• २३ वैशाख २०८१, आइतबार

१९औँ एसियाली खेलकुद

नेपालले पायो महिला कबड्डीको कांस्य पदक

blog

कांस्य पदक पाएपछि नेपालको कबड्डी टोली । तस्बिर : सौजन्य राजेन्द्र चित्रकार

हाङझाउ, असोज २० गते । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद (एसियाड) मा नेपालले महिला कबड्डीतर्फ जितेको कांस्य पदक शनिबार पाएको छ ।

महिला कबड्डीतर्फको फाइनल खेलपछि शनिबार बिहान पदक वितरण गरिएको हो । नेपाल समूह चरणमा बङ्गलादेशलाई ३७–२४ अङ्कले हराएर पदक नजिक पुगेको थियो ।

समूह ‘बी’को दोस्रो खेलमा नेपाल इरानसँग ४३–१९ अङ्कले पराजित भएको थियो । नेपाल समूह उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको थियो ।  नेपाल सेमिफाइनलमा भने भारतसँग ६१–१७ अङ्कले पराजित भएको थियो ।

शनिबार भएको रोमाञ्चक फाइनल खेलमा भारतले चाइनेज ताइपेइलाई २६–२५ अङ्कले हराउँदै स्वर्ण जितेको हो  ।नेपालसँगै साबिक विजेता इरानले पनि कांस्य जितेको छ । जारी एसियाडको १५औँ दिनमा आएर शनिबार नेपालले औपचारिक रूपमा कांस्य पदक ग्रहण गरेको छ ।

एसियाडमा कांस्य पदक दिलाउने नेपाली टोलीको खेलाडीहरूमा मेनुकाकुमारी राजवंशी (कप्तान), मानमती विष्ट, जयन्ती बडु, सुनिता थापा, रबिना चौधरी, अनुजा कुलुङ राई, गङ्गा घिमिरे, नितु गुरुङ, इशा राई, अर्पणा चौधरी, सिर्जना थारु र कलावती पन्त हुनुहुन्छ ।