सघन क्षेत्र मानिने राजधानीका न्युरोड, महाबौद्ध जस्ता क्षेत्रका व्यवसायीसमेत पलायन हुने अवस्था आयो । एकातिर चर्को ब्याजदर र अर्कातिर व्यवसायमा आएको सङ्कुचनलाई व्यवस्थापन गर्न उद्योगी व्यवसायीले ठुलो चुनौती सामान गर्दै आएका हुन् तर दसैँको चहलपहलले व्यवसायमा आएको मन्दी र पलायनको सन्त्रासलाई केही भरथेग भने गर्ने देखिन्छ ।

खास गरी मध्यमस्तरका व्यवसायी दसैँलाई विगतमा उठ्न नसकेको उधारो असुलीको अवसर पनि मानेका छन् । व्यापार चव्रmमा उधारो नउठ्ने समस्याले धेरै व्यवसायी न त व्यवसाय गर्ने न त छोड्न सक्ने दोधारको अवस्थामा थिए । कोभिड महामारीभन्दा पहिलेको अवस्थामा नभए पनि दसैँको चहलपहल सुरु भएसँगै व्यावसायिक क्षेत्रले दुई वटा मनोबल भने बढाउन सकेको देखिन्छ । पहिलो कुरा धेरै पहिलेदेखि जम्दै आएको उधारो असुली हुने छ र दोस्रो अहिलेको व्यवसायबाट सिर्जना भएको नाफाले आगामी केही महिनाका लागि व्यवसाय निरन्तरताका लागि आँट पनि दिएको छ । २०८० को दसैँ व्यवसायीका लागि खस्केको मनोबल केही बढाउने अवसर पनि बनेको छ र उपभोग्य वस्तु र लत्ताकपडाका व्यवसायीलाई यस वर्षको दसैँमा धेरै ठुलो लाभको अपेक्षा पनि छैन ।

माग खस्कनुपछिको महत्वपूर्ण कारण सक्रिय युवाको विदेश गमन पनि हो । उपभोगमा अत्यन्तै उत्साही हुने युवा उमेर हो तर पछिल्लो दुई वर्षमा करिब १६ लाख युवा श्रम तथा अध्ययनका लागि बिदेसिएका छन् । यस कारण उच्च व्यवसायको आकाङ्क्षा व्यवसायी आफैँले पनि राखेको देखिँदैन । दरबारमार्ग, न्युरोड जस्ता अन्तर्राष्ट्रिय ब्रान्डेड सामान बिक्री हुने पसलमा पनि ग्राहक उपस्थिति पातलो छ । 

पर्वका कारण हुने आवागमनको उच्च चापका कारण यातायात व्यवसायीले पनि जेनतेन टिकाउँदै आएको व्यवसायमा केही आर्थिक सहजता प्राप्त हुने अपेक्षा गरेका छन् । यद्यपि पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिले यस्ता व्यवसायीको नाफा पनि खस्किएकै छ । हवाई उडानतर्फ भने बुकिङ उत्साहजनक नै देखिन्छ । दसैँका लागि करिब ८० प्रतिशत टिकट घटस्थापनापहिले नै बुकिङ भइसकेका छन् । 

उत्साहको सङ्केत अटो बजार

दसैँलक्षित बिक्रीका लागि यस वर्ष चार वर्षको अन्तरालमा राजधानीमा बृहत् अटो सोको आयोजना भयो । करिब ७५ हजार अवलोकनकर्ताको आगमन, उनीहरूको चासो र बुकिङको अवस्था हेर्दा अटो व्यवसायलाई मन्दीले ठुलो प्रभाव परेको छैन भन्ने प्रस्ट पार्छ । आयोजक नाडा अटोमोबाइल एसोसिएसनका अनुसार उक्त सो मा मात्रै करिब एक हजार सवारीसाधन बुकिङ भए । अटो सोले करिब २० अर्बको कारोबार सिर्जना भएको उनीहरूको आकलन छ । अझ विशेष आकर्षण त विद्युतीय सवारीसाधनका स्टलमा देखिएको थियो । 

खर्च र आयका स्रोत 

उपभोग केन्द्रित खर्चका लागि दसैँमा हुने आय भनेको मूलतः श्रमिक कर्मचारी वर्गका लागि गरिएको चाडपर्व भत्ताबापत आउने एक महिना बराबरको अतिरिक्त तलब हो । राज्य कोषबाट तलब लिने कर्मचारी वर्गका लागि मात्र सरकारको २१ अर्ब रुपियाँ यही प्रयोजनका लागि निकासा भएको छ ।

