• १२ मंसिर २०८१, बुधबार

श्रमको व्यावसायिक पुँजीकरण

blog

मुलुकवासीप्रति प्रत्येक सरकारको सामाजिक तथा नागरिक दायित्व हुन्छ । सोही अनुसार हरेक मुलुकले आफ्ना नागरिकको विकास र समृद्धिमा ध्यान दिएको हुन्छ । नेपालले पनि २०८०/८१ को बजेटमा एक खर्ब ९७ अर्ब २९ करोड शिक्षामा खर्च गर्ने लक्ष्य राखेको छ । यसै अवधिमा भारतले ६८ हजार ८०५ करोड, अमेरिकाले १२९ विलियन डलर खर्च गरेको देखिन्छ । प्रत्येक देशले आफ्नो जनशक्तिलाई साक्षर, शिक्षित, सक्षम बनाउन प्रयास गरिरहेको हुन्छ । 

राष्ट्रले देशको कुल गार्हस्थ उत्पादनको १५ प्रतिशत लगानी शिक्षामा गर्नु पर्छ भनिए पनि सबै देशले यो तहसम्म लगानी गरेका छैनन् तापनि शिक्षा तथा तालिमको माध्यमबाट नागरिकलाई सक्षम बनाउनु पर्छ भन्ने आशा प्रत्येक राज्यले र कर तिर्नेहरूले गरेका हुन्छन् । जनता र सन्तान दुवै देश तथा अभिभावकका पुँजी हुन् । सबैले यसमा उत्पादकत्वको आशा गरिएको हुन्छ ।

त्यसैले बृहत् स्तरमा राज्यले शिक्षामा लगानी गर्छ सूक्ष्म स्तरमा हेर्ने हो भने प्रत्येक परिवारले आफ्ना प्रत्येक सन्तानलाई थप शिक्षा दिनका लागि सरकारी र सामुदायिकबाहेक निजी शिक्षामा पनि खर्च गरेका हुन्छन् । जे होस् शिक्षा, सोच, दृष्टिकोणले केही मानिसलाई अरूभन्दा फरक बनाउँछ, विशिष्ट बनाउँछ । मानिसको दिमाग संसारको सबैभन्दा ठुलो पुँजी हो, जसले हरेक मानव निर्मित भौतिक कुराको आविष्कार, परिस्कृत र विस्तार गर्न सहयोग गर्छ । निःसन्देह हरेक मानिसले आआफ्नो बौद्धिक वा श्रमगत क्षमतालाई पँुजीकरण गरेर परिवार, समाज, देश वा कहिलेकाहीँ विश्वलाई योगदान दिइरहेको हुन्छ । 

मानिसको श्रम र बुद्धि सम्पत्ति आर्जन गरी सम्पन्नता कमाउने आधार हो । उसले पत्ता लगाउने आविष्कार, खोज, प्रविधि सबै व्यक्तिगत सम्पत्ति हो र यसले पूरै मानवतालाई योगदान दिन सक्छ । नेपालबाट दिनहुँ युवा विदेश गएका छन्, उनीहरूको श्रम बिक्री भएको छ । 

मानवको श्रम र सोच दुवै पुँजी हो । श्रम सानो पुँजी हो भने प्रविधि, फर्मुलाको खोज, आविष्कार आदि ठुलो पुँजी हुन् । जुन देशले आज प्रविधि र आविष्कार बेचेका छन् उनीहरू धनी र विकसित बनेका छन् भने श्रम बेच्ने देशहरू तुलनात्मक रूपमा गरिब छन् । श्रम बेच्नुभन्दा सोच बेच्नु हरेक दृष्टिकोणले लाभदायक हुने भएकाले मानव स्रोतलाई सोचगत रूपमा पुँजीकृत गर्ने प्रयास गर्नु राज्यको दायित्व हो । 

धनी बन्नु छ भने मानव सोच उद्यमशीलता तर्फ ढल्केको हुनु पर्छ । उद्यमशीलता तथा व्यावसायिकता बिना प्राज्ञिकता तथा वैज्ञानिक आविष्कार पनि प्रविधिमा परिणत हुन सक्दैन । प्रविधिबिना आर्थिक क्रान्ति हुँदैन । सोच र उद्यमीय सोचको बिचमा व्यापक अन्तरविरोध छ । सोच सबैमा छ, प्रत्येक मानिसले केही न केही सोच्दछ तर जुन सोचले इन्टरनेट बनायो, जुन सोचले कोकाकोला, एप्पल र टोयोटा कम्पनी चलेका छन् । यी सोच र कल्पनामा पक्कै भिन्नता छ । सोच राम्रै र अब्बल भएका मानिसबाट नै विश्वका प्रसिद्ध कम्पनीको सफलता सम्भव भएको हो । व्यावसायिक सोचले जसरी विश्वको नेतृत्व गरेको छ, त्यसको अनुपातमा अन्य सोचले आफ्नो साम्राज्य फैलाउन सक्दैन । 

नेपालका लगभग हरेक नागरिकले १२ कक्षा उत्तीर्ण गरेपछि विदेश जाने बारेमा सोचेको हुन्छ तर केका लागि त्यहाँ जाने भन्ने सोचेको हुँदैन । फस्वरूप विदेशमा जाने अधिकांश श्रममूलक कामका लागि जान्छन् भने केही व्यक्ति केही राम्रो जागिरमा संलग्न हुने अवसर पाउँछन् । नेपालबाट जुन अनुपातमा श्रमको बर्हिगमन भएको छ, त्यत्तिकै अनुपातमा बौद्धिक र उद्यमीय सोच बाहिर गएको भए त्यसबाट प्राप्त हुने विपे्रषण अहिलेको भन्दा हजारौँ गुणा बढी हुने थियो । त्यसैले वर्तमान सरकारले पनि श्रममूलक सोच भएको शिक्षालाई रूपान्तरण गरेर उद्यमशीलतामूलक सोच भएको शिक्षातर्फ ध्यान दिन जरुरी छ । 

