• १९ असार २०८१, बुधबार

तेस्रो नवलपुर बालिका सम्मेलन हुँदै

blog

मध्यविन्दु (नवलपरासी), असोज ३० गते । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिकामा तेस्रो नवलपुर बालिका सम्मेलन सुरु हुँदैछ । ‘बालिकामा लगानी सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ तेस्रो नवलपुर बालिका सम्मेलन-२०८० आयोजना गरिएको हो ।

बालिका तथा किशोरीहरूको समग्र विकासमा स्थानीय सरकार र सामाजिक क्षेत्रमा कार्यरत सङ्घसंस्थालाई उनीहरूको भूमिका तथा दायित्व बोध गराउन सम्मेलन आयोजना गरिएको नवलपुर किशोरी सञ्जालका अध्यक्ष विद्या ढुङ्गानाले बताउनुभयो । “नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरसहित चितवन, रुपन्देही र कपिलवस्तुका किशोरी एवम् सरोकारवाला एकै स्थानमा बसी किशोरीका सवाल, राम्रा अभ्यास, सुझावहरूको सङ्कलन र छलफल गर्ने उद्देश्यले सम्मेलन आयोजना गरेका हौँ”, उहाँले भन्नुभयो ।

नेपालका बालिकालाई सक्षम बनाउने उद्देश्यमा योगदान पुर्‍याउन सम्मेलनमा स्थानीय तह, जिल्ला, प्रदेश र राष्ट्रियस्तरको बहुक्षेत्रीय सरोकारवालाबिच छलफल चलाइने भएको छ । सम्मेलनमा जिल्लाका आठै स्थानीय तहबाट १० देखि माथि र १९ वर्ष उमेरमुनिका बालिका तथा किशोरी प्रतिनिधिहरूको सहभागितामा विषयगत छलफल सञ्चालन गरिने अध्यक्ष ढुङ्गानाले बताउनुभयो । “बालिकामा यौन तथा प्रजनन स्वास्थ्यको अधिकारको अवस्था के छ, उनीहरूले के चुनौती भोगिरहेका छन्, बालिकाका लागि प्रदेश र स्थानीय सरकारले के काम गरिरहेको छ भनेर सम्मेलनमा छलफल गर्ने छौँ”, उहाँले भन्नुभयो ।

सन् २०३० सम्ममा बालविवाहको अन्त्य जस्तो महत्त्वपूर्ण राष्ट्रिय दिगो विकास लक्ष्य र अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्दै नेपालको बालिकालाई सक्षम बनाउने उद्देश्यमा योगदान गर्न सम्मेलन आयोजना गरिएको जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दीपक शर्माले बताउनुभयो । “सन् २०३० सम्ममा बालविवाहको अन्त्य गर्ने दिगो विकासको लक्ष्य छ, तर अहिलेको अवस्थाले त्यो सम्भव छैन”, उहाँले भन्नुभयो, “त्यसका लागि प्रभावकारी रणनीति र घोषणापत्र बनाउन यो सम्मेलन जुट्ने छ ।”

नवलपुर किशोरी सञ्जाल र जागृति बाल तथा युवा सरोकार नेपालले आयोजना गरेको सम्मेलनमा जिल्लाका आठ वटै स्थानीय तहसहित विभिन्न सरोकारवाला संघसंस्थाहरुले सहकार्य गरेका छन् । नवलपरासी ९बर्दघाट सुस्तापूर्व०मा प्रथम बालिका सम्मेलन वि.सं. २०७३ र दोस्रो बालिका सम्मेलन २०७४ मा आयोजना गरिएको थियो । रासस