• १२ साउन २०८१, शनिबार

पर्यटकका लागि गन्तव्य बन्दै घोडाघोडी ताल

blog

पूर्वपश्चिम महेन्द्रराजमार्गसँग जोडिएको घोडाघोडीताल । तस्बिर : चाँदनी आचार्य

चाँदनी आचार्य   
घोडाघोडी(कैलाली), असोज १६ गते । 
जैविक विविधता र सिमसार क्षेत्रको रुपमामात्र होइन पर्यटकको गन्तव्य क्षेत्रको रूपमा समेत महत्त्वपूर्ण छ कैलालीको घोडाघोडी ताल ।

सजिलै पुग्न सकिने पूर्वपश्चिम महेन्द्रराजमार्गसँग जोडिएको घोडाघोडीतालमा पछिल्लो समय घुम्न आउने पर्यटकलाई मध्यनजर गरी बनाइएको आकर्षण संरचनाले झनै सुनमा सुगन्ध थपेको छ ।


डुङ्गा सयर गर्दै तालमा पाइने विभिन्न थरीका जलजर र थलचर प्राणीको अवलोकन, सुन्दर शान्त हरियाली वातावरणमा चराहरूको चिरबिर आवाजले मनै शान्त हुने यहाँ पुग्ने पर्यटकको अनुभव छ ।

तालक्षेत्र अवलोकनका लागि तालको चारैतिर सुविधा सम्पन्न पदमार्ग निर्माणले झनै सहजता थपेको छ । तस्बिर र भिडियो बनाउने को हिजो आज तछाड मछाड नै हुन्छ । विशेष गरेर युवा पङ्क्ति टिकटक र फोटो, भिडियो बनाउन व्यस्त देखिन्छन् ।


स्थानीय १०–१२ जना युवाले ताल क्षेत्रमा आउने पर्यटकको रोजाई अनुसार भिडियो, तस्बिर लिने काम गर्छन् । उनीहरूको पनि राम्रै आम्दानी हुने गरेको स्थानीय दीपक शाह बताउनुहुन्छ । त्यतीमात्र होइन हिजोआज तालमा आउने पर्यटकका लागि घोडा सवारको व्यवस्थासँगै मगर, थारु, गुरुङ पोसाकमा तस्बिर तथा भिडियो बनाउन पाउँछन् । यस्तो व्यवस्था यहाँका स्थानीय व्यवसायीहरूले गरेका छन् । प्रतिघण्टा ५० रुपियाँका दरले पर्यटकले रोजेको पोसाक उपलब्ध गराउने गरेको स्थानीय व्यवसायी राजु आचार्यले बताउनुभयो ।  यसले यहाँ आउने पर्यटकलाई थप समय व्यतीत गर्न मद्दत पुर्‍याएको जनाइएको छ ।