सकिन्छ भने उद्यमशीलता र प्रविधिमूलक सोचलाई विकसित गरौँ , सकिँदैन भने श्रमलाई व्यासायिकतामा पुँजीकरण गरौँ  । दक्षिण एसियाको एक मुलुक बङ्गलादेशले करोडौँ जनतालाई रेडिमेड कपडा उद्योगमा रोजगारी दिन सक्षम भएको छ । सबै व्यक्तिले बुद्धिको मात्र काम गर्न थाल्ने हो भने यो जगत्मा काम गर्ने र पसिना बगाउने कोही हुँदैन । श्रमबिना बुद्धिले मात्र पनि ठुलो उपलब्धि हुन सक्दैन । यही कारणले श्रममूलक र बौद्धिक जनता त्यस देशका लागि ठुलो आर्थिक मेरुदण्ड हुन् । बुद्धिको व्यावसायिकता होस् वा श्रमको व्यावसायीकरण होस् । दुवैले मानिसलाई सम्पन्न बनाउन भूमिका खेल्छ । 

विसं २०६८ र २०७८ को जनगणनाको परिणाम हेर्दा जनसङ्ख्याको वृद्धिदर मात्र ०.९२ प्रतिशतमा सीमित छ । चाहे बौद्धिक होस् वा श्रम दुवै कोणबाट जनसङ्ख्या कम हुनुलाई राम्रो मान्न सकिँदैन । युवा जनशक्ति नभएसम्म नागरिकको श्रम पुँजीकरण घट्छ नै । बौद्धिक पुँजीकरण पनि निम्न बिन्दुमा झर्दछ । जनसङ्ख्यालाई बोझको रूपमा नहेरेर यसलाई आर्थिक उत्थानको साधनको रूपमा हेरिनु पर्छ । चीनले जुन तीव्र गतिमा विकास गरेको छ, त्यसको मुख्य आधार जनसङ्ख्याको बौद्धिक र श्रमको पुँजीकरण नै हो । नेपालले अबका दिनमा नागरिकलाई हरेक तरिकाले सम्पत्तीकरण गर्ने प्रयास गर्नु अति नै आवश्यक छ । 

श्रममूलक हाम्रो सोचलाई व्यावसायिकतामूलक सोचमा परिणत गर्न व्यापक प्रयास गर्नु पर्छ । विश्वको जनसङ्ख्याको प्रवृत्ति हेर्ने हो भने तुलनात्मक रूपमा श्रममूलक व्यक्ति बढी जन्मन्छ र बौद्धिक व्यक्ति कम जन्मेको पाइन्छ । बौद्धिकमध्ये व्यावसायिक बौद्धिकता निकै सीमित देखिन्छ । व्यावसायिक बौद्धिकतामा केवल बुद्धिले मात्र उद्यमशीलता स्थापना गर्न सकिँदैन । यसमा लगानीको आवश्यकता पर्छ साथै जोखिम पनि कायम रहन्छ । जे भए पनि उद्यमशीलता एक आदत हो । मारवाडी भन्ने थरमा बढी व्यवसायी जन्मनुको पछाडि पक्कै पनि संयोग वा भाग्य होइन, व्यावसायिक सोचको परिणति हो । 

एलन मस्क, जेफबेजोस, ज्याकमा, अम्बानीका छोराछोरीमा पक्कै पनि जागिर खाने सोच कहिल्यै पलाउँदैन किनकि जन्मेदेखि नै व्यावसायिकता उनीहरूको वरिपरि घुमिरहेको छ । राजनीतिज्ञका छोराछोरीले प्रायः राजनीति गरेको, जागिरेका छोराछोरी जागिरमा नै गएको, वैदेशिक रोजगारमा गएका सन्तति प्रायः त्यतैतर्फ लम्किएको देख्न पाइन्छ । यसको अर्थ मानिसको मन र विचारलाई जतातिर मोडिन्छ त्यो मानिस पछि गएर त्यस्तै बन्छ । 

अब देशले नेपाली नागरिकलाई सानैदेखि उद्यमीय सोचतर्फ विकसित गर्ने प्रयास गर्नु नै सोचको पुँजीकरण हो । नोकरी गर्नु र श्रम बेच्नु मात्र जीवन धान्ने उपाय होइन भन्ने बारेमा हामी सबै सचेत हुन जरुरी छ । जीवनमा उद्यमी बन्ने सोचले हामीलाई आर्थिक रूपमा सम्पन्न बनाउँछ । आयमूलक क्षेत्रमा लगानी गर्ने बाटोहरू सिकाउँछ । विश्वका धेरै देशमा जसरी नेपाली युवा कामको खोजीमा प्रवेश गरेका छन् ती युवा तिनै देशमा लगानीकर्ता वा बिक्रेता बनेर पस्न सक्ने बाटो खोली दिन सक्ने शिक्षा, तालिम वा पाठ्यक्रमको परिमार्जन आदि प्रयासबाट जनताको पुँजीकरण गर्न सकिन्छ । 

देश विकासका अनेक मोडलमध्ये नागरिकको सोच बदल्ने तरिका पनि अति उपयोगी र समयसापेक्ष छ । हरेक पाइलामा मानव क्षमतामा सशक्तीकरणको शिक्षा दिएर उनीहरूबाट उद्यमशील बन्ने लगानी गर्ने र विश्वव्यापीकरणको लाभ लिन सक्ने शिक्षा प्रदान गर्न सक्नु पर्छ । 

Author

रामप्रसाद गौतम