• २२ वैशाख २०८१, शनिबार

नेपाललाई कराँतेमा ऐतिहासिक रजत

blog

विपक्षीलाई प्रहार गर्दै एरिका गुरुङ । तस्बिर : लोकेन्द्रकुमार बस्नेत (राखेप) ।

हाङझाउ, असोज २० गते । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद (एसियाड) को १५औँ दिन नेपालले कराँते खेलमा ऐतिहासिक रजत पदक जितेको छ । 

हाङझाउस्थित लिननि स्पोर्ट्स सेन्टर जिम्न्याजियम शनिबार भएको महिला ६८ केजी तौलसमूहमा नेपालका लागि एरिका गुरुङले ऐतिहासिक रजत दिलाउनुभएको हो । 

फाइनलमा उहाँ काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग ३–० अङ्कले पराजित हुनुभयो । सोफ्या हालै सम्पन्न एसियन कराँते च्याम्पियनसिप २०२३ की स्वर्ण विजेता समेत हुनुहुन्छ । 

यसअघि सेमिफाइनलमा एरिकाले हङकङकी यान काई होलाई ८–४ अङ्कले हराउँदै फाइनलमा स्थान बनाउनुभएको थियो । क्वार्टरफाइनलमा एरिकाले जापानकी खेलाडी एजुकी सबाइलाई सेन्सुको आधारमा हराउनुभएको थियो ।

दुवैको समान १–१ अङ्क भएपनि पहिलो अङ्क पाएको आधारमा एरिका सेमिफाइनलमा पुग्नुभएको थियो । १९ वर्षीय एरिका नेपालका लागि एसियाड कराँतेमा ऐतिहासिक रजत जिताउने पहिलो खेलाडी समेत बन्नु भएको छ । 

नेपालले एसियाड कराँतेमा पहिलो पटक रजत पदक जितेको हो । एसियाडको इतिहासमा नेपालको यो समग्रमा तेस्रो रजत हो । यसअघि नेपालका लागि तेक्वान्दोकी सविता राजभण्डारीले सन् १९९८ को बैंकक एसियाडमा व्यक्तिगत रजत र अघिल्लो संस्करणमा नेपालको प्याराग्लाइडिङ टोलीले टिम स्पर्धामा रजत जितेको थियो ।

नेपालका लागि यो समग्रमा तेस्रो र व्यक्तिगत स्पर्धामा भने दोस्रो एसियाड रजत पदक हो । शनिबारनै नेपालका सन्तोष श्रेष्ठ ६७ केजी तौल समूहको प्रिक्वार्टरमा थाइल्यान्डका फियन्डी चाईवाटसँग ३–२ अङ्कले पराजित हुनुभयो । 

एसियाड कराँतेमा नेपालले पदकको आशा गरेको कराँते खेलाडी विप्लवलाल श्रेष्ठ शुक्रबार कांस्य नजिक पुगेर चुक्नुभएको थियो । 

शुक्रबार भएको पुरुष कुमुतेको ८४ केजी तौलमाथि विप्लव रिपोचको कांस्य पदक भिडन्तमा साउदी अरेबियाका तारेग हामिदसँग ९–१ ले पराजित हुनुभएको थियो ।