काठमाडौँ, असोज २२ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले प्राकृतिक विपत्तिमा हुने जोखिम न्यूनीकरणका लागि स्वास्थ्य आपत्कालीन पूर्वतयारी हुनुपर्ने बताउनुभएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठनको संयुक्त आयोजनामा काठमाडौँमा आइतबारदेखि सुरु भएको स्वास्थ्य आपत्कालीन तयारी बलियो बनाउन स्वास्थ्यसँग नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त पहलसम्बन्धी दुईदिने कार्यशालामा मन्त्री बस्नेतले जोखिम न्यूनीकरणमा पूर्वतयारी हुनुपर्ने बताउनुभयो । नेपाल प्राकृतिक प्रकोपको सधैँ जोखिममा रहेकाले यसबाट हुने धनजनको क्षति कम गर्न समयमा घाइतेको स्वास्थ्योपचार गर्न स्वास्थ्यका साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नागरिक समाज र दातृनिकायको पनि उत्तिकै भूमिका हुनेमा मन्त्री बस्नेतले जोड दिनुभयो।
मन्त्री बस्नेतले प्राकृतिक प्रकोपका बेला सबैले आफ्नो क्षेत्रबाट उद्धार र सहयोग गर्ने गरेको भन्दै देशका सबै शक्तिलाई एकीकृत गर्न सकिए जोखिम न्यूनीकरणमा ठूलो सहयोग पुग्ने बताउनुभयो। विगतका प्राकृतिक प्रकोपमा आफू स्वयं उद्धार र राहत वितरणमा खटेका सयौँ उदाहरण रहेको बताउनुभयो।