• १ जेठ २०८२, बिहिबार

बाँकेमा डेढ दशकमा दुई हजार पाँच सय आगलागीका घटना

blog

जोखिम बढेपछि आगलागीबाट जोगिने उपाय सिकाउँदै रेडक्रस सोसाइटीका कर्मचारी । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, असोज २३ गते । 
पश्चिम नेपालको बाँकेमा आगलागीको अत्यधिक जोखिममा रहेको छ । गर्मीयाममा जिल्लामा आगलागीका धेरै घटना हरेक वर्ष हुने गरेका छन् ।

जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका अनुसार, गत डेढ दशकमा जिल्लामा दुई हजार ४५९ वटा आगलागीका घटना भएका छन् । ती घटनामा १४ हजार ६०५ जना प्रभावित भएका छन् । प्रत्येक वर्ष जिल्लामा ठुला आगलागीका घटना पनि हुने गरेका छन् । जसले ठुलो भौतिक क्षति समेत हुँदै आएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका सूचना अधिकृत रुपन ज्ञवालीले बाँकेको नेपालगन्ज, होलिया, बेतहनी, मटेहिया, नरैनापुर, कालाफाँटा, लक्ष्मणपुर, कटकुइया क्षेत्रहरूमा आगलागीका घटना बढी हुने गरेको तथ्याङ्कले देखाएको बताउनुभयो ।

उहाँका अनुसार विगत १२ वर्षको अवधिमा सबैभन्दा बढी आर्थिक वर्ष २०६८/२०६९ मा आगलागीबाट ५७६ घर जले र नष्ट भएका थिए भने आव २०७५/२०७६ मा पनि १२६ घर जलेर नष्ट हुनुका साथै एकै घरका दुई बालकको जलेर मृत्यु भएको थियो ।

यसैगरी, गत आव २०७९/८० मा बाँकेमा १०१ आगलागीका घटना भएको जिल्ला विपद् व्यवस्थापन समितिको तथ्याङ्क रहेको छ । जसमा ५०५ जना प्रभावित भएका थिए । ती आगलागीमा कसैको ज्यान नगएपनि दुई जना घाइते भएका थिए ।

सोही प्रकारले आर्थिक वर्ष २०७८/७९ मा बाँकेमा आगलागीका ८४ घटना भएको तथ्याङ्क जिल्ला विपद् व्यवस्थापन समितिसँग छ । जसमा ८४ परिवार प्रभावित भएका थिए । ती आगलागीको घटनामा दुई जना घाइते भए भने ५९ घटनामा पूर्ण क्षति र २५ घटनामा आंशिक क्षति भएको थियो ।

आर्थिक वर्ष २०७८/७९ मा आगलागीबाट कुल नौ करोड ३९ लाख ८९ हजार २२० रुपियाँको क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

समुदायका मानिसहरूको असावधानीपूर्वक आगोको प्रयोग र घरको बनोटले गर्दा आगलागीका घटनाहरू बढी हुने गरेको प्रहरीको भनाइ छ ।

स्थानीय अगुवाहरूका अनुसार जिल्लामा आगलागीका घटना तत्काल नियन्त्रण अझै पनि चुनौती रहेको छ । आगलागीका घटनामा तत्काल दमकल पुग्न नसक्नु, आगलागी भएका ठाउँमा पुगेका दमकललाई पानी तथा आवश्यक केमिकलको अभाव, जनशक्तिको कमी तथा कतिपय ठाउँमा अझै पनि दमकल पुग्ने बाटो नै नहुने गरेकोले चुनौती कायमै रहेको छ ।