• १ जेठ २०८२, बुधबार

पर्वलक्षित महानगरको सडक सरसफाइ कार्यक्रम

blog

काठमाडौं, असोज २५ गते । काठमाडौँ महानगरपालिकाले चाडपर्वलक्षित सडकको विशेष सरसफाइ अभियानमा एक सय जनालाई खटाएको छ  ।

महानगरले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका एक सय जनालाई डेंगी नियन्त्रणका लागि लार्भिसाइट छर्किने र सडकको विशेष सरसफाइमा खटाएको हो ।

महानगरको प्रशासन विभाग प्रमुख दीपक अधिकारीले परिचालित जनशक्तिबाट सफा तथा सुग्घर सडकको अपेक्षा गरिएको बताउनुभयो । 

बिहीबार राष्ट्रिय सभा गृहमा ती जनशक्तिको गर्नुपर्ने कामका विषयमा क्षेत्र बाँडफाँड गरिएको छ । 

वातावरण व्यवस्था विभाग र महानगर प्रहरी बलले परिचालन गरेका कर्मचारीहरूले नियमित काम गरिरहे पनि यी जनशक्ति थप परिचालन भएका हुन् ।

जनशक्तिलाई चार समूहमा बाँडेर चार क्षेत्रमा परिचालन गरिएको महानगरले जनाएको छ । उक्त टोलीले आज नयाँ बानेश्वर, कोटेश्वर, चाबहिल र बौद्ध क्षेत्रमा लार्भिसाइट छर्ने र सफाइ गरेका छन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक रश्मि राईका अनुसार जनशक्तिले हाजिर भएर एक दिनमा आठ घण्टा काम गर्नुपर्नेछ । 

यसबापत उनीहरूले दैनिक ६ सय ६८ रुपियाँ पारिश्रमिक पाउनेछन् । उनीहरूका लागि एक सय दिनको काम सुनिश्चित गरिएको छ ।