काठमाडौं, असोज २६ गते । राष्ट्रिय सभाबाट अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धी सङ्कल्प प्रश्ताव पारित भएको छ ।
शुक्रबार बसेको राष्ट्रि सभा बैठकमा सांंसद प्रकाश पन्थले प्रस्तुत गर्नुभएको सो सङ्कल्प प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । बैठकमा सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो प्रस्ताव निर्णयाथ पेश गर्दै भन्नुभयो, ‘‘माननीय सदस्यहरु, अब म अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धि सङ्कल्प प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दछु । अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धी सङ्कल्प प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषण गर्दछु ।’’
नेपाली कांग्रेसका सांसद पन्थले प्रस्तुत गर्नुभएको सो सङ्कल्प प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरुले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार प्रवर्द्धन गर्ने काममा सरकार गम्भीर नभएको आरोप लगाएका थिए भने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यका हरेक निकायमा उनीहरुको अधिकार सुनिश्चित हुनेगरी आवश्यक व्यवस्था मिलाउने आश्वासन दिनुभएको थियो ।