• २६ वैशाख २०८१, बुधबार

राष्ट्रिय खेलकुद प्रतिभा सम्मान कार्यविधि खारेज गर्ने सरकारको निर्णय

blog

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्नुहुँदै नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा तस्बिर : सागर बस्नेत

काठमाडौं, असोज १७ गते । सरकारले राष्ट्रिय खेलकुद प्रतिभा सम्मान कार्यविधि खारेज गर्ने निर्णय गरेको छ ।

मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्नुहुँदै नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय खेलकुद प्रतिभा सम्मान कार्यविधि, २०६८ खारेज गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

नेपाल गुणस्तरीय स्वास्थ्य सेवा प्रणाली कार्यक्रमका लागि विश्व बैङ्कबाट प्राप्त हुने एक सय मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा ३.८४ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यसैगरी, बैठकले उदय–आर्थिक विकासका लागि लगानी तथा नवप्रवर्तन सम्बन्धी आयोजना कार्यान्वयन गर्न स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त हुने स्विस फ्रान्क ५.४५ मिलियन अनुदान सहायता स्वीकार गर्ने निर्णय बैठकले गरेको छ ।

मन्त्री शर्माले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास मेन्द्र इसीमोडलाई नेपाल सरकारबाट सन् २०२१ देखि २३ सम्मको वार्षिक बजेट योगदान बापत कुल सात लाख ७५ हजार ५३३ अमेरिकी डलर बराबरको रकम अर्थ मन्त्रालयमार्फत भुक्तान गर्न स्वीकृति दिने निर्णय बैठकले गरेको जानकारी दिनुभयो । त्यस्तै, बैठकले अन्य विभिन्न १९ वटा निर्णय गरेको छ ।