• १० मंसिर २०८१, सोमबार

‘एक वडा, एक उत्पादनको अभ्यास गर्दै छौँ’

blog

कृषियोग्य जमिन र यातायात सेवाले सुगम मानिएको जोशीपुर गाउँपालिका सुदूरपश्चिम प्रदेशकै सबैभन्दा सानो भूगोल भएको पालिका हो । अधिकांश पालिकावासी कृषिमा आत्मनिर्भर रहेको जोशीपुरको कुल क्षेत्रफल ६५.५७ वर्गकिलोमिटर छ । साबिकका जोशीपुर र बौनियाँ गाविस जोडेर बनेको यस गाउँपालिकामा ७ वडा छन् । वरिपरि छिमेकमा नगरपालिका भए पनि जोशीपुर भने सानो भूगोल भएकै कारण गाउँपालिका भएको बताइन्छ । यस पालिकामा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष, उपाध्यक्ष र बहुमत वडाध्यक्ष छन् । 

यसअघि सिभिल ओभरसियरका रूपमा सिँचाइ तथा पुनर्निर्माण प्राधिकरणमा काम गरिसक्नुभएका गाउँपालिका अध्यक्ष चित्रबहादुर चौधरी विकास निर्माणका क्षेत्रमा अनुभवी व्यक्तिका रूपमा परिचित हुनुहुन्छ तर पनि सङ्घ, प्रदेश हुँदै स्थानीय तहमा घट्दो बजेटले विकास निर्माणका गतिविधिले सोचे अनुसार गति लिन नसकेको भनाइ उहाँको छ । पालिका अध्यक्षमा निर्वाचित भएको करिब डेढ वर्षमा जनतालाई खुसी राख्न उहाँले गर्नुभएको काम तथा क्रियाकलापका विषयमा गोरखापत्र टीकापुर समाचारदाता एकिन्द्र तिमिल्सेनाले गरेको कुराकानी : 


करिब डेढ वर्षको कार्यकालमा प्रतिबद्धता जनाए अनुसार के के काम भए ?

काँडा नदीमा एघार सय मिटर तटबन्ध, छाडा गाईगोरु तथा फोहोरमैला व्यवस्थापन गर्ने काम गरेका छौँ । अध्यक्ष भइसकेपछि विकास त जत्ति पनि गर्न सकिएला सोचेको थिएँ तर सोचे अनुसार हुँदो रहेन छ । पहिला सरकारको आर्थिक अवस्था राम्रै थियो बजेट धेरै आउँथ्यो । अहिले त बजेट नै काटिएर आउँछ । यता योजना सञ्चालन भइसकेको हुन्छ अब भुक्तानी कहाँबाट दिने ? गत वर्षकै बाँकी तिर्नु परिरहेको छ । अघिल्लो वर्षको बाँकी डेढ करोड जति यो वर्ष तिर्दै छौँ । 

कृषिमा नमुना कार्यक्रमका रूपमा एक वडा एक उत्पादन गर्ने उद्देश्य राखेर हरेक वडाका लागि दुई दुई लाख बजेट छुट्टयाएका छौँ । यहाँ एउटै किसानले अलिकति लसुन, अलिकति प्याज, अलिकति धनियाँ अलिकति आलु लगाउँछ उसैले बाख्रा पाल्छ उसैले भँैसी पालेर दुनियाँ दिवाना भइरहेको छ । यसरी हेर्दा बाली सबै लगाएको तर उन्नति केही नहुने अवस्था छ  । किसानको यो तरिकालाई परिवर्तन गर्न एक वडा एक उत्पादनका साथै एक किसान एकै खेती गरेर उत्पादन बढाउन खोजेका छौँ ।

अघिल्लो कार्यकालका जनप्रतिनिधिले गरेका राम्रा काम के के छन् ?

राम्रो गरेको काम राम्रै भन्नुपर्छ । अघिल्लाहरूले वडा कार्यालयको भवनमा तलाहरू  थपेर गाउँपालिकाको केन्द्र भवन बन्यो । वडामा सामुदायिक भवनहरू बनेका छन् । कर्मचारी भर्ना, केही कानुन बनाएर जानुभएको छ । पहिलेका जनप्रतिनिधिका कारण वडा नम्बर–६ मा निजी जग्गामा खानेपानी आयोजनाका घर बनाइयो । त्यतिबेला जग्गा दिनेलाई दिलदार दाता भनियो प्रचार भयो तर जग्गा खानेपानी वा गाउँपालिकाका नाममा पास भएन । जग्गाधनीले त्यो जग्गा नै बैङ्कमा धितो राखेका रहेछन् पछि अर्कैलाई बेचिदिनुभयो । करोड लगानी भइसक्यो, सरकारको जग्गा प्राप्ति ऐन अनुसार त्यो जग्गा पाउन मुस्किल छ । 

तपाईंको नेतृत्वमा अबको चार वर्षपछि जोशीपुर कस्तो हुन्छ ?

जोशीपुरमा एम्बुलेन्स छैन । सके दुइटा नभए एउटा यसै वर्ष किन्दैछौँ । वडा नम्बर ३ मा नदी कटानले समस्या छ । बन्जिरियामा गाईगोरु राखेपछि किसानको खेतीपाती पूरै जोगिएको छ । निर्माणाधीन खानेपानी पूरा गरेर ८० प्रतिशत नागरिकले पानी पाउने अवस्था बनाउँछौँ । शिक्षा, स्वास्थ्यमा लगानी, कृषिमा अनुदान, सबै क्षेत्रमा नागरिकको विकास गर्न तालिमहरू हुने छन् ।

विकास बजेट कति आयो र कति सन्तुष्ट हुनुहुन्छ ?

