काठमाडौँ, असोज २७ गते । ध्यानद्वारा ऊर्जा जागरण कार्यशालालाई स्वजागरण अभियानका रूपमा मातहतका सबै निकाय, सबै तहका कर्मचारी र कैदी बन्दीसम्म पुर्याउने गृह मन्त्रालयको चरणबद्ध अभियान अन्तर्गत शनिबार योग कार्यशालाको अर्को शृङ्खला सुरु भएको छ।
सशस्त्र प्रहरी बलको मुख्यालय हल चोक परिसरमा आयोजित ध्यानद्वारा ऊर्जा जागरणको दोस्रो एक दिवसीय कार्यशालाको उद्घाटन उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले गर्नुभएको छ। गृह मन्त्रालयअन्तर्गत अघिल्लो कार्यशालामा छुटेका, राजपत्र अनङ्कित, श्रेणीविहीन र सुरक्षाकर्मीसहित दुई सय ४५ जना कर्मचारी कार्यशालामा सहभागी थिए । यसअघि अधिकृत र सोभन्दा माथिल्ला कर्मचारीका लागि असाेज छ गते पहिलो कार्यशाला सम्पन्न गरिएको थियो। कार्यशालाको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभएको थियो।
गृह मन्त्रालय र जीवन विज्ञानको संयुक्त सहकार्यमा आयोजित आज दिनभरि नै सञ्चालन हुने योग कार्यशालामा योगाभ्यास, प्राणायाम र ऊर्जा ध्यानबारे प्रशिक्षण हुने प्रशिक्षक रमेश नेपालले बताउनुभयो । जीवन विज्ञानका एलपी भानु शर्मा र रमेश नेपालले प्रशिक्षण दिनुहुनेछ।