गजेन्द्र गुरुङ
खजुरा, असोज ११ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले उद्योग सञ्चालनका लागि अब विद्युतको समस्या नहुने बताउनुभएको छ ।
नेपालगञ्जमा बुधबार नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले उद्योगी व्यापारीसँग आयोजना गरेको भेटघाट कार्यक्रममा मन्त्री बस्नेतले बाँकेमा देखिँदैआएको लामो समयदेखिको विद्युत् समस्या समाधान गर्न कोहलपुर–नेपालगञ्ज १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माण गरेर सञ्चालन गरिने बताउनुभयो ।
आयोजना निर्माणपछि ‘लो भोल्टेज’ र जथाभाबी विद्युत जाने समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो । यसले उद्योग पनि पूर्णरुपमा सञ्चालनमा आउने विश्वास मन्त्री बस्नेतको छ । उद्योग सञ्चालनमा देखापरेको विद्युत समस्या हल हुनेगरी यो आयोजना सुरु हुन लागेको मन्त्री बस्नेतले बताउनुभयो ।
कार्यक्रममा नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्कबहादुर धामीले नेपालगञ्जको विद्युत समस्या समाधान हुनेगरी निर्माण हुन थालेको आयोजना समयमै पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यसक्रममा अध्यक्ष धामीले नेपालगञ्जका उद्योगी व्यवसायीका समस्या सम्बोधन गरिदिन सङ्घका तर्फबाट मन्त्री बस्नेतलाई ज्ञापनपत्र बुझाउनुभयो ।