यदुप्रसाद भट्ट
मनाङ, असोज १५ गते । सुन्दा पनि उल्टो लाग्न सक्छ, पत्याउन झन् मुस्किल तर पत्याउनै पर्छ, यो कथा नभई व्यथा हो। हिमाली जिल्ला मनाङको नासोँ गाउँपालिका वडा नं. ६ र ७ जोड्ने दुधखोलाको मोटरेबल पुलको व्यथा। जहाँ वर्षा सकिन्छ त्यसपछि तिल्चेवासी मिलेर पुल बनाउँछन्। अनि हिउँद लागेपछि सबै गाउँले मिलेर ‘झारा’ उठाएर पुल हाल्छन् ।
प्राकृतिक नियम अनुसार वर्षायाममा खोलानाला बढ्ने, वारपार गर्न गाह्रो हुने हुँदा पुल हाल्नुपर्ने हो तर यहाँ यस्तो गर्दैनन्। वर्षा लागेपछि पुल झिकेर राख्छन्। बरु उल्टै हिउँदमा पानी कम हुँदा सहजै वारपार गर्न सक्ने बेलामा दुधखोलामा पुल हाल्छन्। मनसुन सक्रिय भएपछि तिल्चेवासीले मोटर तार्न तथा आवतजावतका लागि काठको पुल भत्काउँछन् । सदरमुकामबाट गाउँ जाने बाटोमा पर्ने दुधखोलामा हरेक वर्ष उनीहरूले मनसुन सकिएपछि पुल बनाएर आउजाउ गर्ने गर्छन् । वर्षा लागेपछि काठे पुल भत्काउने र हिउँद लागेपछि बनाउने तिल्चेवासीको काम हो ।
यहाँका स्थानीय वर्षायाममा पुल नहुँदा आवतजावतमा सकस भोग्न बाध्य छन्। स्थानीय मात्र नभई पर्यटक पनि यही पुल तरेर लार्केपास निस्कन्छन्। स्वास्थ्य, शिक्षा, सामान ढुवानीकै लागि पनि पुल नहुँदा यहाँका स्थानीयवासी र पर्यटकले जोखिम मोल्नुपरेको छ। मोटर तार्न र स्थानीयले आवतजावतका लागि साँघु बनाएर चल्नुपर्ने अवस्था छ ।
पुल बनाउन सरकारले पहल नगरेको पनि होइन। आठ वर्षअघि यहाँ पक्की पुल बनाउन ठेक्का लागिसकेको तर ठेकेदार कम्पनी बेपत्ता भएपछि गाउँलेको दुःख ज्युँका त्युँ छ। २०७३ असार २० मा एमएस सञ्जीवनी खड्का कृष्णा र द क्याराभान कम्पनीले संयुक्त ठेक्का सम्झौता गरेको थियो । २०७४ मङ्सिर २३ गतेसम्म पुल निर्माण गरिसक्नुपर्नेमा कुल ३० प्रतिशत हाराहारी मात्र काम सकिएको छ ।
साबिक जिल्ला विकास समिति हुँदा नै चार करोड एक लाखमा ठेक्का लागेको पुल पटक पटक म्याद थप गर्दा पनि सम्पन्न भएको छैन। पुलको स्वामित्व पूर्वाधार विकास कार्यालयमा सरेको छ। सम्झौता अनुसारको मितिमा पुल नबनेपछि २०७७ असार २९ मा निर्माण सम्पन्न गर्ने गरी पहिलो पटक म्याद थप भयो । जिल्ला प्रशासन कार्यालयले त्यसअघि पटक पटक बैठक राखेर पुल बनाउन निर्देशन दियो । थपिएको म्यादमा पनि निर्माण सम्पन्न नभएपछि पुनः २०७८ चैत मसान्तसम्ममा सक्ने गरी दोस्रो पटक म्याद थप भयो । त्यसपछि त म्याद थप भएको छ, न कारबाही नै । ठेकेदारले दुईतिर पिल्लर मात्र ठड्याएर करिब दुई करोड़ रुपियाँ लगिसकेको छ।
नासोँ गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले अहिले पुरानो पुलका कारण दुई लाख जति खर्च भएको जानकारी दिँदै भन्नुभयो, “सुरुमा काठसहित चार लाखजति खर्च भयो, अहिले काठ किन्न परेन र दुई लाखमै काम सकियो। अघिल्लो वर्ष स्थानीय सरकार र गाउँलेले चार लाखभन्दा बढी खर्च गरी पुल निर्माण गरेका थिए ।”
सहायक प्रमुख जिल्ला अधिकारी शिशिर घिमिरले माथिबाटै सम्बोधन हुन्छ भनेर केही नगरेको बताउनुभयो। उहाँले भन्नुभयो, “जिल्लामा त यसलाई रुग्ण ठेक्काका रूपमा सूचीकृत गरेका छौँ, ठेकेदारलाई बोलाउँदा पनि आउँदैन।” अन्तिम पटक क्याराभानका अध्यक्ष चन्द्र थकालीले गत असारमा पुल बनाइसक्ने प्रतिबद्धता जनाउनुभएको थियो । पालिका अध्यक्ष गुरुङको पहलमा थकालीले भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव तुलसी भट्टराई, पूर्वाधार विकास निर्देशनालयका निर्देशक राम पराजुलीसमेतको उपस्थितिमा काम गर्ने लिखित प्रतिबद्धता जनाएको दिनदेखि उहाँ सम्पर्कविहीन हुनुभयो ।
पूर्वाधार विकास कार्यालयका प्रमुख जय विष्टले ठेकेदारले काम नगरेपछि हामी पनि मिलेका छौँ कि भनेर आरोप खेप्नुपर्ने अवस्था आएको बताउनुभयो। उहाँले भन्नुभयो, “अहिले प्रेसर दिइरहेका छौँ, असोज महिनामा काम सुरु नभए बैङ्क ग्यारेन्टी तान्ने प्रक्रियामा छौँ ।” असोजभित्र काम नथाले ठेक्का तोड्ने प्रक्रियामा जाने विष्टले जानकारी दिनुभयो । क्याराभानले मनाङका अन्य आयोजनाका काम पनि अलपत्र पारेर छाडेको छ ।