• २२ वैशाख २०८१, शनिबार

१९औं एसियाली खेलकुद

समापनमा नेपालको झण्डा एरिकाले बोक्ने

blog

कराँते खेलाडी एरिका गुरुङ ।

हाङझाउ, असोज २१ गते । हाङझाउमा जारी १९औं एसियाली खेलकुद (एसियाड) को समापन समारोहमा नेपालको झण्डा कराँते खेलाडी एरिका गुरुङले बोक्नुहुने भएको छ ।

नेपाल ओलम्पिक कमीटि र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले समापन समारोहको मार्चपासमा नेपालको झण्डा एरिकालाई बोक्न दिने निर्णय गरेको हो ।

एसियाडको औपचारिक समापन आइतबार स्थानीय समय अनुसार बेलुका ८:०० बजे हुनेछ । एरिेकाले शनिबार मात्र कराँतेमा नेपालका लागि ऐतिहासिक रजत पदक दिलाउनुभएको थियो । 

यसअघि एसियाडको उद्घाटन सत्रको मार्चपासमा नेपालको झण्डा बीरबहादुर महरा र उशुकी निमा घर्तीमगरले बोक्नुभएको थियो । एसियाडमा नेपालबाट २९ खेलमा दुई सय ५३ खेलाडीको सहभागिता रहेको थियो ।

जसमा महिलामा एक सय २७ र पुरुषमा एक सय २६ खेलाडी सहभागी थिए । नेपालले कराँतेमा एक रजत र महिला कबड्डीमा कांस्य पदक जितेर एसियाड यात्रा पूरा गर्दैछ । 

एसियाडमा नेपालको सहभागिता सङ्ख्या अहिलेसम्मकै ठूलो हो । एसियाडको अन्तिम दिन आइतबार बिहान कराँतेको महिला ८५ केजीमुनि तौल समूहको अन्तिम ३२ को खेलमा नेपालकी सविना श्रेष्ठ चीनकी रानरान लीसँग ३-१ अङ्कले पराजित हुनुभयो । कराँतेको खेलसँगै एसियाडमा समावेश ४० वटै खेलको सम्पूर्ण प्रतिस्पर्धा सम्पन्न भएको छ ।