तर दुःखद अवस्था के पनि छ भने कोभिड महामारीसँगै थलिँदै आएको निजी क्षेत्र अहिले आफैँ अस्वस्थ अवस्थामा छ र त्यो अवस्थाकै कारण कतिपय निजी प्रतिष्ठानले यस्तो रकमसमेत उपलब्ध गराउन नसकेको देखिन्छ । यद्यपि समस्यामै रहेका केही प्रतिष्ठानले महिनौँदेखि दिन नसकेको तलब भने भुक्तान गर्ने भएकाले केही राहत रोजगार वर्गलाई छ । 

निजी क्षेत्र सङ्कुचित हुँदाका असरस्वरूप धेरै रोजगारी गुमेको छ । स्वदेशमा रोजगारी गुमेका केही युवा बिदेसिए पनि देशभित्र रहेका युवा भने दसैँमा पनि खाली हात रहेको अवस्था छ । साना उद्यम स्वरोजगारीमा देखिएको मन्दीको प्रभावले धेरै स्वावलम्बी युवा भने सङ्कुचित अवस्थामै दसैँ गुजार्नुपर्ने बाध्यतामा पनि छन् । 

सार्वजनिक वित्तमा देखिएको मन्दीले नयाँ रोजगारी सिर्जना गर्न सकेको छैन । राजस्व सङ्कलन नै चुनौतीपूर्ण रहेको अवस्थाका कारण पुँजीगत खर्च शिथिलप्रायः छ । यो शिथिलताले विकास निर्माण अवरुद्ध छ । यसबाट मजदुरीदेखि इन्जिनियरिङसम्मका श्रमिकको आय सङ्कुचित भएको छ । यसको असर दसैँमा देखिन्छ नै । 

विप्रेषणसँग प्रतिस्पर्धा  

नेपालको अर्थतन्त्रको चरित्र अहिले विपे्रषण प्रधान भइसकेको छ । आन्तरिक उत्पादनमा हुँदै गएको क्षयीकरणलाई बिदेसिएका युवाको जमातले पठाउने विप्रेषणले दसैँलाई पनि चलायमान बनाउने गर्छ । आन्तरिक रोजगार तथा श्रमिकको आय र विदेशमा रहेका युवाको आयस्तरमा ठुलो असमानता छ । दसैँको चहलपहल विपे्रषणको रकमले प्रधानता पाउँदा मुलुकभित्रको औसत कमाइले भने चुनौती भोगिरहेको छ । विपे्रषणले बढ्दो मूल्य वृद्धिको ग्राफलाई जुन सहजताका साथ सामना गर्न सक्छ देशभित्रको आर्जनका लागि भने चुनौतीपूर्ण बन्दै गएको छ । समाजमा स्पष्ट बोध हुने यस्तै फरकपनकै कारण देशभित्र अवसरको सिला टिप्नुभन्दा युवा बिदेसिनै चटारिएको छ । 

आयातलाई मलजल

उत्पादनलाई उपभोगमा जोड्ने दसैँको निराशाजनक पक्ष आयात प्रवर्धन हो । नेपाली परिवेशमा अब घरको मानो, स्थानीय उत्पादन वा देशभित्रकै वस्तुले दसैँ टर्दैन । थानका कपडा, मटितेलको उज्यालो, खसीको मासुको जोहो जस्ता पुरातनस्तरको आपूर्तिले पुग्दैन । तयारी ब्रान्डेड पोसाक, चिनियाँ तथा भारतीय फलफूल, रेस्टुराँका फरक फरक परिकार, मदिरा, मोबाइल, ग्याजेट्सदेखि सवारीसाधनसम्म अहिले दसैँको छेकोमा जोहो गर्ने प्रयास हुन्छ । मानव विकास र सुविधाका हिसाबले यो रूपान्तरण आवश्यक पनि हो तर हामी उत्पादन गर्ने हैसियतमा छैनौँ । हामी स्थानीय चामलभन्दा आयातित लङ्ग्रेनको आकाङ्क्षा राख्ने भएका छौँ । ग्याजेट्स सवारीसाधन त स्वदेशमा उत्पादन हुने कुरै भएन । यसले आयात नै बढाउने हो तर मुलुकमा गत आर्थिक वर्षमा मात्र १४ खर्बको आयात भयो । देशभित्रको उत्पादन क्षमता खुम्चँदै जाने र विपे्रषणको सजिलो पैसाले आयात गर्ने राष्ट्रिय लतले व्यापार घाटा कुल गार्हस्थ उत्पादनको अनुपातमा ३८.१ पुगेको छ । 

