जाजरकोट, असोज २६ गते । नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेश र नलगाड हाइड्रोपावर कम्पनीबीच सम्झौता भएको छ । उक्त कम्पनीले निर्माण गर्न लागेको ताक्सुगाड जलविद्युत आयोजनाको विद्युत खरिद बिक्रीका लागि दुई निकायबीच सम्झौता भएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सात मेगावाटको उक्त आयोजनाबाट उत्पादन हुने विद्युतलाई केन्द्रीय विद्युत प्रसारण लाइनमा जोड्नका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको जानकारी दिनुभयो ।
ताक्सुगाड यसै आर्थिक वर्षमा निर्माण प्रक्रियामा जाने उहाँको भनाइ थियो । चार सय १७ मेगावाटको नलगाड जलविद्युत आयोजना भने निर्माण प्रक्रियामा छ । दुवै आयोजना नलगाड नगरपालिकाभित्र पर्दछन् । नलगाड जलविद्युत आयोजनाको डिपिआर सकिएसँगै निर्माण चरणमा जानका लागि प्रक्रियागत काम जारी छ । रासस