केन्द्रीय मन्त्रीले डल्लो बजेट छ भन्नुभएको छ, अब कति आउँछ आएपछि थाहा हुने हो । ७५ लाखको शीतभण्डार बनाउने बजेट आएको छ । हाम्रो चाहना २५० मेट्रिक टनको बनोस् भन्ने हो सानो बन्ला यतिले त बन्दैन । प्रदेशबाट फोहोरमैला व्यवस्थापनका लागि ४० लाख बजेट आएको छ । मन्त्री र माननीयलाई यस्तो बजेट के दिनुभयो तपाईंलाई लाज लाग्दैन भनेको छु । बजेट सन्तोषजनक छैन । 

कार्यपालिका टिम कस्तो पाउनुभयो ? विषयगत समितिबाट कसरी काम भइरहेको छ ?

टिम राम्रो चलेको छ । सबै नयाँ छौँ । जनता जुनसुकै विषय पनि जनप्रतिनिधिले जानेका छन् जस्तो गर्छन् । सिक्दै काम गरिरहेका छौँ । सबैले काठमाडौँको मेयरले यस्तो ग¥यो उस्तो ग¥यो भन्छन् । तुलनाको पनि सीमा हुन्छ,  काठमाडौँमा जग्गा मिचेर बनाएका घर भत्कायो भन्छन् हाम्रो पनि ५०/६० पसल भएको बजार छ यो ऐलानीमा छ यसैलाई भत्काइदियौँ भने बजारै रहँदैन । वर्षमा १० करोड बजेटले कति गर्ने ? विषयगत समितिको हकमा वडाध्यक्षहरू नेतृत्वमा हुनुहुन्छ । उहाँहरू वडाकै काममा व्यस्त हुनुहुन्छ । छलफल बहस गर्दा काम राम्रो हुन्छ । 

पालिकामा सुशासनको अभ्यास कस्तो छ ?

कर्मचारी समयमै कार्यालय पुगुन् भनेर ई–हाजिरी गरेका छौँ । अब विद्यालयमा पनि राख्दै छौँ । जनताका काममा ढिलासुस्ती हुनु भएन । भ्रष्टाचार हुनुभएन । सार्वजनिक सुनुवाइ गराैँ भनेको असारमा सम्भव भएन । भत्तासहित विविध खर्च घटाएका छौँ । सबै शीर्षकमा अलिअलि घटाए पनि बचत हुन्छ भन्ने लागेको छ ।

पालिकाको निर्णय सार्वजनिक गर्ने र सामाजिक परीक्षण गर्नुपर्ने हुन्छ नि ?

सामाजिक परीक्षणका विषयमा त थाहै भएन । कार्यपालिका निर्णय सार्वजनिक गर्नुपर्नेमा यसअघि ख्याल गरेको रहेनछु । अब गर्छु । 

आन्तरिक आय कति छ ? पेस्श्की बेरुजु फस्र्योटको अवस्था के छ ?

जोशीपुर सुदूरपश्चिममै सबैभन्दा सानो भूगोल भएको पालिका हो । यहाँ कुनै स्रोत छैन । सिफारिस शुल्क र मालपोत रजिस्ट्रेसन मात्रै हो । आन्तरिक आयको अनुमान एक करोड ६२ लाख हो लक्ष्य भेटाउन सकिएको छैन । वन स्रोत छ । स्थानीय सरकार सञ्चालन ऐन र प्रदेश ऐन बाझिएको छ । वनबाट केही प्राप्त गर्न सकिएको छैन । एकमुस्ट अनुदान पाउने विद्यालयका शिक्षक कर्मचारीलाई दिएको तलब नै बेरुजु छ । 

पालिकाको कर्मचारी घटाउनुपर्नेमा  तपाईहरू थपिरहनुभएको छ नि ?

अघिल्लो कार्यकालका जनप्रतिनिधिहरूले ज्यालादारीमा राखे करार बनाइदिए त्यस्तो अवैधानिक काम गरे । म पनि पहिले कर्मचारी नै हो त्यसैले पढेलेखेका मानिसले काम पाउनुपर्छ भन्ने मान्यता राख्दछु । कर्मचारी राख्दा पक्षपात नगरी योग्य छानेर राख्नूस् भनेको छु । हामीले अस्पतालमा डाक्टर, कृषिमा प्राविधिक राखेका छौँ । अहिले पनि ज्यालादारी कर्मचारी राखेका छन् तर काम सकिएपछि सकियो उनीहरूलाई करार गर्न मिल्दैन ।

अन्त्यमा तपाईंको केही भन्नु छ ?

पालिका जङ्गल क्षेत्रमा छ । फाँटका फाँट जमिन खाली छन् त्यसमा खेती वा ताल बनाउन सकिन्छ तर कानुनले दिँदैन । कर्मचारीको सङ्ख्या र तलब बढ्दो छ आम्दानी घट्दो छ । स्रोत साधनको कमी छ । आफ्नो स्रोत कम बाँडफाँटबाट पनि अनुदान घटिरहेकाले बहुवर्षे योजना त सुरु गर्न सकिँदैन । दुईवर्षे योजना मात्रै छ ।