यो वर्षको दसैँलक्षित आयात भने केही कमजोर देखिएको छ । व्यापारमा रहँदै आएको सुस्तता तथा अर्थतन्त्रको मन्दीको असरस्वरूप आक्रामक बजार विस्तार हुन सम्भव नदेखेरै आयातकर्ताले लगानी गर्न चाहेनन् अर्थात् आयातमा खासै चासो दिएनन् । यसैको प्रभाव हुनु पर्छ गत वर्ष मदिरा, सवारीसाधन जस्ता वस्तुको आयात प्रतिबन्ध रहेको अवस्थामा भन्दा पनि गत भदौको आयात न्यून छ । २०७९ को भदौमा मात्रै एक खर्ब ५७ अर्ब रुपियाँको वस्तु आयात थियो तर २०८० को भदौमा एक खर्ब ३० अर्बमा सीमित हुनुले माग सङ्कुचनको असर आयातसम्म परेको छ । 

महँगीको मार

चाडपर्वको छेको पारेर अत्यावश्यकीय वस्तुमा समेत उच्च मूल्य वृद्धि हुन्छ । यो वर्ष चिनी महँगो मात्र होइन पाउन मुस्किल छ । गत वर्ष असोजमा ९० रुपियाँ प्रतिकेजी पर्ने चिनी अहिले प्रतिकेजी १५० रुपियाँसम्म पुगेको छ ।  जिरा गत वर्षभन्दा तीन गुणा महँगो भएर एक हजार दुई सय रुपियाँ केजीसम्म पुगेको छ । चामल त्यस्तै महँगो छ । वाणिज्य विभागको बजार अनुगमन, सरकारी सुपथ मूल्यका पसलहरू बजारको अचाक्ली मूल्य वृद्धिलाई नियन्त्रण गर्ने क्षमता नै राख्दैनन् । प्रतिनिधिमूलक गतिविधि गर्नमै मात्र यस्ता निकाय सीमित छन् । आमसमुदायको भान्सा महँगिँदा दसैँमा हुन सक्ने अतिरिक्त बचत र त्यसबाट हुने सम्भावित लगानी प्रभावित भएको छ । राष्ट्र बैङ्कले ७.५२ प्रतिशतको मुद्रास्फीति रहेको बताइरहँदा भान्साको चाप भने पेचिलो छ । 

घुमफिरको प्रवृत्ति 

कामकाजी युवामाझ दसैँ बिदाको छेकोमा घुमफिरको प्रचलन भने बढ्दो छ । मौसमी अनुकूलता र लामो बिदाको सदुपयोग ट्रेकिङमा जाने ट्रेन्ड बढ्दो छ । यो प्रवृत्तिले आन्तरिक पर्यटनको प्रचुर सम्भावनालाई उपयोगमा ल्याउने देखिन्छ । सहरको कोलाहल छाडेर डोल्पा, मनाङ, मुस्ताङ तथा राराजस्ता क्षेत्रको भ्रमणमा यति बेला युवा स्वतःस्फूर्त पुगिरहेका छन् । यसले ती ग्रामीण इलाकामा आर्थिक गतिविधि त बढाउने नै छ । अछामको रामारोसन जस्ता आकर्षक ठाउँमा पनि पर्यटकीय चहलपहल बढेको पाइएको छ ।

व्यक्तिगत रूपमा जाने मात्र नभई ट्राभल एजेन्सीमार्फत विभिन्न गन्तव्यमा अहिले नेपाली युवा पुगेका छन् । अन्य क्षेत्रले भन्दा धेरै रिभाइभ गरेको क्षेत्र पनि पर्यटन नै हो । ट्राभल एजेन्सी सञ्चालकहरू आन्तरिक पर्यटनको अवस्था कोभिड पहिलेभन्दा अझ राम्रोमा पुगेको बताउँछन् । सौराहा, कालिन्चोक, बन्दीपुर, पोखरा, जनकपुर जस्ता गन्तव्यमा छोटो योजनामै नेपाली पुग्ने गरेका छन् । 

अर्थतन्त्र निश्चित शास्त्रको एकीकृत प्रभाव मात्र होइन यो त दैनिक जीवन व्यवस्थापनको वातावरण हो । यस्तो वातावरण निर्माण एकल पक्षको विशेष योगदानले मात्र सम्भव हुँदैन । नेपाली अर्थतन्त्रमा देखिएका विद्यमान समस्या पनि एकल कारणले सिर्जना भएको पनि होइन र निराकरण पनि एकल प्रयासमा सम्भव छैन । कोभिड महामारी, रुस–युक्रेन युद्धको असर झेल्दै जाँदा अर्थतन्त्र जटिलता उन्मुख रहेको तथ्याङ्कहरूले सङ्केत गर्दै आएका छन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको उपजस्वरूप देखा परेको आर्थिक शिथिलताको निवारण नवदुर्गा भवानीले असुरको वध गरेजस्तै निदान हुने त होइन तर यो जमेको तलाउमा ढुङ्गा फालेर लेउ पन्छाउने त्राण र सुधार प्रयासलाई थप गतिशील बनाउने प्रस्थानबिन्दु भने बन्न सक्छ ।