• १२ साउन २०८१, शनिबार

सत्यको खोज कृति लोकार्पण

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असोज ३० गते । साहित्यकार जितेन्द्र रसिकद्वारा लिखित वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको जीवनी सत्यको खोज सार्वजनिक भएको छ । जनकवि दुर्गालाल श्रेष्ठले कृति लोकार्पण  गर्नुभयो । 

एजुकेस्नल पब्लिसिङ  हाउस कान्तिपथमा आयोजित कार्यक्रममा लेखक रसिकले वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको बारे जति लेखे पनि कहिल्यै नसकिने बताउनुभयो । जोशी नेपाली लोकसाहित्य र संस्कृतिमा यो युगकै एउटा ननिभ्ने ज्योति भएको बताउनुभयो । रसिकको यो १५ ओैं कृति हो । रसिकको यसअघि उपन्यास लज्जावती, गजल सङ्ग्रह काफिया र हृदयस्पर्शी छालहरू, त्यसैगरी अलकापुरी भक्तपुर, सर्वरत्न, तारापुञ्ज, पब्लिक स्पिकिङ, बेलबहादुरको बिहे, एलियनको पृथ्वीभ्रमण, गुलेली, एङ्ग्री बर्ड, हावा फल्ने रूख लगायत १४ कृति प्रकाशित छन् ।

लोकार्पण कार्यक्रममा सत्यको खोज कृतिको समीक्षा गर्दै समिक्षक गोपीकृष्ण ढुंगानाले सत्यको खोज वाङ्मय शताब्दीपुरूष सत्यमोहन जोशीको गहिराईमा पसेर लेखिएको महत्वपूर्ण दस्तावेज भएको बताउनुभयो । उहाँले सत्यको खोजको हरेक च्याप्टर एक गहिरो अनुसन्धानमुलक कृति भएको बताउनुभयो । वाङ्मयपुरूष जोशीपुत्र अणुराज जोशीले सत्यको खोजभित्र सत्यमोहन जोशीको इतिवृतान्त समावेश रहेको र लेखक रसिकको लेखनशैली आकर्षक भएकाले पाठकले कृति रूचाउने बताउनुभयो ।  

कार्यक्रम तीनवटै पुस्तकका प्रकाशक एजुकेस्नल पब्लिसिङ हाउसले आयोजना गरेको हो । कार्यक्रम गायक तथा पत्रकार कपिल कसपालले सञ्चालन गर्नु भएको थियो । साहित्यकार जितेन्द्र रसिकद्वारा लिखित वाङ्मय शताब्दी पुरूष सत्यमोहनजोशीको जीवनी सत्यको खोजको मूल्य ५५५ रहेको छ ।