• ५ जेठ २०८१, शनिबार

ऐरावत अर्थात् ‘पुलुकिसी’

blog

जात्रामा भीड छिचोल्दै पुलुकिसी । तस्बिर: मनोजरत्न शाही

काठमाडौं, असोज १४ गते । स्वर्गका राजा इन्द्रको कथासँग जोडिएको इन्द्रजात्रामा पुलुकिसीको उपस्थितिले स्वर्गका इन्द्र र यो जात्राको सम्बन्ध रहेको प्रमाण देखिन्छ । किंवदन्तीअनुसार पुलुकिसी इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीक हो । इन्द्र ऐरावत हात्ती चढेर आमाका लागि पारिजात फूल लिन काठामाडौं आएका थिए।

मरु टोलको भौँ क्यबःमा फुलेको फूल लिनको लागि आएका इन्द्रले आफ्नो वाहन हात्तीलाई किलागःलमा बाँधेर गएका रहेछन् ।मानवको भेषमा आएका इन्द्रलाई फूल चोर्न आएको आरोपमा त्यहाँका स्थानीयले समातेर राखे  । यता ऐरावत हात्ती भने मालिकको प्रतीक्षामा बसी नै रह्यो। लामो समयसम्म आफ्नो मालिक नआइपुगेपछि व्यग्र भएका ऐरावत मालिक खोज्न हिँड्छ । 

यसरी जाँदा हात्तीलाई स्थानीयले पिछा गर्छन् । यसरी आफ्नो मालिक इन्द्र खोज्न गएको प्रतीकको रूपमा पुलुकिसी निकाल्ने परम्परा रहेको छ । येँया (इन्द्रजात्रा) सुरु भएसँगै काठमाडौँका टोल र गल्लीमा ला: छकु वय्क सम्य बजी, बल बल पुलुकिसी... स्वर गुन्जिन्छ । जब बाटो मा ‘पुलुकिसी’  निकालिन्छ उनको पछाडि केटाहरूले ‘लाःछकु वयस्क समयबजि बल बल पुलुकिसी...’ भनेर गाउने गर्छन् ।

किलागल टोलका महर्जन समुदायबाट निकालिने ऐरावत हात्तीको प्रतीकलाई स्थानीयले पुलुकिसीका साथै तानाकिसी पनि भन्ने गरेको पाइन्छ । पुलूँ अर्थात् बाँसको चोयाले शरीर बनाइने भएकाले पुलुकिसी र यसको घाँटीमा झुन्ड्याइएको घण्टको निरन्तर आवाज टङ्रङ्ङ (तानाताना) आइरहने भएका कारण यसलाई ‘तानाकिसी’ पनि भन्नेगरेको पाइन्छ ।


फूल चोर्न आएका इन्द्रलाई बाँधेर राखिएको प्रतीक ।

Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।