• ४ पुस २०८१, बिहिबार

सार्वजनिक निकायको खरिद तत्परताको अवस्था मापन गरिने

blog

काठमाडौँ,  असोज २९ गते ।  सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद कानुनको परिपालना र सार्वजनिक निकायको खरिद तत्परता बढाउन पहल शुरु गरेको छ । 

सार्वजनिक खरिद प्रक्रियामा प्रभावकारिता ल्याउन सकेमा यसले बजेटको कार्यान्वयन प्रभावकारी हुने, पुँजीगत खर्च बढाउने र ठूला आयोजना तोकिएकै समयमा सम्पन्न हुनसक्ने कार्यालयका सचिव डा. दामोदर रेग्मीले बताउनुभयो । “यसका लागि सबै सार्वजनिक निकायले व्यवहारोपयोगी खरिद योजना निर्माण गर्ने र तदनुरुप खरिद तत्परता देखाउनुपर्नेछ । खरिद योजना निर्माण नगर्ने र तदनुरुप खरिद तत्परता नदेखाउने प्रवृत्ति रोक्न कार्यालयले थप पहल गर्नेछ”, उहाँले भन्नुभयो । 

सबै सार्वजनिक निकायले अनिवार्यरुपमा खरिद योजना बनाउनुपर्ने र सो खरिद योजनालाई अनिवार्यरुपमा विद्युतीय खरिद प्रणालीमा प्रविष्ट गर्नुपर्ने तथा उक्त कार्ययोजना अनुरुप खरिद प्रक्रिया अगाडि बढाउनु पर्नेछ । 

अब सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक निकायले खरिद योजना बनाए वा नबनाएको, सोको विवरण विद्युतीय खरिद प्रणालीमा प्रविष्ट गरे नगरेको र सो अनुरुप खरिद कार्य गरे नगरेको अनुगमन विद्युतीय खरिद प्रणालीबाट गर्नेछ । 

यसका साथै त्यसका लागि खरिद इकाइ प्रमुख र कार्यालय प्रमुखसँग नियमितरुपमा प्रतिवेदन लिने समेत व्यवस्था गरिएको सचिव रेग्मीले बताउनुभयो । सार्वजनिक निकायको खरिद तत्परताको अवस्था मापन गरिने र यसमा खरिद इकाइको गठन, खरिद योजनाको निर्माण, खरिद योजना अनुरुपको समयमा काम भए नभएको तथा समयमा निर्णय गरिए नगरिएको विषयमा अन्तरनिकाय समन्वय गर्नुपर्ने छ ।

“म्याद थपलगायतका निर्णय समयमा गरे नगरेको, खरिद सम्झौता विद्युतीय खरिद प्रणालीमा राखेको वा नराखेको, समयमा भुक्तानी भए वा नभएको नमूनाको सोही अनुरुप मूल्याङ्कन हुनेछ । साथै  बोलपत्र कागजात अनुरुपका सर्तहरु राखेको वा नराखेको, समयमा सम्पन्न नभएका आयोजनको हकमा कानुन बमोजिमको प्रक्रिया अपानाइएको वा नअपनाइएको लगायतका सूचकका आधारमा मूल्याङ्कन गरिनेछ ।

यसका लागि कार्यालय प्रमुखले खरिद एकाइका कर्मचारीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयसँग समन्वय गरी आवश्यक तालिम र ‘प्रोक्युरमेन्ट क्लिनिक’मा सहभागी गराउने व्यवस्था मिलाउन सचिव रेग्मीले आग्रह गर्नुभयो । उक्त कार्यालयले हरित अर्थात् दिगो खरिदमा जोड दिइने उहाँको भनाइ छ । रासस