• ५ जेठ २०८१, शनिबार

हाम्रो सम्पदा

थारुहरूको चढ.गढनिया माई मन्दिर (फोटो फिचर)

blog

कपिलवस्तु, असोज १३ गते । कपिलवस्तुको बुद्धभूमी नगरपालिका वडा नं. १ मा अवस्थित थारु समुदायहरूको प्राचीन चढ.गढनिया माई मन्दिर । यो मन्दिर गोरुसिङ्गेबाट करिब आठ किलोमिटरको दुरीमा उत्तरतर्फ देवी स्थान सामुदायिक वनको मध्य भागमा अवस्थित रहेको छ ।

मन्दिर व्यवस्थापन समितिका सचिव रामबहादुर थापाका अनुसार यो मन्दिर पहिला खरको झुप्रोको रहेको थियो। यस मन्दिरमा विशेष गरी १२ मौजाका बासिन्दाहरूले पूजा अर्चना गर्ने भएकोले भक्तजनहरूको आर्थिक सहयोगबाट नै यस स्थललाई तीर्थस्थलको रूपमा चढ.गढनिया माई मन्दिर लगायत विभिन्न देव देवताहरूको निर्माण गरिएको थियो।

यस मन्दिरमा ३ वर्षमा एक पटक कात्तिक पञ्चमीका दिन विशेष पूजा हुने गर्दछ उक्त समय १२ मौजाका भक्तजनहरूले विभिन्न किसिमका जनावरहरूको बलिदिने परम्परा रही आएको छ।

साथै, उक्त दिन रात भरी जागाराम बसी देवीको पूजा अर्चना गरिने गर्दछ। परापूर्व कालमा यहाँ थारु समुदायहरूको बस्ती भएको र सबै भू भाग जङ्गलले घेरिएको थियो। हाल आएर यस मन्दिर थारु समुदाय लगायत अन्य समुदायहरूले पनि भक्तिका साथ पूजा अर्चना गर्ने गर्दछन्।

मन्दिरका ८२ वर्षीय पुजारी थागे चौधरीका अनुसार यो मन्दिर धेरै नै पुरानो भएको दाबी गर्दछन्। म जन्मिनु भन्दा अगावै यो मन्दिर  झुप्रोको रूपमा रहेको पुजारी चौधरी बताउनु हुन्छ। साथै यस देवीको पूजा अर्चना गर्नाले मनले चिताएको पुरा हुने दुःख, कष्ट नहुने जनविश्वास समेत रहेको छ। यस मन्दिरमा दैनिक जस्तो स्थानीय भक्तजनहरू पूजा अर्चना गर्न आउने गर्दछन्।

यस मन्दिर परिसरमा गणेश, हनुमान, शङ्कर भगवान्, राम जानकी, समय माई लगायत विभिन्न देव देवताहरूको मन्दिर समेत रहेको छ।