शान्ता अधिकारी
चितवन, असोज २४ गते । पछिल्ला केही दिन यता चितवनमा डेंगु सङ्क्रमितहरुको सङ्ख्या उकालो लाग्दै आएको छ । केही दिन अगाडिसम्म स्थिर अवस्थामा रहेको डेंगु सङ्क्रमितहरुको सङ्ख्या पछिल्लो दिनमा ह्वात्तै उकालो लागेको हो ।
स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी रामकुमार केसीका अनुसार यस आर्थिक वर्षको असोज २२ गतेसम्म ६५१ सङ्क्रमित रहेको यस जिल्लामा २३ गते को नतिजामा ९९ जना थपिएर सङ्क्रमितको सङ्ख्या ७५० पुगेको हो ।
जिल्लामा डेंगुको उपचारको क्रममा २२ गते मकवानपुरका एक पुरुषको मृत्यु भएको छ । उनी लामो समयदेखि चितवन मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएका थिए । सोमबारसम्म आठ हजार ३३२ जनाको परीक्षण गर्दा ६५१ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको थियो मङ्गलबार थप ३४६ जनाको परीक्षणमा ९९ जना सङ्क्रमित थपिएका हुन् ।
स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्याङ्कमा चितवनमा सबैभन्दा बढी सङ्क्रमित भरतपुर महानगरपालिकामा भेटिएका छन भने सबैभन्दा कम कालिका नगरपालिकामा देखिएको छ । महानगरपालिकामा भेटिएका २३४ जना मध्ये १२१ जना पुरुष र ११३ जना महिला रहेका छन् । यस्तैगरी, रत्ननगरमा ८९ जना सङ्क्रमितमध्ये ४५ जना पुरुष र ४४ जना महिला छन् । खैरहनीमा भेटिएका ७४ जना सङ्क्रमितहरुमध्ये ४७ पुरुष र ३१ महिला हुन् । त्यस्तै राप्ती नगरपालिकाका ४१ जनामा १९ जना पुरुष र २२ जना महिला हुन् । यसैगरी इच्छाकामनामा १७ जना सङ्क्रमितमध्ये आठ पुरुष र नौ जना महिला रहेका छन् । माडीमा १० जनामा चार जना पुरुष र ६ जना महिला छन् भने र कालिकामा नौ जनामा सात जना पुरुष र दुई जना महिला छन् ।
यस्तै, चितवनमा सङ्क्रमित प्रमाणित भएका स्वास्थ्य कार्यालयका अनुसार चितवनमा गरिएको परीक्षणमा ठेगाना नखुलेको ११२ जना (५५ जना पुरुष र ५७ जना महिला) चितवनका विभिन्न अस्पतालमा उपचार भइरहेका छन् । यस्तै, अन्य जिल्लाबाट आएका ११२ जना र अन्य जिल्लाबाट आएका १६० जना सङ्क्रमितको भरतपुरमा विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । तीमध्ये ७९ जना पुरुष र ८१ जना महिला छन् ।
लामो समयदेखि डेंगुको भेक्टर कन्ट्रोलर भइ कार्य सम्पादन गर्दै आउनुभएका सूचना अधिकारी केसीले डेंगु सङ्क्रमितको सङ्ख्या बढ्ने क्रम ज्यादै तीव्र रहेको बताउनुभयो । उहाँले आम सर्वसाधारणले डेंगु र यसको रोकथामबारेमा बुझ्न जरुरी रहेको घर वरपरका पानी जम्ने खाल्डाखुल्डी पुर्न, टायर, बोटल, प्लाष्टिक कपहरुमा पानी जम्न सक्ने भएकाले जथाभावी नफाल्न अनुरोध गर्नुभयो । डेंगुबाट बच्ने सबैभन्दा महत्त्वपूर्ण उपाय भनेको दिनको समय र साँझ बिहान टोक्ने एडिस एजिप्टाई जातको लामखुट्टेको टोकाइबाट बच्नु हो । उहाँले भन्नुभयो, “लामखुट्टेका सम्भावित वासस्थानको खोजी गरौं नष्ट गरौं ।’’