• ६ जेठ २०८१, आइतबार

मैत्रीपूर्ण फुटबलमा कर्मचारीको टिम विजयी

blog

मुसीकोट नगरपालिका–४ बोहरागाउँमा भएको मैत्रीपूर्ण फुटबल प्रतियोगिता । तस्बिर : राजु लामिछाने

राजु लामिछाने
रुकुमपश्चिम, असोज २९ गते । 
रुकुमपश्चिममा भएको पत्रकार, कर्मचारी र सुरक्षाकर्मीबिचमा भएको त्रिपक्षीय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा कर्मचारीको टिमले जित हासिल गरेको छ ।

नेपाल पत्रकार महासङ्घ रुकुमपश्चिमले विजयादशमी तथा शुभ दीपावलीको अवसरमा आयोजना गरेको मैत्रीपूर्ण फुटबल प्रतियोगिता कर्मचारीको टिम विजयी भएको हो । विजेता टिमले खसी हात पार्न सफल भएको छ । 

मुसीकोट नगरपालिका ४ बोहरागाउँमा विजयादशमी तथा शुभ दीपावलीको शुभकामना आदानप्रदान लगत्तै मैत्रीपूर्ण फुटबल प्रतियोगिता सञ्चालन गरिएको पत्रकार महासङ्घका अध्यक्ष लक्ष्मण केसीले जानकारी दिनुभयो । उहाँका अनुसार आपसी भाइचारा वृद्धि, सम्बन्ध थप प्रगाढ बनाउन र खेल क्षेत्रको विकासको लागि उक्त कार्यक्रम आयोजना गरिएको हो ।

त्रिपक्षीय रूपमा भएको मैत्रीपूर्ण फुटबल खेलमा कर्मचारीको टिमले पत्रकार र सुरक्षाकर्मीको टिमलाई जितेको हो । कर्मचारी र पत्रकारका बिचमा भएको पहिलो खेलमा कर्मचारीको टिमले १–० ले विजयी भयो ।

दोस्रो चरणमा कर्मचारी र सुरक्षाकर्मीको टोली भिडेको थियो । जसमा कर्मचारीको टोली पेनाल्टी सुट आउटमा १–० ले विजयी भयो । निर्धारित ४० मिनेट र थपिएको १० मिनेटमा दुवै तर्फबाट ३–३ गोल भएपछि खेल पेनाल्टी सुट आउटमा भएको थियो ।

महासङ्घका अध्यक्ष केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा चण्डीदल गणका गणपति प्रमुख सेनानी शरद थापा, प्रहरी नायव उपरीक्षक नमराज भट्टराई, सशस्त्र प्रहरी नायव उपरीक्षक सुमन लामिछाने, प्रमुख अनुसन्धान अधिकृत होमराज रेग्मी, जिल्लास्थित विभिन्न कार्यालयका प्रमुखहरू, जिल्लाका क्रियाशील पत्रकाहरु लगायतको आतिथ्यता रहेको थियो । महासङ्घका जिल्ला सदस्य दीपेन्द्र महाताराले स्वागत गर्नुभएको उक्त कार्यक्रमको सञ्चालन सचिव हिरा परियारले गर्नुभएको थियो ।