• १४ मंसिर २०८१, शुक्रबार

शान्तिवाटिका निर्माणमा रोक

blog

प्रनिश गिरी

कुस्मा (पर्वत), असोज १५ गते । पर्वत जिल्लास्थित फलेवास नगरपालिकाले गौरवको आयोजनाका रूपमा निर्माण थालेको मनमोहन शान्ति वाटिका सामुदायिक वन क्षेत्रमा बनाएको पाइएको छ। सामुदायिक वनको जग्गामा वाटिका निर्माण थालिएपछि जिल्ला वन कार्यालयले निर्माण कार्य नै रोकेको छ।

फलेवास नगरपालिका–१ को जमली चिसापानी र वडा नं. २ पर्ने थाम चिसापानी सामुदायिक वनको सिमानामा रहेको वन क्षेत्रमा शान्तिवाटिका निर्माण गर्न लागिएको हो। थाम चिसापानी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जितबहादुर थापाका अनुसार केही सल्लोका पुराना रुख र बुट्यान हटाई डाँडा समथर बनाउन करिब दुई महिना लागेको थियो। वन क्षेत्रमा पर्ने अग्लो डाँडा समथर बनाउन फलेवास नगरपालिकाको डोजरसहित ठुला मेसिनको प्रयोग भएको उहाँ बताउनुहुन्छ। डाँडा समथर बनाएपछि पक्की पर्खालसहितको अहिले करिब २० रोपनी जग्गा शान्ति वाटिका निर्माणका लागि तयार पारिएको छ।  

फलेवास नगरपालिकाले वाटिका निर्माणका लागि पाँच वर्षदेखि अहिलेसम्म लाखौँ रकम खर्च गरिसकेको छ। शान्तिवाटिकाको योजना कार्यान्वयनका लागि १७ करोडको डिपिआर आर्थिक वर्ष २०७८/७९ बाट तयार गरिएको नगरपालिकाका सूचना अधिकारी कृष्णप्रसाद आचार्यले बताउनुभयो। उहाँका अनुसार पर्यटन मन्त्रालयबाट पाँच करोड समपूरक बजेट शान्तिवाटिकाका लागि विनियोजित भएको थियो। सामुदायिक वन क्षेत्रमा शान्ति वाटिका निर्माण गरेको भनी जिल्ला वन कार्यालयमा उजुरी परेपछि आयोजनाको काम हाल रोकिएको छ। 

जिल्ला वन कार्यालयका प्रमुख नवराज बरालले भन्नुभयो, “वन ऐनविपरीत सामुदायिक वन क्षेत्रमा कुनै पनि प्रकृतिका स्थायी संरचना बनाउनु गैरकानुनी कार्य हुन आउँछ। शान्ति वाटिकाको नाममा निर्माणाधीन संरचना वन क्षेत्रमा पर्ने हुँदा कारबाही प्रक्रिया अगाडि बढाइएको हो।”

वाटिका निर्माणका लागि तयार पारिएको समथर जमिनभन्दा केही तल पश्चिमपट्टि ४१ वटा पिल्लरसहितको पक्की भौतिक संरचनालाई वन कार्यालयमा उजुरी परेपछि माटो हालेर पुरिएको छ। पुरिएको संरचनाबारे निर्माण कम्पनी रविना कन्स्ट्रक्सनका प्रतिनिधि ठेकेदार गोविन्द भुसालका अनुसार करिब ३६० जनाका लागि बस्ने सुविधा हुने गरी सभा हल निर्माण गरिएको हो। नगरपालिकासँग शान्ति वाटिका निर्माण योजना अन्तर्गत सभा हल, चिल्ड्रेन पार्क, भान्जी पोखरी निर्माण, ढुङ्गा बिच्छाउनेलगायतका काम गर्नका लागि पाँच करोड रुपियाँको निर्माण सम्झौता गरेको बताउँदै उहाँले नगरपालिकाबाट ८५ लाख भुक्तानी पाउन बाँकी रहेको बताउनुभयो। नगरपालिकामा ३६ लाख रुपियाँको बिल पेस गरी स्वीकृत भइसकेर पनि भुक्तानी नपाएको उहाँले गुनासो गर्नुभयो। 

फलेवास नगरपालिकाका निवर्तमान मेयर पदमपाणि शर्माले नगरपालिकाको पूर्ण बैठकबाट नै निर्णय गरी पर्यटन प्रवर्धन गरी नगरपालिकाको आर्थिक समृद्धि गर्न शान्ति वाटिका निर्माण योजनाको काम अगाडि बढाएको बताउनुभयो। शान्ति वाटिका निर्माणले थापाठाना, भँगरा क्षेत्र, सिरुबारी, आँधीखोला, अर्जुनचौपारीलगायतका क्षेत्रलाई जोडेर पर्यटन प्रवर्धन गरिने उहाँको भनाइ छ। 

राज्यको करोडौँ रकम खर्च भइसकेको शान्ति वाटिका निर्माणको काम उजुरी परेपछि भने एक वर्षदेखि ठप्प छ। फलेवास नगरपालिका–१ का अध्यक्ष चोलाकान्त पाध्याका अनुसार शान्तिवाटिका निर्माणाधीन स्थल ऐतिहासिक महत्वको भूमे थान रहेको हो।