• २२ असार २०८१, शनिबार

विशेष सुरक्षा योजना

नागरिकको सुरक्षाका लागि पहिलो पटक ड्रोन प्रयोग गर्दै प्रहरी

blog

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख भूपेन्द्रबहादुर खत्री । तस्बिर : गोरखापत्र

काठमाडौं, असोज २२ गते । चाडपर्वमा नागरिकको सुरक्षाका लागि जिल्ला प्रहरी परिसर काठमाडौंले पहिलो पटक ड्रोनबाट निगरानी गर्ने भएको छ ।

परिसरका प्रमुख भूपेन्द्रबहादुर खत्रीले विभिन्न टेक्नोलोजीको सहायतामा आम नागरिकलाई सुरक्षित हिसाबले चाडपर्व मनाउन र सुरक्षा प्रदान गर्न आवश्यक जनशक्तिसहित तयार रहेको बताउनुभयो । उहाँले यस पटक सुरक्षाका लागि भीडभाड स्थानमा ड्रोनबाट निगरानी गरिने बताउनुभयो ।

यसैगरी, यात्रुहरुको सुरक्षा सन्दर्भमा उपत्यका प्रहरी कार्यालयले विशेष सुरक्षा योजना बनाएको जानकारी पनि उहाँले दिनुभयो । उहाँका अनुसार काठमाडौं जिल्लाका लागि मात्रै विशेष सुरक्षा योजनाअन्तर्गत १४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेको छ ।

उहाँले भन्नुभयो, ‘‘यात्रुहरुको सुरक्षा सन्दर्भमा उपत्यका प्रहरी कार्यालयले विशेष सुरक्षा योजना बनाएको छ । काठमाडौं जिल्लाका लागि मात्रै यसअन्तर्गत हामीले १४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेका छौँ । आम नागरिकलाई सुरक्षित हिसावले चाडपर्व मनाउन सुरक्षा प्रदान गर्न र थप जनशक्तिसहित विभिन्न टेक्नोलोजी तयार गरेका छौँ । सिसिटिभी र ड्रोन लगायत हामीले काठमाडौं उपत्यकामा प्रयोग गर्ने क्रममा छाैं । ड्रोनबाट भीडभाड हुने स्थानलाई नियालेर जनशक्ति सञ्चालन गर्नेछौँ ।’’

त्यस्तै, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बिहान ६ बजेदेखि नै यात्रुहरु लाइनमा बसेर अग्रिम टिकट काट्न आएको बताउनुभयो । उहाँले बाटोको कारणले सुरक्षित ढङ्गबाट यात्रुहरु गन्तव्य स्थल लैजान असहज रहको भन्दै सरकारले सडक स्तरोन्नति गर्नुपर्ने बताउनुभयो । उहाँले सडक नबनाए समयमा सवारीसाधन नआइपुग्ने र अग्रिम टिकट बुकिङ खुलाएको औचित्य नहुने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘यात्रुहरु बिहान ४ बजेदेखि नै लाइनमा हुनुहुन्छ । ६ बजेदेखि हामीले अग्रिम बुकिङ खुलाएका छौँ । यात्रुहरुले आफू जानुपर्ने स्थानको टिकट काट्न सुरु भइसकेको छ । बाटोको कारणले सुरक्षित ढङ्गबाट यात्रुहरु गन्तव्य स्थल लैजान असहज छ । समयमा सवारीसाधन आइपुग्दैन । अग्रिम टिकट दिएको अर्थ हुँदैन । सरकारले सडक स्तरोन्नति गर्नैपर्छ । अग्रिम टिकट दिनु भनेर मात्रै हुँदैन । परिचयपत्र र पोशाक लगाएका आधिकारिक ठाउँमा गएर मात्रै टिकट काट्नुहोला । सडक राम्रो भए उहाँहरुलाई व्यवस्थित ढङ्गबाट गन्तव्यमा लैजान्छौँ ।’’

चाडवाडको बेलामा यात्रुहरुलाई ठग्न सक्ने भन्दै परिचयपत्र र पोशाक लगाएका आधिकारिक ठाउँमा गएर मात्रै टिकट काट्न आग्रह गर्नुभयो । हरेक वर्ष दशैँ, तिहार र छठ जस्ता पर्वलाई लक्षित गरी लामो दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ खुलाउने गरिन्छ । विशेष गरी सङ्घीय राजधानी काठमाडौंबाट आ–आफ्नो घर फर्किने यात्रुले अग्रिम टिकट लिने गर्दछन् । दशैँ तिहार मनाउन यस पटक करिब १६ लाख मानिसले काठमाडौं छोड्ने अनुमान छ । दशैँमा घर जाने यात्रुका लागि सोमबारदेखि अग्रिम टिकट बुकिङ सुरु भएको छ ।