• ६ जेठ २०८१, आइतबार

कृषिजन्य वस्तुको बजारीकरणका लागि योजना बनाइने

blog

कृषि उत्पादनमा जलवायू परिवर्तनको असर र बजारीकरणको अवस्थाबारे पालिका स्तरीय संवाद कार्यक्रम । तस्बिर :

सुर्खेत, असोज २१ गते । वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालले उत्पादित कृषिजन्य वस्तुको बजारीकरणका लागि नगरपालिकाले योजना बनाउन लागेको जानकारी दिनुभएको छ । वीरेन्द्रनगरमा सम्पन्न कृषि उत्पादनमा जलवायु परिवर्तनको असर र बजारीकरणको अवस्थाबारे पालिका स्तरीय संवाद कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

‘‘नगरपालिमा उत्पादन हुने कृषि तथा पशुजन्य वस्तुको सम्भावना र अवस्थाबारे अध्ययन भइरहेको छ । यसबारे तथ्याङ्क सङ्कलन गर्छौँ,’’ उहाँले भन्नुभयो, ‘‘हाल कृषकका कुनै पनि उत्पादनले मूल्य र बजार नपाउने सम्भावना छैन । तर उत्पादनमा कमी छ । अब नगरपालिकाले बजारीकरणको योजना बनाउँदैछ । यसपछि विद्यमान समस्या अन्त्य हुनेछन् ।’’

हाल भइरहेको खेती प्रणालीलाई नयाँ प्रविधिमा जोड्दै व्यवसायीक कृषक र कृषि उत्पादनमा नगरपालिकाले जोड दिने उहाँले बताउनुभयो । वीरेन्द्रनगरमा कृषकका उत्पादित वस्तुलाई सहज रुपमा बिक्री गर्न व्यवस्थित हाट बजार सञ्चालनका लागि प्रयास भइरहेको नगरप्रमुख ढकालको भनाइ छ । विद्यमान ऐन कानुनले समेत असहज अवस्था रहेको भन्दै सहज नीति बनाएर कृषि क्षेत्रमा नगरपालिकालाई आत्मनिर्भर बनाउने रणनीति अपनाउने उनले बताइन् । ‘‘कृषि र मासुजन्य वस्तु उत्पादनका क्षेत्रमा रहेको समस्या समाधान गर्दै जानेछौँ’’ उहाँले भन्नुभयो, ‘‘जसका लागि उत्पादित वस्तुको बजार मूल्य निर्धारण, सङ्कलन केन्द्र स्थापना, हाट बजार सञ्चालन जस्ता केही तत्काल गर्न सकिने कामहरू पनि गर्नेछौँ ।’’

नगरपालिकाको कृषि शाखाको समन्वयमा ग्रेप परियोजना अन्तरगत संवाद कार्यक्रमको आयोजना गरिएको थियो । परियोजनाले जलवायु अनुकूलनको प्रविधिबारे कृषि सम्बन्धित विभिन्न कार्यक्रम गर्दै आएको छ । वीरेन्द्रनगरमा सम्पन्न संवाद कार्यक्रममा कृषि उत्पादनदेखि बजारीकरणसम्मको अवस्था, जलवायु परिवर्तनले कृषिमा निम्त्याएको समस्या र समाधानको विकल्पबारे छलफल भएको थियो ।

कार्यक्रममा विभिन्न कृषक समूह, कृषि उद्योग, कृषि सङ्कलन केन्द्र तथा कृषि व्यापारीदेखि नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्ने अधिकांश कृषकहरूले समयमै मल, बीउ र कृषि प्रविधिबारे ज्ञान नपाएको, कृषि तथा मासुजन्य वस्तुको उचित मूल्य नपाएको जस्ता समस्या राखेका थिए । कार्यक्रममा बोल्दै कृषक नारद प्रसाद भट्टराइले नगरपालिकाले अन्यभन्दा कृषि उत्पादनमा लगानी कम गरेको आरोप लगाउनुभयो । जलवायु परिवर्तनका कारण पछिल्लो समय कृषि, तरकारी तथा फलफूलमा नयाँ–नयाँ रोग किराको प्रकोप बढेको भन्दै पालिकाले रोग किरा व्यवस्थापनमा ध्यान नदिएको समेत गुनासो गर्नुभयो ।

कार्यक्रममा सहभागीहरूले पालिकाले दिने कृषि अनुदानका कार्यक्रममा राजनीति हुने गरेको, कृषि प्राविधिकहरू गाउँ नपुग्ने, कोल्ड स्टोर सञ्चालन नहुँदा तरकारी स्टोरमा समस्या र मनलाग्दी विषी प्रयोगले स्वास्थ्यमा असर, हर्रेको विषादी प्रयोगशाला नबन्दा अर्ग्यानिक उत्पादनमा चुनौती लगायतका समस्या राखेका थिए । उक्त सबै समस्या समाधानका लागि नगरपालिका लागि पर्ने भन्दै नगरप्रमुख मोहनमाया ढकालले जबाफ दिएकी दिनुभएको थियो ।

बुलबुले हाट बजार सञ्चालन समितिका अध्यक्ष टोपेन्द्रजंग शाहीले स्थानीय उत्पादनले बजार माग पूर्ति गर्न नसकेका कारण व्यापारीहरुले भारतीय तरकारी भित्र्याउन बाध्य भएको बताउनुभयो । वीरेन्द्रनगर नगरपालिका पशुपन्क्षी शाखा प्रमुख यज्ञप्रसाद ढकालले पछिल्लो समय पशुमा लम्पि स्किन जस्ता नयाँ नयाँ रोगका कारण व्यवसायीले ठुलो घाटा बेहोर्नु परेको बताउनुभयो ।

यस्तै, वीरेन्द्रनगर नगरपालिका कृषि शाखा प्रमुख हेमराज केसीले कृषि उत्पादनलाई वृद्धि गर्न पालिकाले सिँचाइ सेवामा कार्यक्रममा जोड दिएको बताउनुभयो । साथै अर्ग्यानिक उत्पादनमा नगरपालिकाको जोड रहेको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा बोल्नुहुँदै कृषि मन्त्रालय कर्णाली प्रदेशका कृषि अधिकृत रामभक्त अधिकारीले प्रदेश सरकारले दिने कृषि ब्याज अनुदान कार्यक्रमको प्रक्रियागत झन्झटका कारण कृषकले सेवा लिन नसकेको बताउनुभयो ।