मुरारी अधिकारी
धादिङ, असोज २४ गते । रोटरी क्लब अफ धादिङले नीलकण्ठ नगरपालिका–६ को ऐतिहासिक भैरवी मन्दिर परिसरमा निर्माण सम्पन्न शौचालय मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ ।
चार लाख बराबरको लागतमा निर्माण सम्पन्न गरेको सार्वजनिक शौचालयको साँचो मन्दिर व्यवस्थापन समितिलाई बुझाएको हो । विभिन्न सामाजिक कार्य गर्दैआएको रोटरी क्लबले मन्दिर दर्शन गर्न आउने भक्तजनलाई सुविधा दिन शौचालय निर्माण गरी हस्तान्तरण गरिएको क्लबका अध्यक्ष नवीनकुमार श्रेष्ठले बताउनुभयो ।
क्लबमा आबद्ध सदस्यबाटै रकम संकलनगरी शौचालय निर्माण गरेको पनि उहाँले जानकारी दिनुभयो । एउटै भवनभित्र महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय कोठा र पानीको सुविधा समेत मिलाइएको छ ।
हिन्दुहरूको आस्थाको देवता भगवान् भैरव र भैरवीको किम्बदन्ती बोकेको भैरवी मन्दिर पछिल्लो समय पर्यटकीय क्षेत्रको रूपमा परिचित बन्दैगएको छ । २०७२ सालको भूकम्पले पुरानो संरचना ध्वस्त बनेपछि भैरवी मन्दिर गुठी व्यवस्थापन समितिले पुनर्निर्माण गरिरहेको छ ।
१३ करोडको डीपीआर गरेर निर्माण सुरु गरिएकोमा हाल चार करोड बराबरको लागतमा संरचना निर्माण गरिरहेको व्यवस्थापन समितिका सदस्य राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । भैरवी मन्दिर निर्माण सम्पन्न हुने चरणमा पुगेको र अब भैरवको मन्दिर पुनः निर्माण सुरु गरिने श्रेष्ठले जानकारी दिनुभयो ।
महादेवको रूपमा भैरव र देवीको रूपमा भैरवी हुनुहुन्छ । एउटा माई भैरवी र अर्को भैरवको मन्दिर गरी दुई वटा मन्दिर छ । प्रत्येक वर्ष दसैँमा पूजा गर्दा भैरवलाई सुँगुरको वली चढाउने परम्परा रहिआएको छ ।
भैरवी मन्दिर सदरमुकाम धादिङबेसीबाट १८ किलोमिटरको दूरीमा छ । पौराणिक भनाइअनुसार भगवान् भैरवको श्रीमती भैरवीलाई सुत्केरी भएको अवस्थामा मासु खान मन लाग्यो । बाघको रूप धारण गरेर भैरव मासु लिन जङ्गल जानुभयो । सुँगुरको सिकार गरेर फर्किनुभयो । सुँगुर भन्ने थाहा भएपछि भैरवी डराएर त्यहाँ घोप्टो परेर बस्नुभयो । भैरवलाई भित्र पस्न दिइएन । त्यसपछि भैरव बाहिर गएर बसेको भन्ने किंवदन्ती छ ।