वसन्त पराजुली
भरतपुर, असोज २० गते । अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्र बैङ्कको बोर्डले बिहीबार अघि सारेको नीतिगत निर्णयले आर्थिक सुधारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । भरतपुर विमानस्थलमा शुक्रबार पत्रकारसँग कुराकानी गर्दै मन्त्री डा. महतले आर्थिक सङ्कटको असर केही देखिए पनि त्यसको सुधारमा ब्याजदरको ठुलो भूमिका हुने भएकाले राष्ट्र बैङ्कको कदम आवश्यक रहेको बताउनुभयो ।
“आर्थिक चलायमानमा ब्याजदरको ठुलो भूमिका हुन्छ । ऋण प्रवाह गर्ने सीमाहरूले ठुलो भूमिका खेल्छ । सेयर मार्केटले पनि गति दिने र नदिनेमा प्रभावित गर्छ,” मन्त्री महतले थप्नुभयो, “राष्ट्र बैङ्कको बोर्डले जुन निर्णय ग¥यो, त्यसले अर्थतन्त्रलाई गति दिन मद्दत गर्ने र देशको आर्थिक लय सकारात्मक बाटोमा जाने विश्वास लिएको छु । यसले अब गति लिन्छ ।”
विगतमा ऋण प्रवाहमा बैङ्क तथा वित्तीय संस्थाहरूले सही नीति नलिँदा समस्या परेको उल्लेख गर्दै उहाँले अब ऋण प्रवाह गर्दा सही सदुपयोग गर्न आग्रह पनि गर्नुभयो ।
“सहज तरिकाले ऋण पाउँदा त्यसलाई उत्पादनशील क्षेत्रमा लागु गरिएन । कहाँ परिणाम आउछ, कहाँ परिणाम आउँदैन भन्ने नहेरी ऋण लगानी गरिँदा अहिले समस्यामा परियो,” उहाँले भन्नुभयो, “अहिले कसिलो मौद्रिक नीति भएकाले ब्याज वढ्यो । उत्पादन नभई ब्याज बढेपछि केही व्यवसायीलाई असर ग¥यो ।”
उहाँले व्यवसायीको समस्या समाधानका लागि ऋणमा पुनर्तालिकीकरण गर्न लागिएको जानकारी पनि दिनुभयो । उहाँले सेयर बजार, जग्गाको कारोबार तथा अन्य उत्पादनशील क्षेत्रमा राष्ट्र बैङ्कको निर्णयले अर्थतन्त्र चलायमानमा थप सहयोग पुग्ने विश्वास गर्दै बैङ्क तथा वित्तीय संस्थाहरू पनि आफ्नोतर्फबाट प्रतिस्पर्धी र पारदर्शी किसिमबाट चल्न जरुरी रहेको उहाँको बताउनुभयो । “सामूहिक प्रयास र सकारात्मक माहोल भएमा मात्रै पनि अर्थतन्त्र सुधारिने छ,” उहाँले थप्नुभयो, “नकारात्मक बहस र छलफलले अर्थतन्त्र सुधारमा बाधा परेको छ । त्यसलाई सुधार गर्नुपर्ने जरुरी देखिन्छ ।”
“अर्थतन्त्रमा आएको शिथिलता अन्त्य गरी गति दिन जरुरी छ । त्यसमा वित्त नीतिसँगसँगै मौद्रिक नीतिको पनि ठुलो भूमिका रहन्छ,” उहाँले थप्नुभयो, “जनता र देशलाई केन्द्रबिन्दुमा राखेर वित्त सुधारका लागि काम गर्नै पर्छ । त्यसका लागि सकारात्मक छलफल र बहस हुन जरुरी छ ।”
नकारात्मक बहसले अर्थतन्त्रले गति लिन रोकिने धारणा राख्दै उहाँले अर्थतन्त्र अगाडि बढ्ने ठोस आधार अगाडि बढेको बताउनुभयो । “सरकारका निकायहरूबाट सहजीकरणका साथै नीतिगत र व्यावहारिक प्रावधानहरू पनि अगाडि बढेका छन् । पर्यटन आगमन बढेको छ । रेमिट्यान्स पनि बढेकै छ । यसले पनि वित्तीय प्रवाह भएकै छ । जति चलायमान हुन्छ, त्यति आर्थिक गतिविधि बढ्ने हो । आर्थिक गतिविधि बढेसँगै रोजगारी पनि बढ्छ । रोजगारी बढे आम्दानी बढ्छ, आम्दानी बढेसँगै राजस्व बढ्छ । अनि बल्ल विकास निर्माणको काम गर्न पनि सकिने छ,” उहाँको स्पष्ट भनाइ छ ।
आर्थिक सुधार जस्तो काम जादुगरले जस्तो फटाफट गर्न नसकिने बताउँदै उहाँले सरकारले गृहकार्य सुरु गरेको तर समय लाग्ने बताउनुभयो । “हामी बाटो पक्रिँदै छौँ । सकारात्मक कुरालाई प्रोत्साहन गर्ने र आत्मविश्वास दिन सक्नु प¥यो ।
सामाजिक सञ्जालहरूमा पनि सकारात्मक छलफल तथा बहस सुरु गर्नु प¥यो अनि अर्थतन्त्रले लय समात्ने छ,” उहाँले भन्नुभयो ।
विश्व बैङ्क र एडिबीले पनि आर्थिक वृद्धिदर बढ्ने प्रक्षेपण गरेर नेपालको आर्थिक सुधारको सङ्केत गरेको उहाँले बताउनुभयो । “विश्व बैङ्कले यही वर्ष चार प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ तर नेपाल सरकारले यसमा छ प्रतिशतको प्रक्षेपण गरेको छ । त्यो हामी पूरा गर्छौं,” उहाँले भन्नुभयो ।
“सबैले खराब छ, खराब छ मात्रै भन्यौँ भने उपभोक्ता खर्च गर्न डराउँछन् । लगानीकर्ता पनि लगानी गर्न डराउँछन् । लगानी नभएपछि उत्पादन बढ्दैन । रोजगारी सृजना हुँदैन । उत्पादन र आम्दानी नभएसम्म राजस्व बढ्ने कुरै भएन । राजस्व नबढीकन जुन विकास निर्माणमा ठुलो माग छ, त्यो माग पनि पूरा गर्न सक्दैनौँ,” उहाँले आर्थिक सुधारमा नकारात्मक कुरा नगर्न आग्रह गर्दै भन्नुभयो ।
यसैबिच नेपाली कांग्रेस चितवन क्षेत्र नम्बर १ को क्षेत्रीय भेलालाई पनि मन्त्री डा. महतले शुव्रmबार नै सम्बोधन गर्दै देशको आर्थिक अवस्था सुधारका लागि कांग्रेसभित्र पनि एकताको आवश्यकता औँल्याउनुभयो । पार्टी बलियो भयो भने मात्रै लोकतन्त्र बलियो हुने र लोकतन्त्र बलियो भयो भने मात्रै देशको अर्थव्यवस्था पनि चलायमान हुँदै आर्थिक समृद्धितर्फ देश जाने धारणा उहाँले व्यक्त गर्नुभयो ।